Logo

कोरोनाकै समयमा २ उद्योग सञ्चालन

भैरहवा-कोरोना महामारीकै समयमा नवलपरासीमा सवा अर्ब रुपैयाँ लगानीका दुई उद्योग सञ्चालनमा आएका छन् । नवलपरासी रामग्राम नगरपालिका–१५ मा टेन स्टिल्स प्रालि र सोही नगरको वडा नम्बर १२मा मारुती फुडपार्क स्थापना भई कोरोना महामारीकै समयमा उत्पादन समेत गरी बजार पठाइसकेका छन् । टेन स्टिल्समा ६२ करोड ५० लाख रुपैयाँ र मारुती फुड पार्कमा ६३ करोड रुपैयाँ लगानी रहेको छ ।
कोरोना महामारी सुरु भएपछि सञ्चालनमा आएका यी दुई उद्योग लुम्बिनी प्रदेशकै पहिलो उद्योग हुन्, जसले कोरोना महामारीकै समयमा उद्योग स्थापना गरेर सञ्चालनमा ल्याउन सफल भएका हुन् । दुवै उद्योगमा १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको लगानी छ ।
“उद्योग स्थापना गरेलगत्तै कोरोनाको संक्रमण सुरु भयो, चैत्र महिना भरी काम गर्न पाइएन, पछि प्रशासनको अनुमतिमा कामदारहरुलाई उद्योग परिसरमै राखेर काम निरन्तर भयो, ईन्जिनियर, प्राविधिकहरु पहिला देखिनै निर्माण स्थलमा थिए, त्यसैले पनि समस्या भएन र काम सम्पन्न गरी कात्तिकमा उत्पादन बजार पठाउन सक्यौं ।” टेन स्टिल्स प्रालिका प्रबन्ध निर्देशक धिरज अग्रवालले भने । टेन स्टिल्सले अहिले एमएस पाइप उत्पादन गरीरहेको छ र यस्को बजार देशैभर रहेको छ ।
टेन स्टिल्समा ८५ प्रतिशत सेयर परीवारकै सदस्यको रहेको छ । अग्रवालका बुबा अनिल अग्रवाल कम्पनीका अध्यक्ष हुन् । अजय जालान, अनुप यादव र अमरचन्द्र अग्रवाल सञ्चालकमा अजय जालान निर्देशक, अनुप यादव, अमरचन्द्र अग्रवाल रहेका छन् । कोभिड समस्याका कारण उद्योगमा अतिरिक्त व्ययभार २ करोड थपिएको छ । कोरोना महामारीका कारण धेरैले रोजगार गुमाएको समयमा यो उद्योगले १ सय जनालाई रोजगार दिएको छ । अमेरीकी र जर्मन प्रविधिको प्रयोग उद्योगमा छ । वार्षिक उत्पादन क्षमता ५० हजार टन छ । भारत निर्यातको पनि तयारी कम्पनीले गर्दैछ ।
त्यसैगरी सोही समयमा उद्योग स्थापना गरेर उत्पादन थाल्ने अर्को उद्योग हो मारुती फुड पार्क हो । यो उद्योगको गत वर्षको नोभेम्बरमा काम सुरु भएको थियो । काम सुरु भएको २ महिना नबित्दै कोरोनाले काम गर्न समस्या भयो । ६३ करोडको लगानी भएको उद्योग सुरु हुन नपाउँदै काम नहुँदा सञ्चालकलाई लगानी डुब्ने चिन्ता भएको मारुती फुडपार्कका प्रबन्ध निर्देशक विरेन्द्र अग्रहरीले बताए ।
“हामीले हिम्मत हारेनौ, कोरोना महामारीसँग बच्दै कामलाई निरन्तरता दियांै, जिल्ला प्रशासन कार्यालयबाट सहयोग पाएपछि लकडाउन सुरु भएको २ हप्तामै काम सुरु गरी यस वर्षको तिहारमा उद्योग सञ्चालनमा ल्याएर उत्पादित चामल बजारमा पठाउन सफल भयौं ।” प्रबन्ध निर्देशकले अग्रहरीले भने । यो फुड पार्क धान क्रसिङ गर्ने नेपालको सबैभन्दा ठूलो सिंगल युनिट हो ।
मारुती फुडपार्कको अहिलेको धान क्रसिङ क्षमता प्रतिघन्टा १२ टन रहेको र छिटै १२ टन थप क्रसिङ गर्न सकिने प्रविधि जडान गर्ने प्रबन्ध निर्देशक अग्रहरीले बताए । मारुती फुडपार्कमा १५ महिना भित्र रिफाइनरी उद्योग (तेल मिल) समेत सञ्चालन गर्ने योजना अघि बढाइएको अग्रहरीले बताए ।
उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाएका छन् । उद्योगका सञ्चालकहरुमा अग्रहरी र अग्रवाल बाहेक, धनपत यादव, विनोद अग्रहरी र उर्मिला अग्रहरी छन् ।

प्रतिक्रिया दिनुहोस्