कोरियाबाट अझै माग आउँदै «

कोरियाबाट अझै माग आउँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जान भिसा लागेका नेपालीसमेत अझै जान नपाए पनि कोरियाले नेपालीको माग प्रक्रिया भने रोकेको छैन । कोरियाका रोजगारदाताले नेपाली श्रमिकको माग नरोकेका कारण माग गर्ने र भिसा लाग्ने काम भने यथावत छ ।
नेपाल सरकारले कोरोनाका कारण कोरिया जान नपाएका युवालाई प्राथमिकता दिएर लैजान कोरियाली पक्षसँग अनुरोध गरिएको भए पनि पुराना भने १० महिनादेखि जान पाएका छैनन् ।
माग गर्ने तर प्रवेश अनुमति नपाउने अवस्था बढ्दै गएपछि पछिल्लो पटक कोरियास्थित नेपाली दूतावासले समेत कमिटेड वर्कर (पुनः प्रवेश अनुमति पाएका श्रमिक) लाई प्राथमिकता दिन अनुरोध गरेको छ । कोरियाले कोरोना संक्रमणको अवस्थालाई हेरेर पुसबाट नेपाली कामदार लैजानेबारे तयारी गरेको जनाए पनि संक्रमणको दोस्रो लहर आएपछि जाने प्रक्रिया केही पर सर्ने भएको छ ।
कोरियाले कोरोना संक्रमण कम भएको भियतनामबाट भने कोही श्रमिकलाई कोरिया प्रवश अनुमति दिएको छ । नेपालसहित दक्षिण एसियाको कारोना संक्रमणको अवस्था हेरेर नेपाली श्रमिकलाई कोरिया प्रवेश गराउने जनाए पनि त्यहाँका रोजगारदाताले श्रमिक माग प्रक्रिया भने नियमित रूपमा गरिरहका छन् ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक ईन्द्र गौतमले कोरोनाका कारण कोरियाले नेपाल मात्र नभई अन्य १५ देशबाट पनि श्रमिक लैजाने काम रोकेको बताए । उनले भिसा लागेका र श्रम सम्झौता गरेका श्रमिकलाई पहिलो प्रथामिकता दिन पत्राचार गरेको बताए । “रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भिसा लागेका (सीसीभीआई) र श्रम सम्झौता (एलसी) प्राप्त श्रमिकलाई लैजानेबारे कोरियापक्ष सकारात्मक देखिए पनि मिति भने तय हुन सकेको छैन ।” उनले भने, “कारोनाका कारण विगत लामो समयदेखि कोरिया जान नपाएका ६ हजारभन्दा बढी श्रमिकलाई प्राथमिकता दिन नेपालले अनुरोध गरेको गरिरहेको छ ।”
भिसा लागेर उडान हुन नसकेका र रोजगारदातासँग श्रम सम्झौता गरेका श्रमिकको उडान र सम्झौता रद्द हुन थालेपछि नेपाल सरकारले तत्काललाई भिसा अवधि थप गर्न र श्रम सम्झौता रद्द भएका नेपालीलाई अर्को मागका लागि प्रथामिकता दिन अनुरोध गरेको छ । नेपाल पक्षले भने भाषा परीक्षा पास गरेर माग सूची (रोष्टर) मा रहेका नेपालीको अवधि थप गर्न समेत अनुरोध गरेको छ । भाषा परीक्षा पास भएर २ वर्षसम्म भित्र कोरिया प्रवेश गर्न नसके पुनः परीक्षा दिनुपर्ने हुन्छ ।
रोजगारीका लागि नेपाली श्रमिक कोरिया जान नपाएपनि रोस्टरमा रहेका नेपाली पहिलो चरणको माग भने फेब्रुवरीमा हुने जनाईएको छ । कोरिया जाने श्रमिकका लागि उडान बाहेक सबै काम भने भइरहेको शाखाले जनाएको छ । भिसा लागेर कोरिया जान नपाएका १ हजार ५ सय श्रमिक भए पनि थप नेपालीको भिसा पनि इस्यु भने भइरहेको छ । एक महिनापछि नेपालबाट कृषि र उत्पादनमूलक क्षेत्रमा नेपालीको माग हुने शाखाले जनाएको छ ।

नयाँ वर्षदेखी ईपीएस श्रमिकको तलब बृद्धि
कोरोना संक्रमणबीच पनि ईपीएसअन्तर्गत कोरियामा कार्यरत नेपालसहित अन्य मुलुकका श्रमिकका लागि निर्धारण गरिएको वृद्धि पारिश्रमिक लागू भएको छ । सन् २०२१ का लागि निर्धारण गरिएको न्यूनतम परिश्रमिक पुस १७ अर्थात अंग्रजी नयाँ वर्षबाट लागू भएको हो । नयाँ वर्ष सुरुसँगै प्रत्येक वर्ष दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि हुने गरेको छ । गत वर्षको तलबभन्दा १.५ प्रतिशत बढी प्रतिघन्टा ८ हजार ७ सय २० वन अर्थात ८०७ रुपैयाँ भएको छ । यो वर्ष कोरोना संकटका कारण ३२ वर्षयताको सबैभन्दा कम तलब बढेको हो । वृद्धि भएको तलब अनुहार अब कोरियामा रहेका नेपालीको न्युनतम पारिश्रमिक १ लाख ७० हजारभन्दा बढी हुने छ । गत वर्षको जुलाइमा तलब निर्धारण समितिको नवौं बैठकले न्यूनमात्रामा पारिश्रमिक वृद्धि भएको कोरियाको श्रम मन्त्रालयले जनाएको छ । वृद्धि भएको तलबबाट कोरियामा कार्यरत ३५ हजारभन्दा बढी नेपाली श्रमिकलाई कही राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्