नेविसंघमा विधिवत् महाधिवेशनको माग «

नेविसंघमा विधिवत् महाधिवेशनको माग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समूहले विधिवत् महाधिवेशनको माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै काफ्लेले संघको १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरे ।
यही कात्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशन पनि अन्योलमा परेको छ । सभापति देउवाले संघको विधानमा ३२ वर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि अब अहिलेको समिति भंग गर्दै नयाँ समिति ल्याउने तयारीमा सभापति देउवा पक्षधर लागेको काफ्ले समूहको आरोप छ । “आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत् दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्न चाहन्छौं,” पत्रकार सम्मेलनमा काफ्लेले भने, “टीके प्रथाले आम विद्यार्थी र संगठनको भलो गर्न सक्दैन । टीका लगाएर नेतृत्व चयन गरिए आन्तरिक लोकतन्त्र संस्थागत गर्नका लागि जस्तोसुकै आन्दोलनमा होमिन तयार छौं ।” तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।
आफूहरुले उमेर हदका बारेमा केही नबोलेको बताउँदै काफ्लेले विधिवत् महाधिवेशन हुनुपर्ने आफ्नो जोड रहेको बताए । पार्टीले नेविसंघलाई ‘बुम-याङ’मा पारेको उनको आरोप थियो । नेविसंघले ११औं महाधिवेशनमा पारित गरेको विधानमा केन्द्रीय समितिको कार्यकाल २ वर्षको हुने र बढीमा ३ महिना थप गर्न पाउने व्यवस्था गरेको छ । त्यसपछि समिति स्वतः भंग हुने व्यवस्था गरेको छ । जसअनुसार यही मंसिर २ गते अहिलेको कार्यसमितिको कार्यकाल सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्