मालपोत र नापीको सेवामा करेक्सन जरुरी : मन्त्री तुम्बाहाम्फे «

मालपोत र नापीको सेवामा करेक्सन जरुरी : मन्त्री तुम्बाहाम्फे


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयले प्रदान गर्ने सेवामा सुधार आवश्यक रहेको बताएकी छन् । सोमबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै उनले मालपोत, नापी कार्यालयबाट प्रवाह हुने सेवाबारे व्यापक जनगुनासा आउने गरेको भन्दै सेवा प्रभावकारी बनाउन निर्देशन दिइन् ।
“मालपोत र नापी कार्यालयबाट प्रवाह हुने सेवाबारे धेरै जनगुनासो सुन्ने गरिन्छ” मन्त्री तुम्बाहाम्फेले भनिन्, “यी निकायहरुको सेवामा करेक्सन गर्न जरुरी छ, व्यवस्थित गर्न ध्यान दिनुहोस् ।” सर्वसाधारणलाई दिने सेवा प्रभावकारी र व्यवस्थित हुनुपर्ने भन्दै उनले टेबुलमुनिबाट काम गर्ने कर्मचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी पनि दिइन् ।
मन्त्रीको सफलतामा कर्मचारीको भूमिका पनि जोडिएको भन्दै मन्त्री तुम्वाहाम्फेले कर्मचारी प्रशासन र मन्त्रीको स्प्रिट मिलेमा मन्त्रालयको कार्यसम्पादन प्रभावकारी हुने बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट अघि बढेका योजनाहरुका बारेमा जानकारी गराएका थिए । उनले सहकारीको तथ्यांक व्यवस्थित गर्दै नियमन प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याए । यसैगरी सहकारीको सञ्चालनमा सुधारका साथै बचत तथा ऋण परिचालनमा व्यवस्थित गर्न समेत आवश्यक्ता देखिएको बताए ।
सचिव पाण्डेले सहकारीहरु बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत रहेको जानकारी दिँदै आगामी दिनमा उत्पादन र बजारीकरणमा सहकारीको प्रयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए । उत्पादन वृद्धि, व्यावसायिकरण र व्यवस्थित रुपमा बजारीकरणका लागि सहकारी उपयुक्त मोडल रहेको भन्दै यसतर्फ सहकारीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्