अपाङ्गता भएका विद्यार्थीहरूलाई कोरोनाले पारेको प्रभाव «

अपाङ्गता भएका विद्यार्थीहरूलाई कोरोनाले पारेको प्रभाव

स्मारिका आचार्य एक अपाङ्गता भएकी विद्यार्थी हुन् । उनी एक दृष्टिविहीन विद्यार्थी हुन् । उनलाई यो महामारीको अन्त्य कहिले होला र पुरानै तरिकाले अध्ययन गर्न सकिन्छ भन्ने लागेको छ । उनका सबै सपाङ्ग रहेका साथीसंगीहरूले कोरोना भाइरसको सन्त्रासका बीच पनि अनलाइनमार्फत आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका छन् । आफू र आफूजस्ता अपाङ्गता भएका विद्यार्थीहरूले यस्ता खालका शिक्षादीक्षा पाउनबाट वञ्चित हुँदा उनलाई खिन्नता महसुस भएको छ । आज स्मारिकाजस्ता दृष्टिविहीन र अन्य शारीरिक रूपमा अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षण सिकाइका बारेमा खासै चासो दिइएको छैन । अपाङ्ग विद्यार्थीहरूलाई पनि सपाङ्ग विद्यार्थीसरहको शिक्षा आर्जन गर्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायहरूलाई सविनम्र अनुरोध गर्छौं ।
कोरोना कहरले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी शिक्षण सिकाइ सुरुवात गर्ने भनिएको भए पनि हालसम्म पनि विद्यार्थीहरू नियमित विद्यालयमा गई शिक्षा आर्जन गर्नबाट वञ्चित नै रहेका छन् । कुनै–कुनै गाउँपालिका र नगरपालिकाहरूमा आफ्नो सीमित स्थानीय स्वास्थ्य उपकरणहरू प्रयोग गरी विद्यालय सञ्चालन गर्न थालिएको देखिएको छ । तर, विश्वका अरू देशहरूलाई हेर्दा यस महामारीको प्रकोप समयअनुसार फरक–फरक प्रकृतिको देखिएको र कोरोना खोपको पूर्ण रूपमा विस्तार नभइसकेको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख देशमा खुलमखुला बढी जमघट हुने क्षेत्र खुला गर्नु घातकसमेत हुन सक्छ । यस्तो अवस्थामा शिक्षासँग सरोकार राख्ने नियमनकारी निकायहरूले अपाङ्गता भएका विद्यार्थीहरूको पनि व्यवस्थापन गरी भर्चुअल कक्षा सञ्चालन निर्देशिका तयार गर्नु र गराउनु आजको प्रमुख आवश्यकता रहेको छ ।
अनलाइन कक्षा सञ्चालन गर्दा अपाङ्गता भएका विद्यार्थीलाई समेट्न अडियो, भिडियो कक्षा गर्न सकिन्छ । खोजमूलक शिक्षा आर्जन गर्न नसक्ने विद्यार्थीहरूलाई सोधमूलक व्यावहारिक र सैद्धान्तिक शिक्षण सिकाइमा सहभागी गराउन सकिन्छ । देख्न नसक्ने दृष्टिविहीनहरूलाई अडियो सामग्रीहरूको प्रयोग गरी शिक्षा आर्जन गराउन सकिन्छ भने सुन्न नसक्ने विद्यार्थीहरूका लागि भिडियो सामग्रीहरू अनलाइनमार्फत पढाउन सकिन्छ । त्यसो हुँदा अपाङ्गता भएका विद्यार्थीहरू पनि शिक्षा आर्जन गर्नबाट वञ्चित हुने थिएनन् । यसरी आर्जन गरिएको शिक्षा अझ बढी व्यावहारिक र उपलब्धिमूलक हुन सक्छ ।
विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षक, शिक्षिकाहरूले झर्काे मान्ने, बढी समय नदिने गरेको जनगुनासो सुन्ने गरिएको छ । यदि अनलाइन शिक्षाले प्रभावकारिता पाउने हो भने यस्ता खाले घटनाको अन्त्यसमेत हुने थियो कि ? उपयोगी अनलाइन शिक्षा ती अपाङ्गता भएका विद्यार्थीहरूलाई दिन सकिने वातावरण बनाउन सकिएको खण्डमा ती अपाङ्गता भएका विद्यार्थीहरू शिक्षाको शोषणमा पर्ने थिएनन । किनकि ती विद्यार्थीहरूका पछाडि तिनका अभिभावक स्वयम् उपस्थिति हुँदा ती शिक्षकशिक्षिकाहरूले ती विद्यार्थीहरूलाई राम्ररी अध्ययन–अध्यापन गराउन सक्थे र अपाङ्गता भएका विद्यार्थीको शिक्षा प्रणाली अरू विद्यार्थीहरूको सरह नै हुन्थ्यो ।
कोरोना कहर एक समस्या पनि हो र अवसर पनि हो । आज यही कोरोना कहरले धेरैको जीवन प्रणाली, संस्कार र शैली फेरिदिएको र फेरिँदै गएको छ । विद्यार्थीहरूले विद्यालय शिक्षा बिर्सिंदै गइरहेका छन् । त्यसैले यस्तो अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले सबै प्रकृतिका विद्यार्थीहरूलाई अनलाइन शिक्षा प्रणालीमा जोड्न आजको प्रमुख आवश्यकता बनेको छ । त्यसैले सोहीअनुसारको पाठ्यक्रम निर्माण गरी विद्यार्थीहरूको अनुकूलतालाई हेर्दै यस महामारीसँग जुद्धै अगाडि बढ्नुपर्ने आजको प्रमुख आवश्यकता देखिएको छ । त्यसैले आजका विद्यार्थी भोलिका राष्ट्र निर्माणकर्ता हुन् । त्यस कारण सबैलाई समेटेर अगाडि बढ्न नियमनकारी निकायलाई अपिल गर्छौं ।

प्रतिक्रिया दिनुहोस्