कोरियाबाट फर्किएका नेपालीको सीपको सदुपयोग गर्नुपर्छ : राजदूत पार्क चोङ
नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क चोङ सुकले कोरियामा फर्किका नेपालीको कामदारको सीपको स्वदेशमै सदुपयोग गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बिहीबार भएको छलफलमा राजदूत सुकले कोरियामा नेपालीले सिकेका सीपलाई स्वेदशमा उत्पादनसँग जोड्न आग्रहसमेत गरे ।
राजदूत सुकले आफ्नो कार्यकालमा नेपाल तथा कोरियाबीच द्वीपक्षीय आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्न कोरिया व्यापार तथा लगानी प्रवद्र्धन एजेन्सी (कोट्रा ) सँग चेम्बरको सहकार्यको पहल गर्ने बताए । उनले दुई मुलुकबीच सूचना आदानप्रदान गर्ने सम्बन्धी सहकार्यका लागि आफूले प्रयास गरेको बताए ।
नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले आफ्नो सात दशकको समयमा व्यापार तथा लगानी विकाशका लागि पैरवी गरीरहेको बताए । सन् २०१५ देखि चेम्बर एक्सपो नियमित रुपमा गरिरहेको दक्षिण कोरियासँग कुटनीतिक सम्बन्ध स्थापनापछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकास भएको बताए । तर विभिन्न कारणले नेपालबाट दक्षिण कोरियासँग व्यापार घाटा प्रत्येक वर्ष बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
दुवै देशबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर र कोरिया चेम्बरबीच समझदारी पत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधि नेपालमा भित्र्याउने, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान र सीप विकासलगायतका विषयमा पनि थप छलफल गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।