Logo

मकवानपुरका ८ प्रतिशत लाभग्राही अझै सम्पर्कविहीन

पुनर्निर्माण प्राधिकरणको ५ वर्ष
हेटौंडा-
२०७२ सालको भूकम्पबाट क्षति भएका निजी तथा सार्वजनिक निर्माण गर्न गठित राष्ट्रिय पुनर्निर्माण आयोगले ५ वर्ष पूरा गरिसक्दा पनि काममा भने तीव्रता दिन सकेको छैन । मकवानपुर जिल्लामा पुनर्निर्माणको अवस्था सन्तोषजनक छैन ।
मकवानपुरमा निजी आवास पुनर्निर्माणका लागि पहिचान भएकामध्ये ८ प्रतिशत लाभग्राही अझै सम्पर्कमा आएका छैनन् । अर्थात् उनीहरूसँग आयोगले पुनर्निर्माणको सम्झौतासमेत गर्न सकेको छैन । जिल्लामा ३४ हजार एक सय ८८ निजी आवास निर्माण गर्नुपर्ने सूची निकालिए पनि हालसम्म ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशतसँग मात्र सम्झौता गरिएको छ । सम्झौता गरेर पनि निर्माण सम्पन्न नगर्नेको संख्या झनै धेरै छ । पहिचान भएका ३४ हजार एक सय ८८ लाभग्राहीमध्ये हालसम्म २२ हजार एक सय ५ वटा मात्र निजी आवास निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपीले जानकारी दिए ।
बस्ती जोखिममा परेका २६ परिवारमध्ये २२ परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको पनि आयोजना कार्यान्वयन इकाईले जनाएको छ । त्यस्तै ६१ प्रिवार भूमिहीन लाभग्राहीलाई अन्यत्र जग्गा खरिद गरिएको छ । त्यस्तै जोखिममा रहेका भनिएका ५ हजार ५ सय ७५ परिवारलाई साबिकै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी विद्यालय पुनर्निर्माणतर्फ २ सय ५१ भवनको ७ सय ८९ कक्षाकोठा निर्माण सम्पन्न गरिएको जनाइएको छ । जिल्लामा २ सय ५२ विद्यालय भवनको ७९३ कक्षाकोठा पुनर्निर्माण गर्न स्वीकृत प्राप्त भएकोमा एउटा विद्यालयको भवनमात्र निर्माण गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए । उनका अनुसार यस अवधिमा ७० वटा शौचालय पनि निर्माण गरिएको छ ।
यसैगरी जाइकाको ऋणबाट निर्माण हुँदै गरेका ४१ विद्यालयमध्ये २७ विद्यालयको २ सय ७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र १४ विद्यालयको भवन निर्माणकार्य अन्तिम चरणमा रहेको पाठकले बताए । यसैगरी एसियाली विकास बैकको नमुना विद्यालयतर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरण भएको साथै ३ वटा विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
यस्तै २०७६÷०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २ सय १७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माणकार्य अगाडि बढेको पनि जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्लामा पुनर्निर्माणको काम सन्तोषजनक रहेको दाबी गरे । जिल्लामा अब बाँकी रहेका पुनर्निर्माणको काम तीनवटै तहको सरकारबीच समन्वय गरी जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्