एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता «

एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता


नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।
सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रीडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (१९५ मिलियन अमेरिकी डलर बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (३९ मिलियन अमेरिकी डलर बराबर) नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरण हो ।

प्रतिक्रिया दिनुहोस्