स्वदेशी उत्पादनको प्रयोग «

स्वदेशी उत्पादनको प्रयोग

विभिन्न समुदायले उत्पादन गर्ने खाडी, अल्लो र भाङका कपडासहित अन्य हस्तकलाका सामग्रीहरूलाई बजारीकरण गरी विगत लामो समयदेखि विदेश निर्यात गरिँदै आएको छ ।

भर्खरै मात्र मनाइएको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका समयमा परम्परा मान्नकै लागि भए पनि धेरै नेपालीको शिरमा ढाका वा भादगाउँले टोपी र ढाकाकै गलबन्दी देखियो । हालैका दिनहरूमा दिदीबहिनीहरूले उपहारका रूपमा ढाका वा भादगाउँले टोपी, गलबन्दी दिने प्रचलन बढ्दै गएको छ । यसले हाम्रो परम्परागत पोसाकप्रतिको सम्मान त झल्काउँछ नै, साथसाथै स्वदेशी हस्तकलाको प्रवद्र्धनमा समेत यसले मद्दत पुराइरहेको छ । फेसनकै केही रूपमा भए पनि पछिल्लो केही समययता महिलाहरूले समेत ढाकाका चोलो सारी र पछ्यौरा ओढ्ने क्रम बढेको छ, पस्मिनाका पछ्यौराका अर्को पक्ष पनि छँदैछ । यसका साथसाथै पुरुषहरूले समेत खाडीका दौरासुरुवाल अथवा कोट मात्रै भए पनि लगाउने क्रम समेत बढेको छ । विगतमा घरबुना खाडीका दौरासुरुवाल, कमिज, ढाका टोपी वा भादगाउँले टोपी, घरबुना हाकु पटासी, पेटानी, बोना, मजेत्रो लगायतका कपडाहरू आफै उत्पादन गरिन्थ्यो । अझै पनि भक्तपुरका नेवार समुदाय, पूर्वी नेपालका धिमाल र राजवंशी समुदायमा हाकु पटासी, पेटानी र बोना आफैै उत्पादन गर्ने गरिएको छ । यसबाहेक केही स्थानमा अझै पनि पहाडी क्षेत्रका खसक्षेत्री, मगर र गुरुङ समुदायमा आफ्ना लागि आवश्यक पर्ने खाडीका कपडा आफैं उत्पादन गर्ने गरिएको छ । यस्ता कपडाहरू बलियो हुनुका साथै यिनले आन्तरिक कच्चा पदार्थको खपत गर्ने भएकाले स्वदेशी श्रम, सीप र उत्पादनको प्रयोगले स्वदेशी पैसा विदेशिनबाट समेत बचाउँदै आएका छन् ।
विभिन्न समुदायले उत्पादन गर्ने खाडी, अल्लो र भाङका कपडासहित अन्य हस्तकलाका सामग्रीहरूलाई बजारीकरण गरी विगत लामो समयदेखि विदेश निर्यात गरिँदै आएको छ । तर, जुन रूपमा यस्ता सामग्रीले बजार पाउनुपर्ने थियो, जुन रूपमा यस्ता वस्तुको व्यापारबाट लाभ पाउनु पर्ने थियो, त्यसअनुसारको उपलब्धि नभएको धेरै उत्पादकको गुनासो रहँदै आएको छ । यस्ता हातले वा तान राखेर बुनिएका कपडा अथवा अन्य हस्तकलाका उत्पादन मेसिनले उत्पादन गरेका सामग्रीजस्ता चिल्ला वा ‘फिनिस’ गरिएका हुँदैनन् । आफैले कच्चा पदार्थ संकलन वा प्रशोधन गरी उत्पादन गर्नुपर्ने भएकाले उत्पादनमा बढी समय लाग्नुका साथसाथै लागतका हिसाबले पनि केही महँगोसमेत पर्न जान्छ, जुन कुरा सामान्य उपभोक्ताले बुझ्दैनन् । त्यसैले महँगो स्वदेशी उत्पादनका सट्टा सहजै बजारमा पाइने हेर्दा उस्तै नक्कली, मेसिनले बुनेका उत्पादन खरिद गर्नतिर लाग्छन् ।
यदि स्वदेशी हस्तकलाको आन्तरिक खपत बढाउने हो भने आमउपभोक्ताहरूलाई यस्ता वस्तुको महत्वका बारेमा बुझाउन सक्नुपर्छ । अहिले नेपालीहरूको घुमफिरको संस्कार बढेको छ । धार्मिक यात्राका रूपमा भारतका विभिन्न गन्तव्य मात्र होइन, पर्यटककै रूपमा दार्जीलिङ, सिक्किम, गोवा, नैनितालदेखि थाइल्यान्ड, भियतनाम, सिंगापुर, मलेसियासम्म पुग्ने क्रम बढेको छ । त्यस्ता गन्तव्यमा पुग्दा उपहार (सोभनियर) का रूपमा त्यताका केही न केही हस्तकलाका वस्तु पनि किनेर ल्याउँछन् । नेपालभित्रै पनि आन्तरिक पर्यटन फस्टाउँदै गइरहेको परिप्रेक्ष्यमा हरेक जातजाति, समुदाय र स्थानका विशेष हस्तकलाका उत्पादनलाई पर्यटन उत्पादनसँगै जोडेर बजारीकरण गर्ने हो भने यस्ता वस्तुको खपत अझ वृद्धि हुन जान्छ । त्यसैले सरकारका पर्यटन मन्त्रालयसँगै उद्योग, वाणिज्य मन्त्रालय तथा स्थानीय सरकारहरूले निजी क्षेत्रसँग साझेदारी गरी यस्ता आन्तरिक उत्पादनको प्रवद्र्धनका नीति ल्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्