शान्ति सुरक्षाको माग राख्दै आन्दोलित व्यापारीद्वारा गोडैता नपामा तालाबन्दी, सहमतिपछि खोलियो «

शान्ति सुरक्षाको माग राख्दै आन्दोलित व्यापारीद्वारा गोडैता नपामा तालाबन्दी, सहमतिपछि खोलियो

राधेश्याम कुशवाहा
सर्लाहीको गोडैता बजारका व्यापारीहरू शान्ति सुरक्षाको माग राख्दै आन्दोलित बनेका छन् । आन्दोलित व्यापारीहरू सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै स्थानीय सरकारको ध्यानाकर्षण गराउनमा नगरपालिकामा गरिएको तालाबन्दी सहमतिपछि खोलिएको छ । स्थानीय निकाय माग पूरा गर्न सकरात्मक भएको र मेयर समस्या समाधानका लागि वार्तामा आएको कारण मौखिक रूपमा भएको सहमतिपछि तालाबन्दी खोलिएको स्थानीय व्यापारी नागेन्द्र साहले बताए ।
स्थानीय निकाय निर्माण भए पनि हाम्रो धनमालको सुरक्षा र शान्तिकोे प्रत्याभूति दिलाउन स्थानीय सरकार असफल भएको व्यापारी गोपी दासले बताए । महिनोपिच्छे बजारमा चोरी, पसल र सटरको ताल्चा तोडी लुटपाट हुने गरेको तर शान्ति सुरक्षा र समस्या समाधानका लागि स्थानीय निकाय तथा प्रशासनसँग पटक–पटक हारगुहार गरे पनि सम्बन्धित निकाय मौन छ । गएको राति प्रहरी चौकी नजिककै रहेको पसलमा ताल्चा तोडी १ लाख भन्दाको माथिको चोरी भएको तर समस्या समाधान र क्षतिपूर्तिका लागि स्थानीय सरकारले कुनै चासो नदेखाएपछि हामीहरूलाई बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको बताए ।
हामीले स्थानीय निकायसँग शान्ति सुरक्षा, बजारको वैज्ञानिक व्यवस्थापन बजारमा राति बत्ती, रातमा बजारको सुरक्षाका निमित्त चौकिदारको नियुक्ति, सीसीटिभीबाट बजारको निगरानी, उद्योग वाणिज्य संघको निर्माणाधीन भवनको मर्मत सम्भारलगायतका माग राख्दै स्थानीय निकायसँग लिखित र मौखिक दुवैमा रुपमा पटक–पटक गुहार गरे पनि समस्या समाधानका लागि स्थानीय निकाय कुनै चासो नदेखाएको उद्योग वाणिज्य संघ शाखा गोडैताको अध्यक्ष जितेन्द्र पासवानले बताए । बजारमा एक वर्ष अगाडि नै सीसीटिभी जडान भए पनि स्थानीय सरकारले ध्यान नदिँदा सीसीटिभी र सडक बत्ती जीर्ण र अलपत्र परेका छन् । बजार अनुगमनका लागि सीसीटिभीको साथै चौकिदार नहुदाँ बजारका व्यापारीहरू आफूलाई असुरक्षित महसुस गर्दै आएको र कतिको रातको निन्द्रासमेत हराएको छ ।
हामी विभिन्न बुँदे माग राख्दै स्थानीय निकायमा पनि पुगेका थियौं । मेयरले भने हामी छलफल गरेर जानकारी दिन्छौं तर आज १६ दिन बित्न लाग्दा पनि कुनै जवाफ नआएको र फोन गर्दासमेत मेयरले रिसिभै नगरेको गुनासो पोखे । स्थानीय निकायले हाम्रो समस्या समाधानका लागि कुनै चासो नदेखाएपछि स्थानीय निकायको ध्यानाकर्षणका लागि हामीसँग तालाबन्दी र आन्दोलनको अर्काे विकल्प नभएको बताए ।
गोडैता बजार आसपास क्षेत्रमा रहेको बाटो समयमा मर्मत सम्भार नहँुदा आम नागरिकहरूलाई आवत–जावतमा समस्या हुने गरेको स्थानीय मुकेश ठाकुरले बताए । नगरपालिकाकै एक मात्र ठूलो बजार गोडैता भएका कारण मानिसहरूको दिनहुँ भारी संख्यामा आगमन हुन्छ । बजारका दिन त दैनिक उपभोगका सामग्री किन्ने आम नागरिकहरूको घुइँचो हुने गरेका कारण बजारमा सोही अनुपातमा फोहोरमैला पनि उत्पादन हुने र बजारको शौचालयमाथि पनि भार उच्च छन् ।
समयमा बजार र शौचालयको सरसफाई नहुँदा तरकारी बजार दिन प्रतिदिन कुरुप र दुर्गन्धित हुँदै गएको छ । स्थानिय निकाय निर्माण भएको चौथो आर्थिक वर्षमा बित्न लाग्दा पनि बजारको संरक्षण र सम्र्बद्वन र व्यवस्थापनका लागि उदासिन रहेको आरोपसमेत लगाए । हामी बजारमा व्यापारीहरूसँग चन्दा उठाएर दुईवटा चौकिदार राखेका थियौं तर कोरोना भाइरसका कारण व्यवसाय नै ठप्प हुन थालेपछि चौकिदारको पैसा दिन नसक्दा बाध्य भएर चौकिदार हटाउनुपरेको बताए ।
सुरु देखि गोडैता बजारको व्यापारीमाथि विभेद, शोषण र ज्याति हुँदै आएको स्थानीयवासी रमन झाले बताए । शान्ति सुरक्षा र बजारको व्यवस्थापनका लागि स्थानीय व्यापारीहरू पटक–पटक आन्दोलित भए पनि सोचेअनुसारको उपलब्धि हासिल र समस्या समाधान नभएको बताए ।

बजारमा २४ घण्टाकै भित्रमा सीसीटिभी जडान गरी कन्ट्रोल प्रहरीको हातमा दिने बताउँदै प्रहरीसँग यसको लागि बजेट अभाव भयो भने हाम्रो तलबबाट पनि कटा गरेर भएपनि सीसीटिभी जडान गरिने र त्यसका लागि प्रमुख प्रशासकिय अधिकृतलाई समेत निर्देशन दिइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्