पूर्वाधार विकासमा चौकुनेको जोड «

पूर्वाधार विकासमा चौकुनेको जोड

प्रदेशः कर्णाली
जिल्लाः सुर्खेत
स्थानीय तहः चौकुने गाउँपालिका
अध्यक्षः धीरबहादुर शाही
उपाध्यक्षः निर्मला राना मगर
वडा संख्याः १०
क्षेत्रफलः ३८१.०३ वर्ग कि मि
जनसंख्याः २५२४०
बजेटः ४३ करोड ८० लाख

सुर्खेत जिल्लाका साविकका पाँच गाउँ विकास समिति गुट, घाटगाउँ, बिजौरा, वेतान र लगाम मिलेर चौकुने गाउँपालिका बनेको छ । जिल्लाको सबैभन्दा पश्चिम क्षेत्रका ति गाविसहरू भौगोलिक विकटतासँगै विकासमा पनि पछाडि पारिएका थिए । तिनै पिछडिएका क्षेत्रलाई विकास गर्न चौकुने गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ ।
गाउँपालिकाले सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना योजना तथा बजेट बनाएको हो । हाल पालिकाले दशवटै वडा कार्यालयसम्म मोटरबाटो पु¥याएको छ । कतिपय ठाउँमा टोलवस्तीमै सडक पुगेको छ भने यसअघि बनाइएका सडक स्तरोन्नतिको काम अघि बढाएको छ । पालिकाकै विकट मानिएका रेक्चा, पुच्छ्मा लगायतका गाउँमा चालू आर्थिक वर्षमै सडक पु¥याउनेगरी काम भइरहेको छ । पालिकाभित्र सडकको पुहँच मार्ग (ट्रयाक) खोल्नुपर्ने ठाउँ कमै मात्र छन् । अब खनिएका सडकको स्तरोन्नतिका लागि योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही बताउँछन् । “विगतमा हाम्रो गाउँपालिका सडकले जोडिएको मात्र थियो,” अध्यक्ष शाहीले भने, “अहिले हामीले सबै वडा कार्यालयसम्म सडक पु¥याएका छौं, अधिकांश ठाउँमा ट्रयाक खोलिसकेका छौं, अब हाम्रो योजना खोलिएका सडकको स्तरोन्नतितिर छ ।” सडकपछि गाउँपालिकाले खानेपानी योजनालाई प्राथमिकता दिएको अध्यक्ष शाही बताउँछन् । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाका सबै घरधुरीमा एक घर एक धारो पु¥याउनेगरी काम भइरहेको छ । चालू आर्थिक वर्षभित्र ६० प्रतिशत घरधुरीमा खानेपानी धारा पुग्ने अध्यक्ष शाहीको दाबि छ । यस्तै आफ्नो पाँच वर्ष कार्यकालमा गाउँपालिकाका ८० प्रतिशत घरधुरीमा खानेपानी धारा पु¥याइने उनले बताए । “मेरो कार्यकालमा करिब ८० प्रतिशत घरधुरीमा खानेपानी धारा पु¥याउने लक्ष्य छ,” अध्यक्ष शाहीले भने, “त्यसका लागि खानेपानी योजना निर्माण भइरहेका छन् चालू आर्थिक वर्षभित्र ६० प्रतिशत घरधुरीमा धारा पुग्छ भने सबै आयोजना सम्पन्न हुँदा ८० प्रतिशत घरधुरीमा धारा पुग्नेछ ।”
गाउँपालिकाले प्रदेश र संघीय सरकारसंगको साझेदारीमा मझौला खालका योजनाहरू अघि बढाएको छ । जसअन्तर्गत गुटुमा रंगशाला र बिजौराको मायातालमा औधोगिकग्राम बनाउन थालिएको छ । गाउँपालिकाले शिक्षालाई पनि उत्तिकै महत्व दिएको छ । भौतिक पूर्वाधार तर्फ विद्यालय भवन, पर्खाल, खेलमैदान निर्माणलाई जोड दिएको छ भने पठन पाठनमा सहयोग पु-याउन दरबन्दी कम भएका विद्यालयमा स्वंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाको स्रोतबाट १८ जना स्वंसेवक शिक्षक नियुक्तगरी परिचालन गरेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि बिजौरामा वन विज्ञान क्याम्पस र गुटुमा कृषि क्याम्पस स्थापना गर्न गाउँपालिकाले पहल गरिरहेको छ । अहिले जग्गा प्राप्तिको लागि काम भइरहेको अध्यक्ष शाही बताउँछन् ।
चौकुनेमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडिएको छैन् । जनतामा विद्युत्् सेवा पु¥याउनका लागि सौर्य उर्जा र लघु तथा साना जलविद्युत् आयोजना निर्माणमा जोड दिएको छ । गाउँपालिकाको केन्द्र गुटुमा सोलारबाट एक सय किलोवाट क्षमताको विद्युत् निकालेको छ । यस्तै पालिकाका अन्य वडामा दुई वटा लघु जलविद्युत् आयोजना बनेका छन भने अरु तीन वटा निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय भइरहेको अध्यक्ष शाही बताउँछन् । सोलार मिनीग्रिड सञ्चालन भएपछि गाउँपालिकामा साना उद्योगहरू सञ्चालनमा आएका छन् । सञ्चय कोषले निर्माण गर्न लागेको वेतन कर्णाली जलविद्युत् आयोजना पनि यसै पालिकाभित्र पर्दछ । भेरी र कर्णाली नदीले घेरिएको हुँदा चौकुने भविष्यमा जलविद्युत्को हव बन्न सक्ने अध्यक्ष शाहीको भनाइ छ ।
खेतीयोग्य जमिन कम भएकाले यहाँका गाउँपालिकाले नागरिकलाई उद्यमशिलता, पशुपालन र फलफूल खेतिमा जोडमा जोडदिएको छ । अन्न बाली कम उत्पादन हुनेभएकाले यहाँका नागरिक धेरै जसो रोजगारीका लागि भारत लगायतका देशमा जाने गर्दछ । यसैकुरालाई मध्यनजर गरी गाउँपालिकाले युवालाई विभिन्न व्यवसायिक सीपमूलक तालिम दिएकोछ । हालसम्म करिब पाँच सय युवालाई डकर्मी, सिकर्मी, हाउस वायरिङ, बेमौसी तरकारी खेती उत्पादन, कुखुरा पालन, पलम्बर, सिलाइ कटाइ तालिम दिइसकेको छ । चालू आर्थिक वर्षमा दुना टपरी बनाउने तालिमका साथै उद्योग सञ्चालनका सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहीले बताए । चालू आवमै माटोका भाँडा बनाउने तालिम र दुग्द्यका प्रकारहरू बनाउनेसम्बन्धी तालिम पनि गाउँपालिकाले सञ्चालन गर्दैछ । उद्यमशीलता विकासका लागि गाउँपालिकाले ‘अध्यक्ष–उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । अध्यक्ष शाहीका अनुसार उद्यमीहरूलाई सहकारी मार्फत ब्याजमा अनुदान र बजारीकरण गर्ने योजना रहेको छ । बजारीकरणका लागि पनि ढुवानीमा अनुदान दिइनेछ । पालिकाले स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनेमा पनि ध्यान दिइरहेको छ । हाल सबै वडामा स्वास्थ्य चौकी छन् भने सामुदायिक स्वास्थ्य इकाइहरू मार्फत दुर्गमका वासिन्दालाई सेवा पु¥याइरहेको छ ।
प्रभावकारी बन्दै न्यायिक समिति
जिल्ला सदरमुकामदेखि टाढा भएकाले चौकुने गाउँपालिकाबासीलाई न्यायका लागि अदालतसम्म आउन निकै खर्चिलो छ । अदालतमा भन्दा गाडी भाडा, आउन जाने धेरै समय खर्च हुने र सदरमुकाम वस्दाको धेरै खर्च हुनेहुँदा चौकुनेवासी ठूलै समयस्या बाहेक अदालतसम्म पुग्न सकिरहेका छैनन् । विगतमा साना तिना समस्या र मनमुटाव मनमै पालेर बस्नुपर्ने बाध्यता रहेकोमा न्यायिक समिति बनेपछि यहाँका नागरिक लावान्वित भएका छन् । हाल न्यायिक समितिमा वर्षमा करिब ५०–६० वटा विवाद आउने गरेका छन् । न्यायिक समितिमा आएका विवादहरू धेरैजसो मेलमिलापको माध्यमबाट र केहीलाई न्यायिक निरुपण गरिएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष निर्मला राना मगर बताउँछिन् । गाउँपालिकाको सुविधासम्पन्न भवन नहुँदा एउटै कोठाबाट सबै सेवा दिइरहेको छ । कतिपय गाउँ तथा नगरपालिकाहरूमा भवन अभाव भन्दै इजलास कक्ष सञ्चालन गरिएका छैनन् तर चौकुनेमा भने महिला घर भाडामा लिएर भएपनि इजलास कक्ष सञ्चाल गरिएको छ ।
जसले ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने भनाइलाई पुष्टि गरेकोछ । न्यायिक समितिलाई मेलमिलाप र न्यायिक निरुपण गर्ने अधिकार छ । न्यायिक समिति संयोजक रानाका अनुसार हाल न्यायिक समितिमा घरेलु हिंसा, साँध सिमाना मिचिएको, सम्बन्ध विच्छेद लगायतका बढी विवाद आउने गरेका छन् । सुरुमा न्याय सम्पादनको काम कसरी गर्ने होला भन्ने लागेकोमा काम गर्दै जाँदा सहज भएको उपाध्यक्ष एवं संयोजक राना बताउँछिन् ।“शुरुमा त कहिल्यै नगरेको काम कसरी गर्ने होला भन्ने लागेको थियो,” उनले भनिन्, “काम गर्दै जाँदा अहिले सजिलै छ ढुक्कले काम गर्नसकिएको छ ।” न्यायिक समितिबाट सिफारिस गर्नुपर्ने विवादका पीडितहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले असाहयहरूका लागि सानो तिनो रकम सहयोग गर्नेगरी कोष निर्माण गरिएको छ । न्यायबाट कोही पनि बञ्चित हुनुनपरोस् भन्ने हेतुले विपन्नहरूका लागि कोष बनाइएको संयोजक रानाको भनाइ छ । जनप्रतिनिधि भएकाले न्यायिक समिति समक्ष कुरा राख्न पीडितलाई सजिलो महशुस हुने र निशुल्क सेवा भएकाले न्यायिक समितिप्रति नागरिकको आकर्षण बढेको देखिन्छ । प्रस्तुतिः गोविन्द खत्री

प्रतिक्रिया दिनुहोस्