नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला «

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

काभ्रे- प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघका इकाई सभापति कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रमअन्तर्गत सोमबार नेविसंघ काभ्रेले बनेपाको टेलिकम चोक र रेम्बो फोटो स्टुडियो चोकमा पुत्ला जलाएको हो ।
नेविसंघ काभ्रेका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा विभिन्न नारासमेत लगाइएको थियो । यस्तै, नेविसंघ काभ्रेले आह्वान गरेको हड्तालका कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् । नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाईको माग गर्दै आइतबार र सोमबार काभ्र्रेका सबै विद्यालय बन्दको घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यमिक विद्यालयका नेविसंघ इकाई सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले विभिन्न कार्यक्रम घोषणा गरेको छ । नेविसंघले प्रत्येक जिल्लामा २८ गते २ घण्टा चक्काजाम गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्