Logo

प्रमुख र उपप्रमुख फरक गुटमा जाँदा कामकाज प्रभावित

नेकपा फुटको असर स्थानीय तहसम्म
धनगढी-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर सुदूरपश्चिम प्रदेशका स्थानीय तहसम्म देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धार (ओली पक्ष र प्रचण्ड–माधव समूह) मा विभाजित भएको असर स्थानीय तहमा पनि देखिएको हो ।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमध्ये नेकपाले ४२ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखसहित, ७ स्थानीय तहमा प्रमुख मात्रै र ८ स्थानीय तहमा उपप्रमुख मात्रै जितेको थियो । नेकपाले प्रमुख र उपप्रमुखसहित जितेका ४२ वटा स्थानीय सरकारमा नेकपा फुटको असर परेको छ भने नेकपाको पार्टी कमिटीमा प्रदेशका सबै स्थानीय तहमा परेको छ ।
प्रमुख एकतिर र उपप्रमुख अर्कोतर्फ लाग्दा स्थानीय सरकारको कामकाज प्रभावित भएको छ । स्थानीय विकास तथा सेवा प्रवाहका लागि नागरिकको सबैभन्दा नजिकको सरकार रूपमा रहेको स्थानीय तहमा पार्टी विभाजनको असर पर्न थालेपछि सेवाग्राही मर्कामा पर्नुका साथै विकास निर्माणको काम पनि प्रभावित भएको छ ।
नेकपाबाटै जिते पनि प्रमुख र उपप्रमुख फरक गुटमा रहेको कारण स्थानीय तहको निर्वाचन भएदेखि नै केही स्थानीय तहमा समस्या थियो भने नेकपा विभाजनले प्रमुख एकातिर र उपप्रमुख अर्कोतिर गएको स्थानीय तहमा यो समस्याले झन बढेको छ । प्रमुख र उपप्रमुख मिलेर काम गरिरहेको स्थानीय तहमा प्रमुख र उपप्रमुख एउटै गुट रोजेका छन् भने नमिलेको स्थानीय तहमा प्रमुख र उपप्रमुख फरक धारमा समावेश भएका छन् ।
प्रमुख उपप्रमुख मिलेर बसेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्याक्ष लक्ष्मी सत्गौवाथारु प्रचण्ड–माधव समूहमा लागेका छन् । सोही समूहमा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर र दीपादेवी साउँद पनि लागेका छन् । मिलेरै काम गरिरहेका गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवा र उपप्रमुख अञ्चला चौधरी ओली पक्षमा लागेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुखबीच पहिलेदेखि नै टसल थियो । केही महिना अघि उनीहरूको विवाद सतहमा देखिएको थियो । यद्दपि, पार्टी दुई धारमा जानुभन्दा पहिले दुवै जना प्रधानमन्त्री केपी शर्माओलीकै गुटमा थिए । पछिल्लो पटक प्रमुख ममताप्रसाद चौधरी ओलीपक्षमा केन्द्रिय सदस्य भएका छन् भने प्रमुखकै कारण उपप्रमुख प्रेमकुमारी थापाले ओलीपक्ष छोडेर प्रचण्ड–माधव समूहमा लागेकी छन् ।
गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद ओलीपक्षमा गएका छन् भने उपप्रमुख रत्ना कडायत प्रचण्ड–माधव समूहमा रहेको नेकपा (प्रचण्ड–माधव समूह) का कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताए । उनका अनुसार लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँ प्रचण्ड–माधव समूहमा छन् भने उपप्रमुख टीका थापाले ओलीपक्ष रोजेकी छन् । भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी प्रचण्ड–माधव समूहमा छन् भने उपप्रमुख ओलीपक्षमा लगेकी छन् । मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल ओलीपक्ष रोजेको छन् भने उपाध्यक्ष पुजा बुढा प्रचण्ड–माधव समूहमा छिन् । यी स्थानीय तहहरूमामा प्रमुख र उपप्रमुखबीच पहिलेदेखि नै विवाद थियो ।
यसैगरी, नेकपाले प्रमुख मात्रै जितेको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल ओली पक्षमा गएका छन् भने नेकपाले उपाध्यक्ष मात्रै जितेको बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौराथारु प्रचण्ड–माधव समूहमा छिन् ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा र उपप्रमुख सुन्दरी चौधरी सहितका सबै सदस्यहरू प्रचण्ड–माधव समूहमा लागेका छन् । कैलाली जिल्लाका स्थानीय तहका पाँच जना प्रमुख र तीन जना उपप्रमुख ओलीपक्षमा छन् भने चार जना प्रमुख र ६ जना उपप्रमुख प्रचण्ड–माधव समूहमा छन् । जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरू समेत जोड्दा प्रचण्ड–माधव समूहमा कैलालीका धेरै जसो जनप्रतिनिधि प्रचण्ड–माधव समूहमा देखिन्छन् ।
यसैगरी, डडेल्धुराको तीन स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख नेकपाले जितेको दुई जना प्रमुख (नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट र अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट) प्रचण्ड–माधव समूहमा देखिएका छन् भने अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझा तठष्ट बसेका छन् । अमरगढीकी उपप्रमुख संगीता भण्डारी पनि तठष्ट देखिएकी छन् ।
यसैगरी, बैतडीका छ स्थानीय तहमा चार प्रमुख र छ जना प्रमुख नेकपाले जितेकोमा दुई प्रमुख र दुई उपप्रमुख प्रचण्ड–माधव समूहमा देखिएका छन् भने एक जना प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की मात्रै ओली पक्षमा देखिएका छन् । एक जना प्रमुख पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द, चार जना उपप्रमुख पञ्चेश्वरकी उपाध्यक्ष बिना भट्ट, डिलाशैनी पुर्चौडी नगरपालिकाकी उपाध्यक्ष जयन्ती बम, सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिला विष्ट र शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्द तटस्थ देखिएकी छन् । डिलाशैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहरा, उपाध्यक्ष पार्वती राना, दोगडाकी उपाध्यक्ष पार्वती ऐर र पुर्चौडीका प्रमुख रणबहादुर कुँवर प्रचण्ड–माधव समूहमा छन् ।

प्रतिक्रिया दिनुहोस्