जुनेलो र फापरको व्यावसायिक खेती «

जुनेलो र फापरको व्यावसायिक खेती

बजारमा माग बढेसँगै उदयपुरका किसान किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । डुम्रे, आँपटार, पोखरी, लाफागाउँ, बलम्ता, ताम्लिछालगायतका रौतामाई र उदयपुरगढी गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक जुनेलो र फापर खेतीमा लागेका हुन् ।
पछिल्लो समय बजारमा जुनेलो र फापरको माग निकै बढेको छ । विशेष गरी सहरीया उपभोक्ताले जुनेलो र फापरको माग गर्न थालेपछि ग्रामीण क्षेत्रमा त्यसको व्यावसायिक खेती सुरु गरिएको हो । “दुई÷चार वर्ष अघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुको रूपमा हेरिन्थ्यो,” पोखरीका किसान हेम मगरले भने, “जुनेलो र फापर लोप हुन थालेको अवस्थामा पछिल्लो समयमा यसले बजार पाएको छ ।” उनले पोखरी क्षेत्रमा जुनेलो बढी फल्ने गरेको बताए ।
उदयपुरका ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने जुनेलो र फापर खोज्न व्यापारीहरू घरघरमै पुग्ने गरेका छन् । यसले बजारको कुनै समस्या नभएको किसानहरू बताउँछन् । मगरले अहिले झन्डै ५ रोपनी जग्गामा जुनेलो खेती गरेका छन् । अब केही समयपछि जुनेलो तयार हुने उनले बताए । उत्पादन हुनु अघि नै उनले मूल्य निर्धारण गरेर ५ हजार रुपैयाँ बैनासमेत लिइसकेका छन् ।
उदयपुरमा उत्पादित फापरको पनि माग निकै बढेको छ । विशेष गरेर उपभोक्ताले तितेफापर खोज्ने भएकोले किसानले पनि तितेफापरकै खेती बढाएका छन् । “पहिले–पहिले गाउँघरमा सागका लागि तितेफापर लगाउने गरेका किसान अहिले त्यसलाई व्यावसायिक बनाएका छन् । “हाम्रो बारीमा पहिले तितेफापर फल्दैन थियो,” लाफागाउँकी गोमा थापाले भनिन्, “आफैंले रोटी खानका लागि मिठेफापर लगाइन्थ्यो, तर दुई वर्षयता तिते फापरको माग बढेसँगै त्यसैलाई प्राथमिकता दिएर खेती गर्ने गरेका छौं ।”
“घट्टामा पिँधेको फापरको पिठोसँग चामल साटिन्छ,” आँपटारको रौतापोखरीमा भेटिएका ताम्लिछाका नरमान विश्वकर्माले भने, “मेरो त पछिल्लो समय व्यवसाय नै परिर्वतन भएको छ ।” आरनको काम छोडेर गाउँको घट्टामा फापर पिँधेर गाईघाट बजार लगेर बिक्री गर्ने गरेको उनले बताए ।
बजारमा धानको मूल्य प्रतिकेजी २५ रुपैयाँ छ । एक पाथीमा करिब ४ केजी हुन्छ । यसरी मूल्यांकन गर्दा एक पाथी धानको १ सय रुपैयाँ पर्छ । तर गाउँमा उत्पादित फापर एक पाथीकै १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको डुम्रेका किसान भक्तबहादुर मगरले बताए ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जुनेलो र फापरका उपभोक्ता बढेकाले मूल्य पनि बढेको बताए । “उच्च रक्तचाप र मधुमहेका बिरामीले बढी प्रयोग गर्ने गरेकाले माग बढेको हो,” उनले भने, “माग बढेपछि मूल्य पनि बढ्नु स्वभाविकै हो ।”

प्रतिक्रिया दिनुहोस्