Logo

प्रदेश १ मा १५ जना सांसद निलम्बित

विराटनगर-नेकपा दाहाल–नेपाल समूहका १५ जना सांसदलाई संसदीय दलका नेता शेरधन राईले ३ महिनाका लागि निलम्बन गरेका छन् ।
नलम्बनमा परेका सांसदहरूमा टंक आम्बुहाङ, राजेन्द्रकुमार राई, सावित्रा रेग्मी, कुलप्रसाद साम्बा, लीलाबल्लभ अधिकारी, इन्द्रबहादुर आङ्वो, मोहनकुमार खड्का, भीमप्रसाद आचार्य, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धीरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी, विजयकुमार विश्वासलगायत रहेका छन् ।
यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दाहाल–नेपाल समूहका ३७ जना सांसदमध्ये प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले १९ जना सांसदलाई स्पष्टीकरण सोधेकोमा ४ जनाले मौखिक जवाफ दिएका छन् । अन्य सांसदले कुनै जवाफ नदिएपछि कारबाहीस्वरुप निलम्बन गरिएको उनले बताए । दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम तीन महिनाका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ । दाहाल–नेपाल समूहले मुख्यमन्त्रीमा भीम आचार्यलाई अघि सारेको छ । यसअघि शेरधन राईसँग संसदीय दलको नेतामा आचार्य पराजित भएका थिए ।
यसैबीच, नेकपा दाहाल–नेपाल समूहले प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश–१ मा नेकपाका ६७ सांसद छन् । उनीहरूमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टीकरण सोधेपछि आकस्मिक संसदीय दलको बैठक बोलाइएको थियो ।
बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनै पनि काम नगर्न सूचित गरेको भए पनि मुख्यमन्त्रीले स्पष्टीकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेकाले आकस्मिक बैठक बोलाएको नेता आङ्बुहाङले जानकारी दिए । “सांसदहरूलाई स्पष्टीकरण सोध्ने र धक्याउने काम भएपछि उहाँलाई दलको नेताबाट हटाएका हौं,” उनले भने । बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको उनको भनाइ छ । दलका उपनेता आङ्बुहाङले प्रदेश–१ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरूले निष्काशन गरेको पत्र दर्ता गराएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेशसभामा नेकपाको दलको नेता परिवर्तन भएको जानकारी पत्र दर्ता भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्