काँचो मःम बेचेरै मासिक ३० हजार आम्दानी «

काँचो मःम बेचेरै मासिक ३० हजार आम्दानी

बिर्तामोड-झापा भद्रपुर नगरपालिका–६ का सन्देश रिजाल उरी मःम फर्म बिर्तामोडका सञ्चालक हुन् । उनी काँचो मःम बेचेरै मनग्ये आम्दानी गर्छन् । कनकाई क्याम्पस बिर्तामोडमा स्नातक तह तेस्रो वर्ष पढ्दै मःम बेच्न सुरु गरेका रिजाल बजारसम्म आफैं मःम पुराउँछन् । रिजाल अहिले पनि कनकाई क्याम्पस बिर्तामोड स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् ।
तीन लाखको लागतमा फर्म सञ्चालनमा ल्याएको बताउने रिजालले यो व्यवसाय सुरु गरेको तीन वर्ष भयो । दुई पटकसम्म कोरिया जान ईपीएस परीक्षामा अनुत्तीर्ण भएपछि मःम व्यवसाय सुरु गरेको रिजालले बताए । उनले भने, “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जानबाट वञ्चित भएँ, त्यस पश्चात बिर्तामोडमा मःम फर्म खोलें ।” रिजालले कोरियन भाषाबाटै फर्मको नाम उरी मःम राखेका हुन् । ‘उरी’ को नेपाली अर्थ हाम्रो हुन्छ । कोरियन भाषाको परीक्षमा असफल भएपछि फर्मको नाम कोरियन भाषाबाटै राखेको उनले सुनाए । आफ्नै ठाउँ र देशमा बसेर कोरियाको जस्तै कमाइ गर्न सफल भएका छन् रिजाल । फर्मबाट रिजालमात्र स्वरोजगार बनेनन् । उनले स्थानीय १२ जनालाई समेत रोजगार दिन सफल भएका छन् । आफू अध्ययनरत क्याम्पसनजिकै फर्म सञ्चालनमा ल्याएका रिजालले पढाइ र व्यवसायलाई एकैसाथ अघि बढाएका छन् । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भन्ने सोच विकसित भएपछि फर्म सञ्चालनमा ल्याएको रिजालले बताए ।
उरी मःम अहिले झापाकै लोकप्रिय मःम बनेको छ । झापाको बिर्तामोड, सुरुङ्गा, भद्रपुर, चन्द्रगढी, चारआली, अर्जुनधारा, दमकसम्म मःम लिएर रिजाल आफैं जाने गर्छन् । कर्मचारीलाई तलब खुवाएर र खर्च कटाएर मासिक ३० हजार बचत गर्न सफल हुने गरेको उनले सुनाए । कोरिया जाने सपना बोकेर काठमाडौं छिरेका रिजाल काठमाडौंमा मःमः व्यवसाय राम्रोसँग चलेको देखेपछि व्यवसायप्रति आकर्षित भएका हुन् । त्यसपछि झापा फर्केर मःम व्यवसाय नै सुरु गरेको उनी बताउँछन् । अहिले उनको आम्दानीको मुख्य स्रोत नै मःम हो । मःमबाट राम्रो आम्दानी गरेको देखेपछि रिजालसँग व्यवसायबारे सल्लाह लिन आउने पनि बढेका छन् ।
रिजालले झापाका सबै डिर्पाटमेन्टल स्टोरमा उरी मःम पुराउने प्रक्रिया अघि बढाएका छन् । उरी मःमलाई ब्रान्डको रूपमा विकसित गर्ने लक्ष्य राखेको रिजालले सुनाए । “फर्ममा सात युवा र पाँच युवतीलाई रोजगार दिएको छु,” उनले भने, “समय सापेक्ष व्यवसाय गर्न सके धन कमाउने आसमा कोही पनि विदेशिनु नपर्ने रहेछ ।” अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउनु नै आफ्नो मुख्य सफलता भएकोे उनले बताए । उरी मःम फर्ममा तयार पारिएको मःमः पर्यटकीयस्थल तथा विद्यालयमा समेत बिक्रीका लागि पुराउने गर्छन् ।
रिजालले प्रतिप्लेट काँचो मःम २० रुपैयाँमा बिक्री गर्दै आएका छन् । “र्फममा दैनिक करिब १२ सय प्लेट मःमः तयार हुन्छ,” उनले भने, “एक्लै व्यवसाय गर्नेलाई तयार भएको मःम बनाएर बेच्न सजिलो हुन्छ, सबैले उरीलाई रुचाउनु भएको छ यसले गर्दा उरी मःम लोकप्रिय बनेको हो ।” मःम बनाउन दैनिक ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ ।
सुरुवाती दिनमा बाइकको पछाडि मःम बोकेर बेच्न हिँड्दा साथीले समेत जिस्काउने गरेको उनी सम्झन्छन् । मःम बेचेरै सफल भएको देखेपछि अहिले साीथहरू व्यवसायबारे सल्लाह लिन रिजालसमक्ष पुग्ने गरेका छन् । उनले अहिले पिठो मुछ्ने, किमा तयार पार्ने मेसिनसमेत राखेका छन् । सफा र ताजा मःम आफ्नो र्फमको विशेषता रहेको रिजालको भनाइ छ ।
उरी मःमलाई मानिसले जति रुचाउँछन् त्यति नै सन्देशको जीवनस्तरमा पनि उरी मःमले परिवर्तन ल्याएको छ । फर्म तथा उद्योग व्यवस्थापनमा सरकारी नीति बनेको छ । तर, स्थानीयस्तरमा खुलेका यस प्रकारका फर्मको व्यवस्थापनमा स्थानीय सरकार र सरोकारवालाको ध्यान पुग्न आवश्यक देखिन्छ ।
मनिषा चम्लागाईं

प्रतिक्रिया दिनुहोस्