Logo

कर्णाली प्रदेशका दुई ठूला विमानस्थलको स्तरोन्नति हुने

जुम्ला-कर्णाली प्रदेशका दुई ठूला विमानस्थलको स्तरोन्नति हुने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवालाई गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्न लागेको हो । प्रदेशको राजधानी सुर्खेत विमानस्थललाई प्रदेशस्तरको सुविधासम्पन्न विमानस्थल र दोस्रो ठूलो तथा सुरक्षित जुम्ला विमानस्थल बनाउन विमानस्थल विस्तार तथा स्तरोन्नति प्रक्रियाअघि बढेको छ ।
सदरमुकामस्थित जुम्ला विमानस्थल विस्तारका लागि प्रक्रिया अघि बढेको छ । प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्र बनाएको छ । चालू आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तारको काम सुरु हुने प्राधिकरणले जनाएको छ । साविक कर्णालीका पाँच जिल्लामध्ये सबैभन्दा बढी चाप हुने जुम्ला विमानस्थल विस्तारका लागि संघीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण, जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए ।
उनका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको उनले जानकारी दिए । सर्भेको क्रममा डोनबाट पनि सर्भे गरिएको उनको भनाइ छ । चालू आवमै विस्तार गरिने छ । विमानस्थल विस्तार पश्चात जुम्लाबासीको हवाइयात्रा सहज र विस्वसनीय हुनेछ ।
अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेका छन् । विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज चल्ने आशा गरिएको स्थानीय कमल देवकोटाले बताए । उता सुर्खेत विमानस्थललाई पनि एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने गरी विकास एवं विस्तार गर्ने प्रदेश सरकारको निर्णय छ । तर स्थानीयले भने, जग्गाको मुआब्जा पाउने विषय टुंगो नलागेसम्म सुर्खेत विमानस्थल विस्तार गर्न नदिने अडान राखेका छन् ।

नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने बैठकमा निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका निर्देशक प्रदीप अधिकारीले बताए । उनका अनुसार मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकममध्ये ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले बेहोर्ने छ ।

सिमकोट–नेपालगन्जको भाडा घट्योे
हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लाको सिमकोटदेखि नेपालगन्जसम्मको भाडा दर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगन्जसम्मको ६ हजार ५ सय ९५ भाडा लिँदै आएकोमा घटाएर अहिले ५ हजार ३ सय रुपैयाँ कायम गरिएको एयरलाइन्सका सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार नेपालगन्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण हुम्लामा गत बुधबारबाट भाडा घटाइएको हो ।
पहिला लगभग १० हजार भाडा रहेको नेपालगन्जदेखि सिमकोटसम्म सात हजार ९ सय रुपैयाँ भाडा कायम गरिएको छ । एयरलाइन्सले हुम्लामा साताको १ दिन सोमबार उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्