घटेका हवाई यात्रु र नेपाली आकाश

गत पुस १६, २०७७ मा रातोपाटी अनलाइनमा प्रकाशित समाचारअनुसार विभिन्न देशबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको छ । रातोपाटी अनलाइनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै छापेको समाचारअनुसार “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ मा ४१ लाख ३८ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका थिए भने सन् २०२० मा १० लाख ३९ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुले मात्रै यात्रा गरेका छन् ।” त्यस्तै सो समाचारमा जनाइएअनुसार “सन् २०१९ मा ३१ लाख ८८ हजार आन्तरिक हवाई यात्रुले यात्रा गरेका थिए भने सन् २०२० मा १० लाख ३० हजार आन्तरिक हवाई यात्रुले मात्रै यात्रा गरेका छन् ।” यसरी हेर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा आन्तरिक हवाई यात्रुहरूले गरेको यात्रा संख्यालाई आधार मान्दा सन् २०१९ को तुलनामा २०२० मा लगभग ६५ प्रतिशतले कमी हो । त्यसो त माथिको तथ्यांक सन् २०२० को नोभेम्बर महिनासम्मको हो । तापनि बाँकी एक महिना (डिसेम्बर) मा कति नै अन्तर्राष्ट्रिय एवम् आन्तरिक हवाई यात्रु बढ्लान् ? सजिलै अनुमान गर्न सकिने कुरो हो ।
यसरी हेर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा समग्रमा ७३ प्रतिशतले हवाई यात्रु घटेको देखिन्छ । यसरी हवाई यात्रु घटेपछि स्वाभावैले हवाई सेवा कम्पनीका सञ्चालक वा भनौं हवाई यातायातका मालिकहरूको कमाइमा पनि चुना लाग्ने नै भयो । त्यसपछि सरकार अर्थात् नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा पनि ¥हास आउने नै भयो । हुन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न देशका हवाई सेवा कम्पनी र नेपालकै हवाई तथा हेलिकप्टर कम्पनीहरूलाई उडान अनुमति, रुट परमिट, ग्रान्ड ह्यान्डलिङ, पार्किङ, जरिवानालगायत अन्य सेवाुसुविधा दिएबापत गर्ने आम्दानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आर्थिक वर्ष २०७५-०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा लगभग ६३ प्रतिशतले कमी आएको देखिन्छ । हुन त सन् २०२० मा अपवादका रूपमा नेपालमा मात्रै एक्कासि अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रुहरू घटेको नभएर सन् २०१९ को अन्त्यतिर चीनको दक्षिणपूर्वी राज्य हुपेईको राजधानी वुसानबाट फैलिएको ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) का कारण विश्वभरिकै हवाई यातायात प्रभावित भएको हो भन्ने हामी सबैमा सामान्य जानकारी भएकै हो ।
खासमा सन् २०२० मा घटेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका कारण विश्वभरिका हवाई सेवा कम्पनीहरूले आफ्नो आम्दानी वा नाफा कति खर्ब डलरमा गुमाए ? अथवा घाटा बेहोरे ? अहिले नै थाहा नभए तापनि नेपाली हवाई कम्पनीहरूले भने १७ अर्ब ६२ करोड नेपाली रुपैयाँ गुमाएका छन् ।
यसरी हेर्दा सन् २०२० मा नेपालले ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरू र आम्दानी गुमाउनुपरेको पीडासँगसँगै युरोपियन युनियनसम्बद्घ देशहरूको हवाई संगठनले पछिल्लो पटक नेपालले हवाई सेवा क्षेत्रमा गरेको सुरक्षात्मक प्रबन्ध र हवाई सुरक्षा क्षेत्रमा गरिने सुधार प्रक्रियामा अभैm पनि सुधार नआएको भन्दै लगाइरहेको ‘ब्ल्याक लिस्टको पोलिटिक्स’ पनि जारी नै रहेकाले सन् २०२१ मा पनि हामी नेपालीहरूका लागि हवाई क्षेत्रमा उखरमाउलो उन्नति–प्रगति होला भनी धेरै आशा गर्ने ठाउँ भने छैन, भलै नेपाल सरकारले पछिल्लो पटक हवाई सुरक्षासम्बन्धी विधेयक संसद्मा पेस गरिसकेको छ ।
वास्तवमा ‘इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन’ (आईकाओ) ले नेपालको हवाई सुरक्षा स्थिति औसतमा राम्रो (६० प्रतिशतभन्दा माथि) भनेको लगभग तीन वर्ष भएको छ । त्यसो भए तापनि युरोपियन युनियनअन्तर्गत रहेको ‘युरोपियन हवाई उड्डयन आयोग’ले नेपालमाथि सन् २०१३ देखि आफ्नो आकाशमाथि नेपाली वायु सेवा कम्पनीहरूको हवाई जहाजलाई उडान गर्न लगाउँदै आएको अस्थायी प्रतिबन्ध अर्थात् ‘ब्ल्याक लिस्ट’लाई पटक–पटक (६–६ महिना) थप्दै आएको छ ।
–निनाम कुलुङ ‘मंगले’