प्रधानमन्त्री रोजगार कार्यक्रमका दुई लाख श्रमिकको बिमा «

प्रधानमन्त्री रोजगार कार्यक्रमका दुई लाख श्रमिकको बिमा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने करिब दुई लाख श्रमिकलाई बिमाको दायरामा ल्याएको छ । रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा सूचीकृत भएर रोजगाररत श्रमिकका लागि ७ लाख रुपैयाँ बराबरको सामूहिक कार्यस्थल दुर्घटना बिमा सुरु गरिएको हो । बिमाका लागि मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबी पुस १ गते सम्झौता भएको थियो ।
बिमा योजनाअनुसार अब प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाउने नेपालीले ७ महिनाभित्र कार्यस्थलमा दुर्घटना भए बिमा रकम पाउने छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिमाका लागि आवश्यक पर्ने १ करोड ९५ लाख बिमा शुल्क भुक्तानी गरिसकेकोे छ । चालू आर्थिक वर्षको पुस १ गतेबाट लागू सो बिमा साउनसम्म मान्य हुने मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले जानकारी दिए । “रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटाइएको १०० दिन अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बिमा गरिएको हो,” प्रवक्ता पाण्डेले भने, “कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडबाट प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बिमालेख तयार गरी श्रमिकको सामूहिक बिमा गरिएको हो ।” यद्यपि यो बिमा कार्यक्रम भने ७ महिनाभित्र विभिन्न समयमा सयष् दिन रोजगारी गर्ने श्रमिकका लागि मात्र मान्य हुने छ । यो बिमामा मृतक दुर्घटना, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपांगता तथा असशक्ततामा प्रतप्रतिशत पाउने गरी समावेश गरिएको छ ।
स्थायी पूर्ण असशक्तता भएमा सात लाखसम्मको जोखिम बहन बिमा लेखमा समावेश गरिएको छ । बिमा शुल्क वापतको सम्पर्ण रकम श्रम मन्त्रालयले बेहोर्ने जनाइएको छ । यो बिमा कार्यक्रम एक वर्षअघिदेखि नै लागू गरिए पनि चालू आर्थिक वर्षको पुसबाट कार्यान्वयनमा आएको हो ।
संलग्न बिमा सम्झौताको प्रावधानबमोजिम बिमितको बिमा रकम भुक्तानीका लागि स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रले सहयोग गर्ने जनाइएको छ । स्थानीय तह, रोजगार सेवा केन्द्रबाट श्रमिक काममा खटाउँदा अनिवार्य रूपमा लाभग्राही परिचयपत्र उपलब्ध गराइ, काममा खटिएको विवरण प्रविष्ट गरेर मात्र बेरोजगार व्यक्तिलाई रोजगारीमा खटाउनु पर्नेछ । बिमितले बिमा रकमको भुक्तानी राष्ट्रिय बिमा कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय वा शाखा तथा उपशाखा कार्यालयबाट चेक वा बैंक खातामार्फत समेत लिनसक्ने व्यवस्था समेत मिलाइएको छ ।
रोजगारीका क्रममा दुबै हात, दुबै खुट्टा, एउटा हात, एक खुट्टा, दुबै आखाको दृष्य शक्ति पूर्ण क्षति, पूर्ण उपचार नहुने पागलपन भएमा शतप्रतिशत बिमांक रकम प्राप्त गने जनाइएको छ । यसैगरी खुट्टा र हातका अन्य क्षेत्रमा क्षति पुगेमा पनि तीनदेखि ६० प्रतिशत रकम पाउन सकिने उल्लेख छ ।
यो बिमामा कुनै पनि मूल्य अभिवृद्धि कर रकम नलाग्ने जनाइएको छ । बिमाको लागि आवश्यक बिमाशुल्क मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई भुक्तानी गर्नेछ भने बिमितको दाबी भुक्तानी राष्ट्रिय बिमा कम्पनी लिमिटेडले यस मन्त्रालयको सिफारिसमा सम्बन्धित बिमित सदस्यलाई गर्ने जनाइएको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले काठमाडौंमा रहेको केन्द्रीय कार्यालयलगायत देशभर रहेका आफ्ना १६ वटा शाखा कार्यालयबाट बिमित श्रमिकलाई सेवा दिनुपर्ने उल्लेख छ । बिमित श्रमिकलाई चेक वा बैक खातामार्फत भुक्तानी दिईने जनाईएको छ । बिमा दाबी भुक्तानीको लागि आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको १५ दिनभित्र दाबी एकीन गरी भुक्तानी दिइने जनाइएको छ । सरकारले चालू आर्थिक वर्षका लागि ५६९ स्थानीय तहलाई बेरोजगार व्यक्तिको संख्याका आधारमा कात्तिक २५ गते ३ अर्ब रुपैयाँ सशर्त अनुदान पठाउन अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्