सेजबाट १६ करोडका सामान निर्यात «

सेजबाट १६ करोडका सामान निर्यात

भैरहवा-भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२ करोड २३ लाख मूल्य बराबरका सामान निर्यात भएका छन् । देशकै पहिलो सेजबाट भारततर्फ १५ करोड ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने ६ करोड ४५ लाख मूल्य बराबरका सामान स्वदेशी बजारमै खपत भएको जनाइएको छ ।
भैरहवा सेजमा अहिले चालू अवस्थामा रहेका शक्ति मिनरल्स प्रालि, ब्रिलियन लाइट्स र विस्तार ग्लोबल प्रालिले सामान उत्पादन गरी भारत तथा नेपालको आन्तरिक बजारमा पठाएको भैरहवा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख अर्जुन पाण्डेले बताए । पाण्डेका अनुसार चालू आबको पहिलो पहिलो पाँच महिनामा यो परिमाणमा निकासी तथा बिक्री भएको हो ।
शक्ति मिनरल्सले चुनढुंगा प्रशोधन गर्दै आएको छ भने ब्रिलियन लाइट्सले विभिन्न किसिमका एलईडी लाइट्स र बिस्तार ग्लोबलले स्टिलका भाँडा उत्पादन गर्दै आएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमा १३४४ प्रतिशतले वृद्धि भएको पाण्डेले जानकारी दिए ।
कार्यालयको ४ महिने तथ्यांकअनुसार कोरोना महामारीकै समयमा साउनदेखि कात्तिकसम्म १६ हजार ७५ टन प्रशोधित चुनढुंगा, ब्रिलियन लाइट्सले १ लाख ७३ हजार ७ सय ७५ थान एलईडी लाइट र विस्तार ग्लोबलले ७ लाख ४४ हजार १ सय १ किलो बराबरका स्टिल सामानहरू उत्पादन गरेका छन् ।
भैरहवा सेजमा अहिलेसम्म तीनवट उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् भने जय बुद्ध मेटल क्राप्ट प्रालिले परीक्षण उत्पादन गरिरहे पनि लकडाउनयता बन्द अवस्थामा छ । पञ्चकन्या ग्रुपका पीभीसी पाइप, पञ्चकन्या स्टेलनेश स्टिल ट्यांकी, सीपीभीसी पीपीआर पाइप्स एण्ड फिटिङ्स प्रालि तथा पञ्चकन्या एचडीपीई पाइप्स म्यानुफ्याक्चरिङ कम्पनी उद्योग निर्माणको अन्तिम चरणमा छन् । भैरहवा सेजमा उद्योग स्थापनाका लागि जग्गा भाडामा लिएका अन्य उद्योगहरूमा एस प्लास्टिक प्रोडक्टस, निर ईण्डस्ट्रिज प्रालि, ग्रो वेल इनोभेसन प्रालि, एलडीएस ईलेक्ट्रीक प्रालि, क्रियशन वल्डवाइड प्रालि, तिरुपति मेटल इण्डस्ट्रिज प्रालि, एरिवा एग्रिकल्चर प्रालि, नेशनल अग्र्यानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिङ इण्डस्ट्रिज, कुराकानी अनलाइन प्रालि रहेका छन् ।
सेजमा कुल १७ उद्योगले अहिलेसम्म ४८ प्लट लिएका छन् । सेजको हालको क्षमता ६८ प्लट हो । सेजमा उत्पादित वस्तुहरू ६० प्रतिशत भारत तथा तेस्रो मुलुकमा र ४० प्रतिशत नेपालमा बिक्री प्रावधान छ । त्यहाँ स्थापना भइ सञ्चालन हुने उद्योगले भारत निर्यातमा भन्सार छुट, कच्चा पदार्थ आयातमा भन्सार छुट साथै उद्योगका लागि लिएको जग्गाको भाडामा पहिलो वर्ष ५० प्रतिशत, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट लगायत अन्य सुविधा रहेको पाण्डेले जानकारी दिए । सेजमा जग्गा भाडादर प्रतिस्वायर मिटर २० रुपैयाँ रहेको छ ।

कोरोनाले चार महिना बन्द
लकडाउनका सेजभित्र चालू रहेका उद्योगहरू पनि बन्द भएका थिए । करिब चार महिना उद्योग बन्द रहे पनि साउन महिनाबाट भने निरन्तर उत्पादन र निकासी गर्दै आएको भैरहवा सेज प्रमुख पाण्डेले बताए । अघिल्लो वर्ष नोभेम्बर २०१९ बाट उत्पादन सुरु गरेको बिस्तार ग्लोबल पनि लकडाउनसँगै करिब चार महिना बन्द हुन पुगेको उद्योगका प्लान्ट म्यानेजर निपुण जैनले बताए । उता लकडाउन सुरु हुनु अघिसम्म जय बुद्ध मेटल क्राफ्टले परीक्षण उत्पादन गर्दै आएको उद्योगका सञ्चालक प्रशान्त अग्रवालले बताए । उद्योगले तामा, पित्तल, ढलोट, स्टिल, अल्मुनियमको सजावट, पूजा तथा दैनिक प्रयोजनाका सामानहरू उत्पादन गर्दै आएकोमा अहिले कालिगढ (मजदुर) नहुँदा बन्द छ ।

प्रतिक्रिया दिनुहोस्