वायु प्रदूषणले भिजिबिलिटी कम «

वायु प्रदूषणले भिजिबिलिटी कम

मंगलबाट देशभर भएको मौसमको फेरबदलीसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । उपत्यकामा वायु प्रदूषण अत्यधिक हुँदा काठमाडौंबाट बाहिरिने आधा दर्जन उडान रद्द भए भने करिब २० मिनेट उडान अवतरण नै बन्द गर्नुपरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मंगलबार उपत्यकामा भिजिबिलिटी कम हुँदा काठमाडौं अवतरण गर्ने उडान २० मिनेट बन्द भएकोे छ । “उपत्यकामा वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित हुन गयो, दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो,” विमानस्थलका निमित्त प्रमुख देवचन्द्र लाल कर्णले भने, “यो सयममा भिजिबिलिटी १ हजार मिटरमात्र थियो त्यसैले गर्दा अवतरण गर्ने उडान बन्द भएको थियो ।” भिजिबिलिटी कम हुँदा ‘टाइप अफ एप्रोज र टाइप अफ एयरक्राफट’को आधारमा उडान र अवतरण हुने गर्दछ ।
यस अवसरमा समयमा विमानस्थलमा अवतरण गर्ने विमानहरू होल्ड गरिएको थियो भने मल्टी इन्जिनका जेट विमानबाहेक अन्य उडान भर्ने विमानको उडान बन्द भएको विमानस्थल कार्यालयका आन्तरिक टर्मिनल महाशाखा प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार मंगलबार अन्तर्राष्ट्रिय उडानमा प्रभावित भएको थिएन भने आन्तिरकमा बुद्ध एयरको भैरहवा, पोखरा, सिमरा, भरतपु्र उडान रद्द भएको थियो । यति एयर र श्री एयरलाइन्सको भरतपुर उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्