विद्यालय निर्माणका लागि भारतीय दूतावासको सहयोग «

विद्यालय निर्माणका लागि भारतीय दूतावासको सहयोग

हुम्लाको चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारतले ४ करोड ४ लाख १३ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । वि. सं. २०३२ सालमा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदसँग आबद्घ रहेको छ ।
साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । सो परियोजनाअन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यीमध्ये १४ वटा परियोजनाहरु कर्णाली प्रदेशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्