Logo

भेनेजुयलामा मुद्रास्फीति डेढ लाख प्रतिशत पुग्यो

काराकास-देशको विशाल परिमाणमा बढिरहेको मुद्रास्फीति नियन्त्रण गर्ने भेनेजुयलाका राष्ट्रपति निकोलास माडुरोको प्रयास असफल भएको कम्तीमा पनि एक मापनले देखाएको छ ।
भेनेजुयलमा १ कप कफिको मूल्यमा १ लाख ४९ हजार प्रतिशतको वृद्धि भएको ब्लुमबर्ग क्याफेको कन लेचे सूचकले देखाएको छ ।
भेनेजुयलाको सरकारले नयाँ मुद्रा सोभरजिन बोलिभर जारी गरेपछिको समयमा यो अनुपातमा मुद्रास्फीतिमा वृद्धि भएको हो । एक सोभरजिन बोलिभरको मूल्य पुरानो १ बोलिभरसँग १ लाख रहेको छ । मुलुक वर्षौदेखिको हाइपर इन्फ्लेसनबाट गुज्रिरहेको अवस्थामा दैनन्दिन कारोबारलाई सामान्य पार्नका लागि नयाँ मुद्रा सुरु गरिएको हो । नयाँ मुद्रालाई धेरैले अवैधानिक सोचिरहेको भेनेजुयलियन सरकारले जारी गरेको डिजिटल मुद्रा पेट्रोसँग पनि विनिमय दिर निर्धारण गरिएको छ ।
सुरुमा यो प्रयासले सोभरजिन बोलिभरको मूल्य १ अमेरिकी डलरसँग ९५ देखि ११५ कायम भएको ब्लूमबर्गले जनाएको छ । यद्यपि सोमबार प्रति अमेरिकी डलरसँग बोलिभर २७६.५३ मा कारोबार भएको मनिटर डलरको तथ्यांकले देखाएको छ ।
विश्वकै ठूलो तेल भण्डार रहेको मुलुक चालू अवस्थाको मानविय संकटबाट गुज्रिएसँगै भेनेजुयलाको यो संकट देखा परेको हो । भेनेजुयलाले खाद्यान्न, औषधी र अन्य आधारभूत सामग्रीको अभावको अवस्था सामना गरिरहेको छ ।
भेनेजुयलाको यो अवस्थामा ट्रम्प प्रशासनले माडुरोको शासनसँग सम्बन्ध रहेका विभिन्न व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ । यसमा माडुरोकी श्रीमती सिलिया फ्लोर्स पनि समावेश छिन् ।
ट्रेजरी विभागले सेप्टेम्बरसम्म भेनेजुयलाको समाजवादी दलका उपाध्यक्ष रहेका डायस्डाडो काबेलोको २ करोड डलर पर्ने निजी जेट पनि जफत गरेको छ ।
भेनेजुयलाको मुद्रास्फीति लगातार नियन्त्रण बाहिर रहने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले जुन महिनामा यो वर्ष भेनेजुयलाको मुद्रास्फीति १० लाख प्रतिशत पुग्ने जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्