स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा «

स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा

सन्तोष महतारा
गुल्मीमा स्थानीयको पहलमा निःशुल्क प्राविधिक शिक्षा पढाउन सुरु गरिएको छ । सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक तथा प्राविधिक शिक्षाको महत्व बढ्दै गए पनि सर्वसाधारण जनताले प्राविधिक शिक्षा हासिल गर्न सहज नभएको भन्दै स्थानीयले ग्रामीण क्षेत्रमा नै प्राविधिक शिक्षाको सुरुवात गरेका हुन् ।
निजी संघसंस्थाले चर्को मूल्य लिएर प्राविधिक शिक्षा पढाए पनि गरिब जनता भने त्यसको पहुँचमा नभएको भन्दै जिल्लाको मालिका गाउँपालिकाका स्थानीयको सक्रियतामा धार्मिक महोत्सव आयोजना गरी ७३ लाख रकम संकलन गरेर प्राविधिक शिक्षाको सुरुवात गरिएको मालिका माध्यमिक विद्यालयले जनाएको छ ।
मालिका गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा प्राविधिक क्षेत्रको बाली विज्ञान विषयको पढाइ निःशुल्क सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले बताए । “गाउँपालिकाभित्र हाम्रो विद्यालयमा मात्र प्राविधिक शिक्षा सुरु गरेका छौं,” विद्यालयका प्राधानाध्यापक पौडेलले भने, “प्राविधिक शिक्षाका लागि शिक्षकको पनि व्यवस्था भइसकेको छ ।”
स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र त्यहाँका स्थानीयकै पहलमा महायज्ञमार्फत अर्थ संकलन गरी निःशुल्क प्राविधिक शिक्षाको सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला अर्यालको भनाइ छ । अहिले विद्यालयमा कक्षा ९ बाट सुरु भएको बाली विज्ञान विषय ४६ जनाले अध्ययन गरिहेका छन् । विद्यालयको सक्रियता पछि सरकारले पनि हौसला प्रदान गर्दै आइरहेको विद्यालयले जनाएको छ । यसअघि मालिका क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा पढ्नका लागि चर्को मूल्य तिरेर पढ्नु पर्ने बाध्यता थियो । जिल्ला सदरमुकाम तम्घास नपुगी र बुटवल सहर नझरी प्राविधिक शिक्षा सम्भव थिएन । अहिले आफ्नै गाउँमा बसेर निःशुल्क प्राविधिकि शिक्षा अध्ययन गर्न पाउँदा आफूहरू पनि हर्षित भएको विद्यार्थी सुरक्षा पौडेलले बताइन् । अहिले प्राविधिक शिक्षाको कक्षा ९ बाट सुरु गरिए पनि अभिभावक र स्थानीय मिलेर प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजाने विद्यालयको योजनासमेत रहेको छ ।
सैद्धान्तिक शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको भन्दै चारैतरिबाट प्रश्नसमेत उठ्ने गर्दछ । प्राविधिक शिक्षा हासिल गरेपछि बेरोजगार बस्नु पर्ने बाध्यताको अन्त्य हुने र पढेको कुरा ब्यवहारमा लागू हुने प्राविधिक शिक्षक नुमराज पौडेलले बताए । सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक तथा प्राविधिक शिक्षाको महत्व बढ्दै गएको समयमा स्थानीयकै सक्रियतामा प्राविधिक शिक्षाको सुरुवात हुनुले चारैतिर सकारात्मक सन्देश दिएको छ । अब तल्लो तहबाट नै प्राविधिक शिक्षाको निःशुल्क पढाइ सुरु हुनुपर्ने स्थानीयको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्