पहिलो उज्यालो पालिका बन्दै पातारासी «

पहिलो उज्यालो पालिका बन्दै पातारासी

जुम्लाका आठै स्थानीय तहमध्ये पातारासी गाउँपालिका विद्युत्मा आत्मनिर्भर पालिका हो ।
स्थानीय सरकार आएपश्चात पातारासीका गाउँगाउँमा १५ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । १५ देखि १ सय किलोवाटसम्मका १५ आयोजना निर्माण भई सञ्चालन भएपछि पातारासी दुर्गम बस्ती झिलिमीली भएका छन् भने, जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको छ ।
पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटकै तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजना निर्माण भएका छन् ।
साथै, तली लोर्पामा ५ किलोवाट, लाम्रीमा ९ किलोवाट, महरीमा ६ किलोवाटको विद्युत् आयोजना गरी पातारासी गाउँपालिकामा १५ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालन भएका हुन् । १५ वटा विद्युत् आयोजनामध्ये ११ वटा आयोजनाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।
घरघरमा बत्ती पुगेसँंगै टुकीकै भरमा दिन गुजारिरहेका पातारासीका १७ हजार बढी नागरिकले खुसी व्यक्त गरेका छन् । स्थानीय ताराबहादुर बोहोराले भने, “विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हट्यो । बालबालिकाले सहज रूपमा पढ्न पनि पाएका छ् । बन्द रहेका फर्निचर उद्योग तथा साना जडिबुटी उद्योग पनि सञ्चालन हुने अवस्थामा पुगेका छन् ।”
विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको पातारासीले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको अध्यक्ष लछिमन बोहोराको दाबी छ । अध्यक्ष बोहोरा भन्छन्, “गर्भ गर्ने खालको विकास भनेकै हामीले विद्युत्को क्षेत्रमा गरेका छौं । साढे तीन वर्षमा पालिकाभरिका करिब २७ बस्तीका ३४ सय घरधुरीलाई विद्युत्को पहुँचमा पु-याउन सफल भयौं ।”
सडक, खानेपानी, कृषि, जडिबुटीका क्षेत्रमा काम नभएको भन्ने हैन । तर देखिने खालको विकासको महसुस हुनेगरी विद्युत् क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गरेकोमा अध्यक्ष बोहोराले खुसी व्यक्त गरेका छन् । पातारासीका १ देखि ७ नम्बर वडाका बस्तीबस्तीमा ५ देखि १ सय किलोवाटसम्मका विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा भन्छन्, “पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै बेहोर्ने गरी पालिकाभरिका ३४ सय घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरेका छौं ।”
पातारासीमा पानीको स्रोत पर्याप्त भएकाले स्थानीय सरकारको लगानी र प्राथमिकता पनि जलविद्युत्मै प-यो । जसका कारण अन्य क्षेत्रको विकासभन्दा विद्युत् क्षेत्रको विकास प्रभावकारी भयो भने, अन्य विकास भन्दा नागरिकले विद्युत्बाट संघीयताको महसुस गरेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाइ छ ।
साथै १ मेगावाट चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि पातारासी गाउँपालिकाले २ करोड सेयर लगानी गरेको छ । चालू आवमा जिल्लामै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा जुटेको अध्यक्ष बोहोराको भनाइ छ । विद्युत् अवरुद्ध भएका १-२ बस्तीमा लाइन विस्तार तथा ट्रान्समिटर जडान कार्यलाई अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्