माग घटेपछि २०२२ देखि होन्डा रुसी बजारबाट हट्ने «

माग घटेपछि २०२२ देखि होन्डा रुसी बजारबाट हट्ने

मस्को-२०२२ देखि रुसका डीलरहरुले होन्डा कारको आपूर्ति पाउने छैनन् । रुसमा होन्डा कारको माग ओरालो लागेकाले रुसमा होन्डा कारको अपूर्ति रोक्न लागिएको अटो निर्माता होन्डाले जनाएको छ ।
यद्यपि रुसी बजारमा मोटरसाइकल र उर्जा उपकरणको बिक्री सहित होन्डाले आफ्नो उपस्थिति भने कायमै राख्ने कम्पनीले जनाएको छ । तर, होन्डा कारका मालिकहरुलाई बिक्री भइसकेका सवारीका लागि सेवा भने कायमै राखिने छ ।
कोरोना महामारीका कारण गिर्दो बिक्रीबाट परेको असरमा यसले राहात दिने कम्पनीले जनाएको छ । रुसमा नोभेम्बरमा वार्षिक मापनका आधारमा होन्डा कारको बिक्री ५० प्रतिशतले घटेको छ । कम्पनीले गत महिना ७९ कार मात्रै बिक्री गरेको थियो ।
यो वर्षको ११ महिनाको अवधिमा होन्डाले रुसमा १ हजार ३८३ सवारी बिक्री गरेको थियो । यो २०१९ को सोही अवधिको तुलनामा १५ प्रतिशत कम हो ।
कोरोना महामारीपूर्वनै जापानी कम्पनीको रुसमा भएको बिक्री ओरालो लाग्न सुरु भइसकेको थियो । २०१९ मा पनि ६४ प्रतिशतले ओरालो लागेको थियो । उक्त वर्ष केबल १ हजार ८३६ कार मात्रै बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्