Logo

लोडसडिङ नहुने प्राधिकरणको दावी

नेपाल विद्युत् प्राधिकरणले अहिले लोडसेडिङको अवस्था अन्त्य भइसकेको बताउँदै अब हुने हुने सम्भावना पनि नरहेको जानकारी दिएको छ ।
पछिल्ला केही दिन उपत्यकामा केही समय विद्युत् कटौती भएपछि पुनः लोडसेडिङ सुरु भएको भन्दै आलोचना भएपछि प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । १३ र १४ पुसमा केही समय विद्युत् कटौती भएपछि लोडसेडिङ सुरु भएको भन्दै प्राधिकरणको आलोचना भएको थियो । प्राधिरकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई उपत्यकामा लोड (माग) बढेका कारण वितरण लाइनमा चाप परेर केही समय आपूर्ति रोकिन गएपनि यसको व्यवस्थापन भइसकेको जानकारी दिए । “बढी लोडको कारणले आएको प्राविधिक समस्या सल्टाइसकेका छौ, मागअनुसार बिजुली धान्ने अवस्थामा छौँ , अझ ढल्केबर–मुजफपुरबाट एक सय मेगावाट थप गर्न लागेका छौं’ उनले भने, “लोडसेडिङ छँदैछैन र हुने अवस्था पनि छैन, बरु हामीले आगामी जेठदेखि बिजुली खेर जाने अवस्था देखेर औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउनका लागि कार्यदल बनाएरै अध्ययन गरिरहेका छौंं ।”
उत्पन्न प्राविधिक समस्या समाधान गर्न प्राधिकरणको टिम सक्षम रहेको बताउँदै उनले तुलनात्मक रूपमा गत वर्ष यही समयको तुलनामा उपत्यकामा प्राविधिक कारणले हुने विद्युत् कटौतीको समय कम रहेको तथ्यांक प्रस्तुत गरे । वितरण प्रणाली मर्मत, सुधार तथा स्तरोन्नतीको कारण विद्युत् वितरण प्रणाली सुधार आएको बताउँदै उनले सामाजिक सञ्जालमा आएको सुझावलाई अझ सुधार होस् भन्ने उद्देश्यका साथ भएको रुपमा आफूहरुले लिएको बताए ।
शाक्यका अनुसार, गत वर्षको साउनदेखि पुससम्म उपत्यकामा २२ पटकसम्म प्रणाली ट्रिप (अवरोध) भएकोमा चालू वर्ष सोही समयमा १० पटकमात्र समस्या आएको छ । गत वर्ष मंसिरमा बालाजु सवस्टेसनमा प्राविधिक कारणले ५४ घन्टा लाइन काटिएको थियो भने चालू वर्ष सोही अवधिमा ४९ घन्टा काटिएको छ । यस्तै, सोही महिनामा गत वर्ष बानेश्वरमा घन्टा, लैनचौर सवस्टेसनमा १७ घन्टा र टेकु सवस्टेसनमा १२ घन्टा लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, चालू वर्षको सोही महिनामा बानेश्वर सवस्टेसनमा १९ घन्टा, लैनचौर सबस्टेसनमा ४.२५ घन्टा र टेकु सवस्टेसनमा ६ घन्टा मात्र लाइन काटिएको छ । माग र आपूर्तिको सन्तुलन राम्रोसँग मिलेको तथा वितरण प्रणालीको सुधार पनि हुँदै गएकाले आगामी वर्षहरुमा यसमा अझ सुधार हुने उनको भनाइ छ ।
ऊर्जा सविच दिनेश घिमिरेले विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र गुणस्तरीय बनाउने जिम्मेवारी प्राधिकरणको रहेको बताउँदै यसमा प्राधिकरणको सकृयता बढेको बताए । उनले माग र आपूर्तिबीचसन्तुलन भएकाले लोडसेडिङको कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्