Logo

तरकारीको मूल्य आकासियो

तेह्रथुमः दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो तीनमा पाइने बन्दागोभीको मूल्य बढेर १६ पुगेको छ ।

चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य १५ पुगेको छ । त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् । तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताए । मुख्य आम्दानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् । बन्दागोभी, काउली र मुला बिक्री गरेर लाखौं रुपैयाँ हात पारिरहेका छन् ।

अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारीखेतीमा लागेका किसानका लागि चाडबाडको समयमा हुने तरकारीको मूल्य वृद्धिले फाइदा पु¥याएको छ । जिल्लाको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा र वसन्तपुर, संखुवासभाको तामाफोक र मामलिङ तथा धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवा दिन, मूर्तिढुंगा, ताङखुवा, भीरगाउँ, पाख्रिबास, तेलियालगायतका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् ।

बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरेसम्मका सडकका दायाँबायाँका हजारौं रोपनीमा बेमौसमी तरकारी खेती गरिएको छ । यस क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी धरान, विराटनगर, विर्तामोड, नारायणघाट, वीरगन्जलगायतका बजारमा बिक्री हुन्छ ।

प्रतिक्रिया दिनुहोस्