मौरीपालनबाट फेरियो जीवनस्तर «

मौरीपालनबाट फेरियो जीवनस्तर

हेटौंडा-मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–६ र ७ नम्बर वडाका सिमान्तकृत चेपाङ समुदाय केही वर्षअघिसम्म गरिवी, अभाव र बेरोजगारीको समस्याबाट पिल्सिरहेका थिए । तर, करिब एक दशकयता चेपाङ समुदायको जीवस्तर फेरिएको छ । व्यावसायीक मौरीपालनबाट गाउँमा लाखौं रुपैयाँ भित्रन थालेपछि उनीहरु दंग छन् । गाउँका प्राय सबैको पेशा नै मौरीपालन बनेको छ ।
दुई वडामा गरी पाँच हजार पाँच सय घार मौरी अहिले चेपाङ समुदायको मात्र रहेको छ । उनीहरु चिउरी फूल्ने समयमा गाउँमै मौरी चराउँछन् भने तोरी फूल्ने समयमा मकवानपुर र चितवनको खेतका फाँटहरुमा घार बोकेर पुग्ने गर्छन् । बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउनेहरुसँग मौरीपालन सिकेपछि मकवानपुरका विकट गाउँका चेपाङ तथा तामाङ समुदायले आफैंले मौरी पालेर लाखौं आम्दानी लिन थालेका हुन् । राक्सिराङ गाउँपालिका–६ काँकडास्थित सिलिङ्गेमा चिउरी फूल्ने सिजनमा मकवानपुर र चितवनका मौरीपालकहरु मौरी चराउन पुग्थे । चिउरीको फूलमा चराएको मौरीको मह निकै लाभदायक र उत्पादन पनि बढ्ने भएकाले किसानहरु त्यस चिउरी वनमा मौरी चराउन जान्थे । गाउँमा ल्याइएका मौरी चराएर ज्याला लिँदै आएका बिपन्न चेपाङ र तामाङहरु आफैंले ७ वर्ष अघि मौरीपालन सिकेपछि भने लाखौं रुपैयाँ गाउँमा भित्र्याउन थाले ।
राक्सिराङ गाउँपालिकाको सिलिङ्गे, सिलाधुनी, धुसाराङ, पाङ्थली, टोड्केका, खरखण्डेलगायत गाउँहरुमा मौरीपालन निकै फस्टाएको छ । यहाँका अहिले एक सय ५ घर परिवारले मौरीपालन गरिरहेका छन् । एक परिवारले मह बेचेर वर्षमा एकदेखि चार लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएका छन् ।
राक्सिराङ–६, काकडाका दिपन्न चेपाङले वार्षिक १२ लाख रुपैयाँ मह बेचेर कमाउँछन् । “गाउँको बारी रुखो भएका कारण अन्न उब्जाउ असाध्यै कम हुन्थ्यो । मौरी पालन सुरु गरेपछि दैनिकी निकै राम्रो फाइदा भएको छ ।”, दिपन्नको मात्र तीन सय घार मौरी छन् । उनले गाउँको चारकठ्ठा जमिनमा घारहरु राख्ने गरेका छन् । अहिले उनको दुईजना भाइसमेत यसै पेशामा छन् ।
राक्सिराङ–७ का जुबीलाल चेपाङ हाल दैनिक चारघण्टा मौरीको स्याहार सुसारमा बिताउँछन् । उनको वार्षिक आम्दानी पाँच लाख रुपैयाँभन्दा बढी रहेको छ । “पहिला त खान लाउन पनि धौधौ हुन्थ्यो । गाउँमा मौरी पाल्न थालेपछि अहिले अवस्था राम्रो छ । अनुदानमा प्राप्त भएको घारबाट मैले मौरी पालन सुरु गरेको हुँ” उनले भने । जुबीलालको १० जनाको परिवार मौरीपालनबाटै चलिरहेको छ ।
राक्सिराङ गाउँपालिकामा उत्पादित महको माग वर्षेनी नेपाली बजारमा बढिरहेको छ । विशेष गरी त्यसक्षेत्रमा पाइने चिउरी र तोरी बारीमा चराएर तयार पारिएको महको माग बढेको भएपनि सोही अनुसार उत्पादन गर्न भने नसकेको किसानहरुले बताएका छन् । राक्सिराङका किसानहरुले उत्पादन गरेको मह जनचेतना साना किसान कृषि सहकारी संस्था लिमिटेड राक्सिराङ–६, सिलिङ्गेले संकलन गरेर देशभर बिक्रीवितरण गरिरहेको छ । “महको माग वर्सेनी बढिरहेको छ । तर, उत्पादन बढाउन सकिएको छैन,” सहकारीका अध्यक्ष दिनेश चेपाङले भने । “अहिले हामीसँग ८० टन महको माग रहेको छ । जबकी एक वर्षमा मुस्किलले ६० टन उत्पादन गर्छौ,” उनले भने ।
अहिले मह उत्पादनको सिजन हो । गाउँमा धमाधम मह संकलन भइरहेको छ । ‘गतवर्ष मौसम प्रतिकुल हुँदा मह उत्पादनमा धेरै कमी भएपनि यस वर्ष मौसम राम्रो भएकाले महको उत्पादन बढ्ने दिनेशको अनुमान छ । उनका अनुसार गत आर्थिक वर्ष २०७६-०७७ मा करिब ३० टन मह मात्र उत्पादन भएको थियो ।
महको माग सवैभन्दा बढी काठमाडौंमा रहेको छ । क्रमशः पोखरा, झापा, बारा, पर्सा तथा मकवानपुर त्यस क्षेत्रमा उत्पादित महको बजार हो । विश्वभर फैलिएको कोरोना महामारीमा झन महको माग बढेको सहकारीका अध्यक्ष चेपाङले बताए ।
मौरीपालन क्षेत्रमा चेपाङ समुदायको मात्र करिब ६ करोड रुपैयाँ लगानी रहेको छ ।
मौरी पालनका लागि सामुदायिक विकास केन्द्र नेपाल (सीसीडीएन) ले मह प्रशोधन, प्याकिङ र लेवलिङ गर्ने अटोमेटिक मेसिन सहकारीलाई सहयोग गरेको छ । नेपाल सरकारको व्यावसायीक कीट विकास निर्देशनालय हरिहरभवन, ललितपुरले २५० घार मौरी अनुदानबापत् उपलब्ध गराएसँगै विकट गाउँमा व्यवसायिक रुपमा मौरीपालनको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्