सहकारीबाटै १० खर्ब कारोबार «

सहकारीबाटै १० खर्ब कारोबार

संघीयता कार्यान्वयनसँगै देशभर सहकारीको संख्या घटे पनि कारोबार भने बढेको छ । तीनवटै तहका सरकारले दिएको प्राथमिकता र सर्वसाधारणको आकर्षणका कारण सहकारीको कारोबार वृद्धि भएको हो । संघीय सहकारी विभागले देशभरका सहकारीको कारोबार १० खर्ब पुगेको सार्वजनिक गरेको छ । देशभर सञ्चालनमा रहेका २९ हजार ८८६ सहकारीहरूले ९४ अर्ब १० करोड सेयर पुँजी तथा ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड ऋण लगानी गरेको विभागले जनाएको छ ।
सहकारीको अभिलेख स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघीय विभागले तीन वर्षपछि सहकारीको तथ्यांक सार्वजनिक गरेको हो । २०७४ असार मसान्तसम्ममा ३४ हजार ५१२ सहकारीले करिब ७ खर्ब कारोबार गरेका थिए ।
सहकारीको तथ्यांक राख्नका लागि सरकारले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) निर्माण गरेपनि त्यसबाट तथ्यांक संकलन नभएपछि प्रदेश तथा स्थानिय सरकारसँग समन्वय गरी तथ्यांक सार्वजनिक गरेको हो । तीन वर्षको अवधिमा सहकारी संस्थाको संख्या ४ हजार ६४४ संस्था घटेका छन् । यस अवधिमा सहकारीमा आवद्ध सर्वसाधारणको संख्या १० लाख थपिएको छ भने कारोबार पनि तीन खर्ब वृद्धि भएको छ । सहकारी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका विभागले जनाएको छ ।
सहकारीमा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ रहेका छन् । कूल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत छन् । कूल सहकारीमध्ये संघीय सरकारअन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ वटा संस्था छन् । संविधानले एक पालिकाभित्र कारोबार रहेका सहकारीलाई पालिकाले, अन्तरपालिका कार्यक्षेत्र रहेको सहकारीको प्रदेशले र अन्तर प्रदेश कार्यक्षेत्र रहेका सहकारीको संघीय सरकारले नियमन गर्ने व्यवस्था छ ।
सहकारी संघ संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निष्कृय रहेको कारण संख्या घटेको संघीय विभागका रजिष्टार डा. टोकराज पाण्डेले बताए ।
सबैभन्दा बढी सहकारीको बाहुल्यता बागमती प्रदेशमा देखिएको छ । कुल संस्थाको एक तिहाई र कुल कारोबारको आधा हिस्सा यसै प्रदेशमा रहेको छ । २७ लाख १७ हजार सदस्य रहेको यस प्रदेशका सहकारीले ५१ अर्ब ४० करोड सेयर पुँजी तथा २ खर्ब १४ अर्ब ६६ करोड बचत संकलन गरी १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगानी गरेका छन् । यस्तै सबैभन्दा कम सहकारी कर्णाली प्रदेशमा एक हजार ९७६ संस्था रहेका छन् । यी संस्थामा ४ लाख ४ हजार ९५६ जना सदस्य रहेकामा सेयर पुँजी १ अर्ब ९१ करोड, बचत ८ अर्ब ८६ करोड, ऋण लगानी ७ अर्ब ९२ करोड रहेको विभागले जनाएको छ ।
यसैगरी प्रदेश १ मा ४ हजार ७३७ सहकारीमा ९ लाख ३५ हजार सदस्य रहेका छन् । यी सहकारीले ८ अर्ब २० करोड सेयर पुँजी तथा ४१ अर्ब २१ करोड बचत संकलन गरी ३८ अर्ब ९५ करोड ऋण लगानी गरेका छन् । प्रदेश २ मा ४ हजार १५३ सहकारीले ५ लाख ५५ हजार १९७ सदस्यबाट २ अर्ब ३६ करोड सेयर, २३ अर्ब १९ करोड बचत र १५ अर्ब ५ करोड ऋण लगानी गरेका छन् ।
गण्डकी प्रदेशमा २ हजार ६७१ सहकारीमा ११ लाख १६ हजार ६३२ जना सदस्य आवद्ध छन् । यी संस्थामा २२ अर्ब ५ करोड सेयर, ८६ अर्ब ७ करोड ४५ लाख बचत र ८८ अर्ब ३७ करोड ८० लाख ऋण लगानी रहेको छ । लुम्बिनी प्रदेशमा ३ हजार ७५५ सहकारीमा ८ लाख ९८ हजार ६११ सदस्य मार्फत ५ अर्ब ८२ करोड सेयर, ५९ अर्ब ९६ करोड बचत संकलन र ४० अर्ब ८० करोेड ऋण लगानी गरेका छन् । यसैगरी सुदुरपश्चिम प्रदेशमा सहकारीको संख्या २ हजार ६० रहेको छ । यी संस्थाहरूले ५ लाख ४२ हजार ९८९ सदस्यमार्फत २ अर्ब १ करोड ५० लाख सेयर, १० अर्ब ४४ करोड बचत र ११ अर्ब ४९ करोड ऋण लगानी गरेका छन् ।
प्रदेशगत रुपमा सहकारीको संख्या

प्रतिक्रिया दिनुहोस्