१२ अर्ब ४७ करोड राजस्व संकलन «

१२ अर्ब ४७ करोड राजस्व संकलन

विराटनगर- पूर्वको सबैभन्दा ठूलो भन्सार नाका विराटनगर भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०७५-०७६ को चौमासिकमा लक्ष्यभन्दा २८ करोड कम राजस्व संकलन गरेको छ ।
साउनदेखि कात्तिक २५ गतेसम्म कार्यालयले १२ अर्ब ४७ करोड राजस्व उठाएको छ । यो अवधिमा कार्यालयले १२ अर्ब ७५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । बाँकी रहेको चार दिनमा लक्ष्य पूरा हुने सम्भावना देखिँदैन । गत वर्ष यो अवधिको चौमासिकमा ८ अर्ब ७९ करोड राजस्व संकलन भएको थियो । तर, गत वर्षभन्दा यो वर्ष ३ अर्ब ६८ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विराटनगर भन्सार कार्यालयले कात्तिक महिनाको २५ गतेसम्ममा २ अर्ब ४२ करोड राजस्व उठाएको जनाएको छ । यो महिना ३ अर्ब ४० करोड २५ लाख राजस्व उठाउने लक्ष्य राखेको भए पनि चाडपर्वका कारण लक्ष्यअनुसारको उठाउन नसकेको कार्यालयले जनाएको छ । यस्तै साउनमा २ अर्ब ९९ करोड, भदौमा ३ अर्ब ७९ करोड, असोजमा ३ अर्ब ९७ करोड राजस्व उठाउन सफल भएको कार्यालयका अधिकृत राजेन्द्र थापाले जानकारी गराए ।
आर्थिक वर्ष २०७५-७६ मा विराटनगर भन्सार कार्यालयले ४२ अर्ब ५३ करोड राजस्व उठाउने लक्ष्य राखेको अधिकृत थापाले बताए । कार्यालयले असोजमा लक्ष्यभन्दा १ सय ३३ प्रतिशत बढी राजस्व संकलन गरेको थापाको भनाइ छ । आर्थिक वर्ष २०७४-७५ मा भने भन्सार कार्यालयले ३१ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ८१ करोड राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्