कोदो खेती लोप हुँदै «

कोदो खेती लोप हुँदै

तीन दशकअघि पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदोखेती अहिले लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।
तीन दशकअघि पाल्पाको पश्चिमी भेगका तत्कालीन सत्यवती, कचल, ज्यामिरे, बल्ढेङ्गढी, भुवनपोखरी गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । यस्तै पूर्वी भेगका अर्चले, मित्याल, जल्पा, रिङ्नेरह, बहादुरपुर, बाकामलाङ्, सहलकोट, झिरुबासलगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । तर अहिले कोदो खेती पुरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले पाल्पाको सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको किसानहरूको भनाई छ ।
“पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,” पूर्वखोला–२, खेवीनगरकी सीता थापाले भनिन्, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।” उनले अहिले घरका लागि आवश्यक पर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताइन् । अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको रिङ्नेरहकी किसान नन्दाकुमारी श्रेष्ठले बताइन् ।
जिल्ला कृषि विकास कार्यालय पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुन सकेको छैन । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्