तिर्खाएका उपत्यकावासी र मेलम्ची सपना «

तिर्खाएका उपत्यकावासी र मेलम्ची सपना

हामीले हाम्रो आधारभूत आवश्यकताको एउटा बहुप्रतीक्षित आयोजना २६ वर्षमा समेत पूरा गर्न सकेका छैनौं । यो हदसम्मकै लज्जाको विषय हो ।

नेपाली इतिहासमै सर्वाधिक चर्चित एव बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना निर्माण प्रारम्भको २६ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । यसले काठमाडौं उपत्यकावासीलाई निराश मात्रै बनाएको छैन, नेपालको विकासको गतिलाई लिएर अन्तर्राष्ट्रिय जगत्मा नै देशलाई लज्जित बनाएको छ । २०५१ सालमै निर्वाचनका क्रममा कांग्रेस नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए । त्यसपछि लगानीकर्ताको खोजी गर्दै २०५२ सालमा मेलम्ची खानेपानी आयोजनाको स्थापना गरिएको थियो । यसरी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै यस आयोजना निर्माणका लागि प्रारम्भिक पहलकदमी उठाएका थिए ।
यद्यपि भट्टराईपछि पनि धेरै नेताले मेलम्चीको पानी काठमाडौंमा ल्याइदिने भन्दै चुनाव जिते । तर, २०५८ सालदेखि विधिवत् निर्माणको काम थालिएको यस खानेपानी आयोजनामा हालसम्म २९ अर्ब खर्च भइसक्दासमेत पूरा भएको छैन । यस खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकार र दातृ निकायहरू एडीबी, विश्व बैंक, जेबिक (जापान), नोराड, सिडा, जापान सरकार, ओपेक, एनडीएफ लगायतबाट आर्थिक स्रोत जुटाइएको हो । झन्डै २० लाख उपत्यकावासीलाई खानेपानी आपूर्ति गर्ने अनुमान गरिएको यो आयोजना खास गरी राजनीतीकरण, ढिलासुस्ती र कमिसनतन्त्रको चरम चपेटामा प-यो; जसले गर्दा तिर्खाएका राजधानीवासीले पानीको प्यास मेट्न पाएका छैनन् ।
झन्डै तीन दशकबीच दर्जनौं मन्त्रीहरू फेरिए, कैयौं नेताहरूले मलम्चीको पानी काठमाडौंमा ल्याएर छेलोखेलो बनाउने सपना देखाएर चुनावहरू जिते ।
कैयौं वसन्त आए र गए, तर मलम्ची आएन । खासगरी मेलम्ची खानेपानी आयोजना कार्यगत ढिलासुस्ती, राजनीतीकरण, भ्रष्टाचार, अनियमितता, झन्झटिलो खरिद ऐन र कर्मचारीहरूको असहयोगकै कारण हालसम्म पूरा नभएको हो । हिजोआजका वर्षहरूमा वर्ष–वर्ष दिनमै छिमेकी देशहरूले स्मार्ट सहरहरू बनाएर चमत्कार गरिरहेका छन् । विदेशीले विकासका नवीनतम चमत्कारहरू गरिरहेका छन् । विडम्बना हामीले हाम्रो आधारभूत आवश्यकताको एउटा बहुप्रतीक्षित आयोजना २६ वर्षमा समेत पूरा गर्न सकेका छैनौं । यो हदसम्मकै लज्जाको विषय हो ।
हाम्रोमा जिन्दगीभर राजनीति गरेर जेलनेल झेलेर आएको मान्छे मन्त्री भयो भने पनि सत्तामा पुगेपछि उसमा शासकीय भूत सवार हुन्छ । चस्मा लगाएर हिँडेको छ भने उसले अगाडिका मान्छे नदेख्न पनि सक्छ । जनताले त्यो बखत नमस्कार गरेछ भने नमस्कार नफर्कन पनि सक्छ । किनकि उसमा शक्तिको, पदको उन्माद चढेको हुन्छ । आफ्नो जिम्मेवारी एकातिर छ, उसको प्राथमिकता अर्कातिर छ । जनताको आवश्यकता, दुःख र दर्ज बुझ्ने मन्त्री हुँदैनन् । उनीहरू दिनहुँ दलाल, आसेपासे र नातेदारको स्वार्थ पूरा गर्न लाग्छन् । त्यसैले पनि यस्ता बहुआयामिक महत्वका आयोजना अलपत्र बनिरहेका छन् ।
यद्यपि यसपटक राजनीतिमा खारिएका, निष्ठावान् मानिएका पुराना सांस्कृतिक नेता मणि थापा राजधानीवासीको आकांक्षा पूरा गर्न सक्ने मन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् । उनका लागि बडो अवसर छ, काम गरेर देखाउने । किनभने समयकालले अहिले मेलम्ची पूरा गर्ने अन्तिम अन्तिम घडीमा थापालाई मन्त्री बनाएको छ । हेरौं, उनले त्यो जिम्मेवारी पूरा गर्छन् वा गर्दैनन् त्यो भविष्यको गर्भमा छ ।
काठमाडौं उपत्यकामा मेलम्ची यही दसैंमा आउँछ, अर्को दसैंसम्ममा आउँछ, दुई महिनापछि आउँछ, अर्को महिना त आउँछ नै र आइ नै सक्यो भनिरहँदारहँदै अहिले त त्यस्ता प्रचारमा पनि जनताले विश्वास गर्न छाडिसके । त्यसकारण मेलम्ची आउन अझै दृढ संकल्प र कडा प्रयत्न आवश्यक देखिन्छ । त्यसैले पनि नवनियुक्त मन्त्रीज्यूलाई यस स्तम्भकारको केही सुझाव छन् ।
खासगरी उनले आफ्नो टिमलाई अलिक सशक्त बनाउन जरुरी छ । सक्षम मान्छेहरू सल्लाकार कमिटीमा राखेर विज्ञ, ठेकेदार, कर्मचारी र स्थानीय जनताको समेत राय सुनेर पहिला त आयोजना सम्पन्न हुन नसक्नुको कारण पहिल्याउन जरुरी छ ।
यस्ता काम नदीको गडगडाहटझैं वेगले गर्न जरुरी छ । जहाँ समस्या छन्, त्यसलाई फुकाएर, कर्मचारीमा उत्प्रेरणा भर्दै ऊर्जावान् ढंगले त्यसको अनुगमन तथा कार्यसम्पादनमा ध्यान दिन जरुरी छ । खासगरी विकास भनेको गाह्रो पनि छ र सजिलो पनि । त्यो आफूमा निर्भर रहने कुरा हो । पूरा गर्न चाहने उत्कट आकांक्षाको कुरा हो । हिजो कैयौं कर्मचारीले गर्न नसकेको काम निष्ठापूर्वक, ऊर्जावान् ढंगले, विवेकपूर्ण ढंगले गर्दा कुलमानले नेपाललाई लोडसेडिङबाट मुक्त गराए । त्यही शैली मन्त्री थापा र उनको मन्त्रालयले अवलम्बन गर्न जरुरी देखिन्छ । अनि मात्रै मेलम्ची काठमाडौं उपत्यकामा आउन सक्छ ।
एउटा आयोजनालाई घुमाउने, लम्ब्याउने हो भने जति पनि गर्न सकिएला । बिग्रार्ने वा भुलभुल्याउने काम धेरै असजिलो पनि छैन । तर बनाउने काम भने जटिल हो । त्यहाँ कर्मचारीको स्वार्थको कुरा रहलान्, स्थानीयको रहलान् ठेकदारको रहलान्, मन्त्रीकै पनि रहलान् । हिजोका दिनमा यस आयोजनालाई लिएर बाहिर आएका समाचारले त्यही दृष्टान्तलाई दर्साएको पनि छ । तर, केन्द्रमा रहने मन्त्रीले नै बिनास्वार्थ काम गरेको खण्डमा अरू सबै स्वार्थ समूहलाई नियन्त्रण गर्दै काम गर्न सकिन्छ । जो कुलमानले उदाहरण दिएका छन् ।
विकासलाई दुष्टहरूबाट जोगाउँदै संयमित र व्यवस्थित ढंगले मिलाएर लान सक्दा यो आयोजना पूरा गर्न अब कठिन नभएको बुझिन्छ । २७ किमि व्यवस्थित सुरुङमार्ग बनिसकेको छ । पानीको भण्डारणका लागि सुन्दरीजलमा व्यवस्थित ट्याङ्की बनिसकेको छ । राजधानीमै व्यवस्थित पाइपलाइन तथा आवश्यक भण्डारण स्थलहरू बनिसकेका छन् । त्यसकारण यस आयोजनाका लगभग सबैजसो पूर्वाधारहरू बनिसकेका छन् । मात्रै केही आन्तरिक प्राविधिक काम र त्यसको ट्रायल गर्न बाँकी छन् । ती काम गर्न पनि महिनौं वा वर्षौं लाग्न सक्छ, यदि मन्त्रीले तदारुकता नदेखाउने हो भने । त्यसकारण भएगरेका थोरबहुत जटिलतालाई सुल्झाउँदै अविलम्ब मेलम्चीको पानी काठमाडौंमा ओराल्न आवश्यक छ ।
मेलम्ची नआएकै कारण काठमाडौंवासीहरू ट्याङ्करको पानीमा निर्भर छन् । त्यस्तो पानीको गुणस्तरसमेत मापन हुने गरेको छैन । फलस्वरूप पानीजन्य रोगले धेरैलाई सताउने, मेडिकल खर्च बढ्ने, स्वास्थ्य बिग्रने समस्या जडित छन् । अर्कातिर ट्याङ्करमार्फत अन्यन्त्रबाट काठमाडौंमा पानी ओर्सादा इन्धनको व्यापक खपत भई इन्धन आयातमार्फत व्यापारघाटा बढाएको छ । राजधानीमा त्यसले सडक जामको अवस्था सिर्जना गर्नुका साथै अरू अनेकन समस्याहरू बढाएको छ । ट्याङ्करमा पानी ओर्सानेहरूले रोजगारी पाएका त हुन्, तर देशका लागि त्यो उत्पादनमूलक एवं अर्थपूर्ण भएन । बरु त्यसरी रोजगार भएकाहरूलाई अन्यन्त्र स्थापित गर्न सकिएला । ठाउँहरू धेरै छन् । मूल कुरा सफा पानी सहज रूपमा, व्यवस्थित रूपमा सहरवासीलाई पु¥याउने कुरा हो । त्यो नै खास अर्थको विकास र समृद्धिको कदम हो ।
गत असार ३० गते मेलम्चीको पानी परीक्षणका क्रममा सुरुङको ढोका भत्किएर पानी बाहिर आएसँगै मलम्ची काठमाडौं आउनेमा झन् संशय उत्पन्न भएको छ । जनता झन् बढी निराश भएका छन् । अर्कातिर आयोजना निर्माणको गुणस्तरमा नै प्रश्न उब्जिएको छ । अख्तियारले ढोका भत्किएर पानी आएको घटनापछि आवश्यक कागजात झिकाएर छानबिन नै सुरु गरेपछि मेलम्चीको गुणस्तरमा झन आशंका उब्जिएको छ । त्यसकारण तीन दशकदेखिको यस आयोजना धेरै धोखाधडी र भ्रष्टाचारको गोलचक्करमा जकडिएको छ । सबै खालका समस्याबाट मेलम्चीलाई अलग्याउँदै आयोजनाको बाँकी काम पूरा गर्नुपर्ने जिम्मेवारी नवनियुक्त मन्त्रीज्यूको काँधमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्