Logo

कोभिडमा पनि थपिँदै पर्यटन पूर्वाधार

पोखरा-कोरोना कहरका कारण पर्यटन क्षेत्र एक वर्ष ठप्प रहे पनि पूर्वाधार भने थपिने क्रम जारी छ । सन् २०२१ को सुरुवातसँगै पर्यटन उद्योगमा सम्भावना देखिएको र यससँगै पूर्वाधारमा लगानी पनि थपिन थालेको छ ।
कोभिड–१९ को महामारीबाट पर्यटक आगमन र आन्तरिक पर्यटकको चहलपहल नभए पनि सबैजसो पर्यटकीय गन्तव्य पोखरामा पूर्वाधार विकासको काम भने भटाभट भइरहेको छ । नयाँ प्रडक्ट थप गर्ने र पर्यटन उद्योगलाई दीर्घकालीन गन्तव्यमा रूपान्तरण गर्ने काम लगानीकर्ताहरूले गरिरहेका छन् । पछिल्लो समय होटलका अलावा नेपालको साहसिक पर्यटन विकासमा पछिल्लो समय विभिन्न गतिविधि विकास हुँदै आएका छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासको लागि नयाँ सोच र पृथक प्रचार प्रसार गरी नेपाललाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने लागि परेको बताउँछन् । आन्तरिक पर्यटक र वाह्य पर्यटकका लागि पूर्वाधारको विस्तार गर्दै नयाँ पर्यटकीय गन्तव्य र उत्पादन थपिँदा पर्यटकको बसाई अवधि, पर्यटकको खर्च पनि बढेर जाने उनले बताए ।
पर्यटन क्षेत्रमा नै भविष्य देखेर लगानी विस्तार र पूर्वाधार निर्माणमा जुटेको अवस्था छ । कोभिड–१९ को असर पर्यटन क्षेत्रमा परेसँगै धेरैले खाली समयको सदुपयोग गर्दै व्यवसायीहरूले भएका पूर्वाधारको विस्तार र स्तरोन्नति गरेको अवस्था छ भने भावी दिनमा नेपालमा पर्यटनको सम्भावना देखेर नयाँ पर्यटकीय गन्तव्य विकास पनि भइरहेको छ । पछिल्लो समय होटल, रिसोर्ट, बन्जी, जिपलाइनसमेत विस्तार हुँदै गएको छ । घुमफिरमा युवा वर्गको वाहुल्यता बढेर गएसँगै यो वर्गको रोजाइमा साहसिक पर्यटन क्षेत्र बढी रुचाउने भएसँगै यस क्षेत्रमा लगानीको मात्रा थपिँदो मात्रामा रहेको छ । साहसिक पर्यटकलाई लक्षित गरेर पछिल्लो समय विकास भएको गन्तव्य हो ‘द क्लिफ रिसोर्ट’ । पोखराबाट ५७ किलोमिटरमा रहेको बागलुङको बलेवामा २३ रोपनी क्षेत्रफलमा यो रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई साहसिक पर्यटनमा मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ स्वदेशमा नै विदेशी सुविधा सहितको बन्जी, स्विङ र स्काई साइक्लिङ (एड्भेन्चर हब) एकै रिसोर्टमा दिन योजनाअनुरूप निर्माण भएको गन्तव्य हो । करिब २८ करोड रूपैयाँमा लगानीमा विकास भएको यो गन्तव्यमा रिसोर्टदेखि नेपालमा नै एड्भेन्चर हबका रूपमा विकास गर्ने गरी काम भइरहेको छ । कालिगण्डकी नदीको खोचमा पर्वत सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने ५ सय २५ मिटर लामो झोलुंगे पुलमा स्वीङ र स्काई साइक्लिङ विश्वकै सबैभन्दा अग्लो बनेको छ । विश्वकै अग्लो र लामो स्काई साइक्लिङ पनि रहेको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो स्काई साइक्लिङ बनाएको व्यावस्थापक ईश्वर कार्कीले बताए । बाह्य पर्यटकलाई एडभेन्चर हबबाट सेवा प्रदानगर्ने र आन्तरिक पर्यटकलाई भने पारिवारिक मनोरञ्जन दिने तयारीस्वरूप रिसोर्ट र सहासिक गन्तव्यको रूपमा विकास गर्न लागिएको व्यवस्थापक कार्कीको भनाइ छ ।
पोखरामा साहसिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न लागिपरेको कम्पनी बन्जी नेपाल एड्भेन्चर्स र हाई ग्राउन्ड एडभेन्चर पनि हुन् । हाई ग्राउन्डले २० करोडको लगानीमा पोखरालाई बेस बनाएर १ हजार ८५० मिटर लामोे जिपलाइन निर्माण गरेको छ । हाई ग्राउन्ड एभन्चरका प्रमुख कार्यकारी अधिकृत दिनेश महर्जनकाका अनुसार यसको उचाइ ७२ मिटर छ । साहसिक गन्तव्य मन पराउने बाह्य तथा आन्तरिक पर्यटकको लागि भने बन्जी र जिपलाइनको आनन्द प्रदान गरिरहेको महर्जनले बताए ।
हितबन्जी नेपाल एड्भेन्चरले पनि पोखरालाई नै आधार बनाएर साहसिक पर्यटनको विकासमा नेपाललाई नयाँ आकर्षक गन्तव्यको विकास गरेर पूर्वाधार विस्तार गरिरहेको छ । पोखरामा पाँच रोपनी क्षेत्रफलमा विकास गर्न लागिएको यो पर्यटकीय गन्तव्यमा एड्भेन्चरमा रमाउने लत बसेका आन्तरिक पर्यटनहरूलाई नै प्राथमिकताका साथ यो योजना अगाडि बढेको बन्जी नेपाल एड्भेन्चर्सका अध्यक्ष सन्तोष भट्टराईले बताए । उनले भने, “कुल लगानी १० करोड रुपैयाँमा निर्माण भएको यहाँका पूर्वाधारमा बन्जी, टावर क्लाइम्बिङ, पिङ, बन्जी परिसरमै कार्यालयसँगै रेस्टुराँसमेत बनेको छ ।”
पोखरामा विभिन्न होटल थपिने क्रम जारी छ । पर्यटकीय नगरी भएकाले भोलिको प्रतिफल देखेर नै पर्यटनमा लगानी थपिने क्रम बढेको व्यवसायी नरेश भट्टराई बताउँछन् । लेकसाइडदेखि सारङकोटसम्म २ किलोमिटर लामो केबलकार निर्माणको क्रममा छ । त्यस्तै रूपाकोटलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पुष्पराज अधिकारीले दुई सय रोपनी क्षेत्रफलमा ४२ कोठाको रूपाकोट रिसोर्ट सञ्चालन गरिरहेका छन् र हाल यसको विस्तार गरिरहेका छन् । सञ्चालक अधिकारीले ४० रोपनी क्षेत्रफलमा ओल्ड भिलेज निर्माण गर्न लागि परेका छन् । तनहुँको बन्दीपुरमा पनि २ अर्ब लगानीका केबलकारसहित पर्यटकीय पूर्वाधार तयार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्