रुकुम पश्चिमको सोलाबाङमा ल्यान्डलाइन फोन बिस्तार

रुकुम- रुकुम पश्चिमको सोलाबाङ बजारमा नेपाल टेलिकमले ल्यान्डलाइन फोन र एडिएसएल इन्टरनेट लाइन बिस्तार गरेको छ । यही कात्तिक २० गतेदेखि फोन र इन्टरनेट सेवा सुचारु गरेर ग्राहकहरूलाई विस्तार गरेको नेपाल टेलिकम रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार सोलाबाङ बजारमा नयाँ एक्सचेन्समार्फत ल्यान्डलाइन बिस्तार गरिएको छ ।
१ सय २८ वटा टेलिफोन लाइन बिस्तारको क्षमता रहेको त्यस एक्सचेन्जमार्फत हालसम्म २८ वटा टेलिफोन र इन्टरनेट लाइन बिस्तार गरेर प्रयोगमा आइसकेको छ । “सेवा सुचारु भएको केही दिनमै तिहार बिदाका कारण थप ग्राहकहरूलाई बिस्तार गर्न सकिएन,” प्रमुख शर्माले भने, “अफिस खुलेसँगै माग धेरै आएको छ, क्षमता अनुसारको लाइन माग भएअनुसार सबै ग्राहकलाई विस्तार हुन्छ ।” रुकुम पश्चिमको सोलाबाङ पनि जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको भए पनि टेलिफोन लाइन बिस्तार गर्न व्यवसायीहरूले बेलाबेला माग गर्दै आएका थिए । टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी नहुँदा व्यापारीहरू सगै त्यहाँस्थित सरकारी तथा गैरकारी कार्यालय, वित्तीय र शैक्षिक संस्थाहरू समस्या थिए । आफ्नो माग पूरा भए पनि व्यापारीहरू सगै त्यहाँका स्थानीयहरू खुसी भएका छन् ।
स्थानीय बिनाराम खड्काले आफ्नो ठाउँमा टेलिकमले सेवा बिस्तार गरेकोमा खुसि व्यक्त गरे । “ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बिस्तार भए पनि हामी निकै खुसी भएका छौं,” उनले भने, “यसअघि मोवाईल सेवा पनि खासै गुणस्तरीय समस्या त थियो नै इन्टरनेटको झनै समस्या थियो, स्काइप्रोबाट काम चलाउनु परेको थियो ।” नेपाल टेलिकम रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटसँगै रुकुम पूर्वको जिल्ला पनि हेर्दै आएको छ । कार्यालय टेलिफोन सेवा नपुगेका र माग भएका अन्य बजारहरूमा पनि क्रमस बिस्तारको योजना बनाएको छ ।