रुसको तेल उत्पादन दसककै न्यून नजिक

मस्को-महामारी प्रभावित उर्जा बजारलाई उकास्न विश्वका प्रमुख तेल निर्यातकहरुले ओपेक प्लस सम्झौताको सममर्थन गरेपछि रुसमा तेलको उत्पादन १२ वर्षमा पहिलो पटक घटेको छ । २०२० मा यो नौ वर्षकै न्यूनमा ओर्लिएको थियो ।
गत वर्ष रुसले ५१ करोड २६ लाख टन कच्चा तेल उत्पादन गरेको थियो । यो तह २०१९ को तुलनामा ८.६ प्रतिशतले कम भएको रुसको आधिकारिक समाचार संस्था इतार तासले जनाएको छ । गत वर्षको तेल उत्पादन झन्डै २०१० को हाराहारीमा पुगेको थियो । उक्त वर्ष रुसमा तेलको उत्पादन ५१ करोड २३ लाख टन थियो ।
तेलको उत्पादन २०१९ मा पनि ओरालो लागेको थियो । लगभग रुसका सबै तेल कम्पनीहरुले तेलको उत्पादन समग्र २०२० को वर्षमा कटौती गरेका थिए । गत वर्ष तेल उत्पादनको कटौती ६ प्रतिशतबाट १२ प्रतिशतमा उक्लिएको थियो । रुसकै ठूलो निजी स्वामित्वको उत्पादक नोभाटेकले मात्रै डिसेम्बरमा उत्पादन बढाएको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतको हाराहारीमा उत्पादन बढाएको थियो ।
महामारीले मानिसको आवतजावत रोकिएको र तेलका लागि विश्वव्यापी माग घटेसँगै उर्जा बजारमा अदृश्य अस्थिरता ल्याएको थियो । महामारीको विनासकारी प्रभाव बाहेक ओपेक प्लसको पूर्व सम्झौता कार्यान्वयन नभएपछि गत वर्ष बजारका लागि अर्को धक्का लागेको थियो ।