मुस्ताङको पर्यटन क्षेत्र खुलाउन म्याग्दी होटल व्यवसायी संघको माग

म्याग्दी- कोरोना भाइरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन व्यवसाय खुलाउन म्याग्दीका होटल व्यवसायीले माग गरेका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल व्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले लगडाउन खुलाएको अवस्थामा मुस्ताङले आजसम्मपनि कोभिडको कारण देखाएर बन्द अवस्थामा रहेको पर्यटन क्षेत्र खुलाउनका लागि होटल व्यवसायीले प्रशासनसँग समन्वयको माग गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बुझाएका छन् ।
बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाएका मुस्ताङवासी विभिन्न काममा जिल्लाबाहिर आवाज–जावत तथा व्यापार व्यवसाय गर्ने कार्यहरू भइरहेको जानकारी गराउँदै म्याग्दीसँगै जोडिएको मुस्ताङको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकलाई खुला आवात–जावतको व्यवस्था मिलाउन लागि आग्रह गरेको अध्यक्ष आचार्यले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले– देशव्यापी रूपमा धार्मिक, पर्यटन, यातायात तथा सेवा क्षेत्र खुलेको अवस्थामा मुस्ताङमा स्वास्थ्य मापदण्ड पालना गरेर लगडाउनलाई हटाउन सहजीकरण गर्ने बताए । उनले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई सरोकारवालाहरूलाई सहजकारीकरण गरेर छिटो पर्यटन क्षेत्र खुलाउन आग्रह गरेको बताए ।
लगडाउन खुलेको अवस्थामा मुस्ताङका सरोकारवाहरूले सुरक्षा रणनीति अपनाएर खुलाउन भने पनि मुखियाहरूले अस्विकार गर्दै होटल ब्यवसायी तत्काल खोल्न नदिएको खोल्नेलाई जरिवाना गरेको मुस्ताङको प्रजिअबाट जानकारी भएको अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङको प्रजिअले जनप्रतिनिधि, स्थानीय तह, मुखिया र होटल व्यवसायीसँग छलफल गरेर प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र खुलाउने प्रतिबद्धता दिएको अधिकारीले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्रसंगै होटल ब्यवसाय खुले पनि मुस्ताङको पर्यटन व्यवसाय नुखल्दा होटल क्षेत्र सुनसानले ब्यवसायीलाई भाडा तिर्न नसक्ने अवस्थाले विस्तापित हुने समस्या बढेको संघका पूर्वअध्यक्ष गोपाल पौडेलले बताए । मुस्ताङको पर्यटन व्यवसाय खुलाउनमा ढिलाइ गरेमा चरणबद्ध आन्दोलनसँगै आवात–जावतमा यातायात सेवा रोक्ने होटल ब्यवसायीको आगामी योजना छ ।