कोरोनाको मारमा पत्रकार : महासंघ «

कोरोनाको मारमा पत्रकार : महासंघ

कोरोना भाइरस संक्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको नेपाल पत्रकार महासंघको अध्ययनले देखाएको छ ।
कोरोनाको बहानामा सन् २०२० मा नियमित सेवा सुविधा उपलब्ध नहुने, बेतलबी बिदामा बस्नुपर्नेलगायत समस्या पत्रकारले झेल्नुपरेको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । महासंघको तथ्यांक अनुसार कोरोनाका कारण ७ जना पत्रकारले ज्यान गुमाएका छन् । ४७० जना पत्रकार कोरोनामुक्त भएका छन् । यस्तै संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल नै नगरेको महासंघले जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिअनुसार सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकसहित सञ्चारसम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु रहेका छन् ।
यसैबीच, महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्बर ३१ सम्मको एक वर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गएको वर्ष अर्थात् सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना भएका थिए ।
अभिलेख अनुसार सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन् । त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् । यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका छन् ।

प्रतिक्रिया दिनुहोस्