मुडिकुवा–लमाय सडक कालोपत्रे सुरु «

मुडिकुवा–लमाय सडक कालोपत्रे सुरु

ठेकेदारको लापरबाहीका कारण लामो समयसम्म रोकिएको दक्षिण पर्वतलाई सदरमुकामसँग जोड्ने मुडिकुवा–लमाय सडक कालोपत्रे सुरु भएको छ ।
दक्षिण पर्वतका तीन वटा स्थानीय तहलाई जोड्ने मुख्य सडकको रूपमा रहेको दोबिल्ला–फलेवास–लुंखु–हुवास सडकअन्तर्गत मुडिकुवा–लमाय खण्डको कालोपत्रे गर्ने कार्य यसै सातादेखि सुरु भएको हो । ठेकेदार सम्र्पकविहीन हुँदा विगत ८ महिनादेखि रोकिएको मुडिकुवा–लमायखोलासम्मको सडकको कालोपत्रे गर्ने कार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ । स्थानीयको पहल र जिल्ला प्राविधिक कार्यालय पर्वत तथा जनप्रतिनिधिको चर्को दबाबपछि ठेकेदारले सडकमा कालोपत्रे गर्ने कार्य सुरु गरेको जिल्ला इन्जिनियर जगदिश शर्माले जानकारी दिए ।
सडकको काम रोकिएपछि फलेवास नगरपालिकाअन्तर्गत साविक मुडिकुवा, खानीगाउँ, कुर्घा र देवीस्थानका बासिन्दा समस्यामा परेका थिए । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यात्रुले समेत अप्ठ्यारो सडकमा सास्तीपूर्ण यात्रा गर्न बाध्य थिए ।
कुल ११ करोड रुपैयाँको लागतमा कालोपत्रे गर्न लागिएको मुडिकुवा–लमाय सडकको दूरी ७.६ किमि छ भने सडक १० मिटर फराकिलो बनाएर कालोपत्रे गर्न थालिएको केही महिनामै ठेकेदार सम्र्पकविहीन भएपछि सडक कालोपत्रेको काम अलपत्र परेको थियो । उक्त सडकको अधिकांश भाग सडक किनारा र नाला निर्माण गर्न भने बाँकी नै रहेको जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ । जिल्ला प्राविधिक कार्यालय पर्वतअन्तर्गत ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा बन्न लागेको उक्त सडकको काम वसिफ प्रालि बाग्लुङले २०७४ असारभित्र सम्पन्न गर्ने गरी २०७२ जेठबाट काम सुरु गरेको थियो ।
ठेकेदारले ०७/७३ को १ करोड ९६ लाख २६ हजार ९ सय र ०७/७४ को २ करोड ४० लाख २४ हजार १५१ रुपैयाँ बुझिसकेको छ । अब ठेकेदारले ८ करोड १ लाख ७० हजार ३ सयको हाराहारीमा सडकको सम्पूर्ण काम सकिसक्नुपर्ने कार्यालयले जनाएको छ । पर्वतको क्षेत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षिण पर्वत जोड्ने सबैभन्दा व्यापारिक र कृषि सडकको रूपमा रहेको सो सडक खण्डको काम पुनः सुचारु भएपछि स्थानीय हर्षित छन् । उक्त सडक २०७५ जेठभित्र कालोपत्रे गरिसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्