Logo

क्लिनफिडका आयामहरू— २

कलाकार र प्राविधिकहरूको क्षमता विकास हुनुका साथै न्यूनतम जीवन निर्वाहमा योगदान पु-याएर मनोरञ्जन क्षेत्रका लागि क्लिनफिड एक सुनौलो कोसेढुंगा हुन सक्ने देखिन्छ ।

क्लिनफिड र मनोरञ्जन एकआपसमा नजिकका विषयहरू हुन् । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो छ । नेपाली मनोरञ्जन र चलचित्र उद्योगलाई यसकारण पनि सरकारले उच्च प्राथमिकतामा नराखेको हुन सक्छ, किनकि यस क्षेत्रबाट अर्थतन्त्रमा योगदान एकदमै कम रहेको छ । अब क्लिनफिड भएपश्चात् नेपाली कलाकार अनि मोडलहरू प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ । अब नेपालमा प्रसारित विदेशी च्यानलले त विज्ञापन बजाउन नपाउने अनि नेपाली टेलिभिजन तथा मिडियाहरूले पनि नेपाली कलाकार भएको र नेपालीभाषी विज्ञापन मात्रै प्रसारण गर्नुपर्ने भएका कारण नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरू विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नुपर्ने अवस्था आएका कारण नेपाली कलाकारहरूले राम्रा–राम्रा मल्टिनेसनल कम्पनीहरू जोडिन पाउने भए, साथै राम्रो पारिश्रमिक पाउने भए, जसले गर्दा नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्धि हुने भयो । यसका साथै कलाकार उत्पादन र ट्रेनिङ गर्ने हाउसहरूसमेतको आम्दानी र क्रयशक्तिमा वृद्धि हुने भएका कारण उनीहरूले कर दस्तुर तिर्ने भए र उनीहरूले प्रयोग गर्ने सवारी साधनदेखि लिएर होटल बासदेखि लिएर समग्र क्षेत्रमा योगदान दिने भएका कारण यसले मनोरञ्जन क्षेत्रसँगै नेपाली अर्थतन्त्रमा पनि योगदान पु-याउने देखिन्छ । यति मात्रै होइन, मनोरञ्जन पेसाको चार्मिङसँगै यसको न्यून आयका कारण यस पेसामा रहनेहरूको निराशाजनक जीवनका साथै रियल लाइफ र रिल लाइफको तालमेल मिल्न नसक्दा देखिन सक्ने डिप्रेसनको अन्त्य हुने देखिन्छ, साथै कलाकार र प्राविधिकहरूको क्षमता विकास हुनुका साथै न्यूनतम जीवन निर्वाहमा योगदान पु-याएर मनोरञ्जन क्षेत्रका लागि क्लिनफिड एक सुनौलो कोसेढुंगा हुन सक्ने देखिन्छ ।

पर्यटनमा योगदान
सन् २०२५ सम्ममा २५ लाखभन्दा बढी पर्यटकहरूको भ्रमण गराउने र ८ लाख ९८ हजार रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको र यस उद्देश्य प्राप्तिका लागि सन २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएकोमा यस लक्ष्य प्राप्तिमा क्लिनफिड र नेपालको विज्ञापन बजार बुझ्न आउने मल्टिनेसल कम्पनीका मालिक र थिंक ट्यांकहरूले योगदान गर्न सक्ने देखिन्छ ।
वि.स. २०७५ पुसदेखि २०७६ पुससम्मको अवधिमा प्रतिपर्यटकको सरदर बसाइ अवधि १३ दिन रहेकोमा अब विज्ञापन सुटिङका कारण यो अवधि लम्बिन सक्ने देखिन्छ ।
सन २०१९ मा देशगत रूपमा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएको र नेपालका सबैभन्दा बढी व्यापारदेखि भारतीय टेलिभिजनहरूको हिस्सा रहेको अवस्थामा यसले नेपालको अर्थतन्त्रदेखि पर्यटन प्रवद्र्धनमा योगदान पु-याउने देखिन्छ ।
सन २०१९ मा नेपाल भ्रमण गर्नेहरूमध्ये सबैभन्दा बढी लुम्बिनीको भ्रमण गरेका र मनोरञ्जन गर्न आउने पर्यटकहरूको बाहुल्यता रहेको अवस्थामा अब लुम्बिनी क्षेत्र आसपासमा स्तरीय होटल, ट्राभल एन्ड ट्रेकिङको व्यवस्था साथै सर्ट फिल्म सुटिङका साथै मनोरञ्जन गरी स्तरीय पर्यटक प्रवद्र्धन गर्न सकेको खण्डमा यसले पक्कै पनि नेपालको पर्यटन क्षेत्रमा सरकारले लिएको नीति सफल बनाउन मद्दत पु-याउने नै देखिन्छ ।
नेपालमा क्लिनफिड भएपछि नेपालको बजार हिस्सा बुझ्न नेपालमा विज्ञापनको अवस्था बुझ्नदेखि लिएर नेपाली कलाकार र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेसनल कम्पनीका सञ्चालकदेखि लिएर विज्ञापनदाताहरू र सञ्चालकहरूसमेत नेपालमा आउने भए, जसले गर्दा नेपालमा उनीहरू बस, प्लेन, ट्रेन जेबाट आए पनि होटल बस्नुप-यो, खानुप-यो अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन सुट गर्नुपर्ने हुँदा क्लिनफिडले नेपालको पर्यटन क्षेत्रमा समेत योगदान पु-याउने देखिन्छ ।
यसरी नेपालमा वस्तुको बजार र विज्ञापन सुट गर्न अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन खिच्न आउँदा पर्यटन ट्राभल र ट्रेकिङ क्षेत्रमा काम गर्नेहरूको आम्दानी र रोजगारीका अवसरहरूमा वृद्धि हुने, जसले गर्दा उनीहरूको परिवारदेखि आश्रितहरूको जीवननिर्वाहमा योगदान पुग्ने र होटलबाट कर र दस्तुर संकलन हुँदा क्लिनफिडले पर्यटन क्षेत्र हुँदै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा २ प्रतिशतमा मात्रै सीमित नरहला भन्न सकिन्छ ।

सांस्कृतिक क्षेत्रमा योगदान
क्लिनफिडअघि विदेशी च्यानलहरूमा सोही देशअनुकूल धर्म र संस्कृतिदेखि लिएर उनीहरूको आफ्नै कल्चर र फेसन मात्रै शो हुने गरेको देखन्थ्यो भने अब नेपालमा प्रसारण हुने विज्ञापनहरू नेपाली माटो र परिवेश सुहाउँदो हुने भएका कारण यसले सांस्कृतिक विचलन हुने अवस्थाको अन्त्य गर्दै नेपाल विदेशी संस्कृतिको गुल्जारबाट मुक्त हुने अवस्था देखिन्छ ।
विशेष गरी नेपाली च्यानलहरूमा नेपाली धार्मिक स्थल र सांस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्ने सकेमा, सो स्थानहरूमा विज्ञापन सुटिङ गर्न सकेमा अनि भिडियोहरू बनाउन सकेमा विदेशीहरूलाई थप आकर्षित गर्न सकिने देखिन्छ ।
क्लिनफिडपश्चात् भारतीय रकी पाइन्ट, लेहंगा र घाँघरहरू भारतीय महिलाहरूले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन पनि सक्छ, जसले गर्दा नेपाली गलैंचा र गार्मेन्ट उद्योगहरू पुनः फस्टाउने मौका पाउने अवस्था आउँछ, जसले गर्दा रोजगारीदेखि लिएर विदेशी मुद्रा सञ्चितिमा थप मद्दत पुग्ने र नेपाललाई सांस्कृतिक उपनिवेश बनाउने खेलहरूको समेत कमी हुने देखिन्छ ।

विदेशी लगानी र प्रविधि हस्तान्तरण
आर्थिक वर्ष २०७५-७६ को फागुनसम्मको तुलनामा चालू आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक लगानीको प्रतिबद्धतामा १६५.३८ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब ६७ करोड लगानी प्रतिबद्वता प्राप्त भएको छ । विश्व बैंक समूहले सन् २०२० का लागि प्रकाशन गरेको डुइङ बिजनेस प्रतिवेदनअनुसार नेपाल व्यवसाय सञ्चालनको सहजता सूचकमा ६२.२ अंकसहित विश्वका १ सय ९० अर्थतन्त्रमध्ये ९४ स्थानमा रहन सफल भएबाट पनि नेपालमा लगानीको वातावरण बन्दै गएको देख्न सकिन्छ ।
नेपालमा क्लिनफिड लागू भएपछि भारतीयदेखि तेस्रो मुलुकका विज्ञापन व्यवसायीहरूदेखि मल्टिनेसनल कम्पनीमा सञ्चालकहरू नेपाल भित्रिन सक्छन् । उनीहरूले नेपालमा आउँदा विदेशी प्रविधि पुँजीका साथै नयाँ र विचारसमेत लिएर आउन सक्छन्, जसले गर्दा नेपालका पनि प्रविधिको विकास र प्रवद्र्धन हुन सक्छ । विश्वमा प्रविधिको प्रसार र विदेशी लगानी सम्बन्धमा विशेष गरी पश्चिमबाट पूर्वतर्फ अनि विकसितवाट अविकसिततर्फ विदेशी लगानी र प्रविधि हस्तान्तरण हुने गरेको देखिन्छ ।
नेपालमा पनि क्लिनफिडपश्चात् विदेशी लगानी र प्रविधि हस्तान्तरण हुन सक्ने सम्भावनाहरू देखिन्छ । हाल नेपालमा भन्दा भारतीय बजारमा विज्ञापन बजार विस्तारितका साथै प्रविधिमैत्री भएको देखिन्छ । अब भारतीय बजारमा प्रयोग भएको पुँजी प्रविधि र सोच पनि नेपाली बजारमा भित्रिन सक्छ । एचडी फम्र्याटमा विज्ञापन निर्माण हुने अवसर प्राप्त हुने, साथै डिजिटलका साथै अल्ट्रा फोके प्रविधि र विज्ञापनमा दर्शक र ग्राहकको सोचाइ आकर्षित हुने गरी प्रविधि भित्रिन मद्दत गर्छ । यसरी नेपाली दर्शकहरूले पनि नयाँ स्वाद र परिष्कृत विज्ञापन नपाली बजारमा देख्न पाउँछन् ।
प्रविधि भित्रिँदा नेपाली दर्शकलाई मात्रै फाइदा पुग्ने होइन कि यसले अर्थतन्त्र र प्रविधिको विकास र जनशक्तिलाई सीप र ज्ञान हस्तास्तरण गर्नमा समेत मद्दत पुग्ने देखिन्छ । नेपाली जनशक्तिले पनि नयाँ–नयाँ प्रविधिको प्रयोग र अभ्यास गर्न पाउने देखिन्छ, जसले गर्दा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि प्रविधिमैत्री देशका रूपमा चिनिँदै जाने देखिन्छ । नयाँ–नयाँ प्रविधि भित्रिँदा त्यसले भन्सार शुल्कदेखि व्यापार करलगायतका अन्य करहरू तिर्ने अवस्था हुन्छ, जसले गर्दा देशको अर्थतन्त्र मजबुत हुने र विदेशी प्रविधि सिकेको जनशक्तिले विदेशमा रोजगारीको अवसरसमेत पाउने अवस्था हुन सक्छ । तर प्रविधि हस्तान्तरण र विदेशी लगानी आजको भोलि नै हुने विषय होइन, यसका लागि राज्यले आवश्यक वातावरण तयार गर्दै लैजानुपर्ने देखिन्छ ।

कृषि र उत्पादनको क्षेत्रमा
नेपाल भौगोलिक विविधतायुक्त मुलुक हो । भौगोलिक हावापानीअनुसार नेपालको बालीनालीदेखि पशुपालन र कृषि उपजहरू उत्पादन हुने देखिन्छ । हालैका दिनमा प्रधानमन्त्री स्वयम्ले कृषि पेसाका बारेमा पत्रकारिता गरिरहेका तथा नेपालको कृषि उत्पादनलाई बजारसम्म पु-याउन योगदान दिइरहेका एक जना युट्युबरलाई फोन गरेको प्रसंगले सामाजिक सञ्जाल र मिडियाहरूमा निकै स्थान पायो । यसबाट के बुझिन्छ भने देशको प्रधानमन्त्रीसमेत युट्युब र कृषिसम्बन्धी कार्यक्रममा चासो राख्नुहुँदो रहेछ । हो, अब देशमा क्लिनफिड लागू भएपछि विदेशी च्यानलको प्रभुत्व कम हुने साथै विदेशी विज्ञापन डबिङ गरेर समेत प्रसारण गर्न नपाइने र साबिकजस्तो धेरै संख्यामा विदेशी च्यानलहरू नआउने अवस्थामा अब नेपाली च्यानलहरूको बाहुल्यता बढ्ने साथै यस्ता च्यानलहरूमध्ये जसले विविधता र कृषक तथा कृषि कर्मसँग सम्बन्धित समाचार र सामग्रीहरू प्रसारण गर्छन्, तिनीहरूमा विदेशी विज्ञापन भित्रिन सक्ने र राज्यले पनि यस्ता क्षेत्रमा पत्रकारिता गरिरहेकाहरूलाई प्राथमिकता दिएको अवस्थामा यसले पक्कै पनि सकारात्मक अवस्था ल्याउने नै छ ।
कृषि क्षेत्र र कृषकसँग सम्बन्धित सामग्रीहरू संकलन गरी प्रसारण गर्ने नेपाल कृषि उपजको कुन क्षेत्रमा कमजोर र कुन क्षेत्रमा आत्मनिर्भर रहेको छ तीती क्षेत्रका बारेमा समाचार र सूचनाहरू प्रसारण गरेर राज्यको नीति निर्माण तहसम्म पु-याउन सकेमा राज्यले पनि नेपाललाई कृषिमा आत्मनिर्भर हुनका लागि आवश्यक नीतिगत प्रबन्ध गरी सहयोग गर्न सकेमा यसले देशमा कृषि क्रान्ति गर्न सहयोग पुग्नेछ । यसरी क्लिनफिडको माध्यमबाट विविधतापूर्ण रूपमा टेलिभिजनहरूको विस्तार हुने र यसले कृषक र कृषि क्षेत्रसँग सम्बन्धित समाचार र सूचनाहरू बाहिर आएर देशको कृषिको विकासमा योगदान पुग्ने । कृषि क्षेत्र मजबुत र सबल भएमा अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

निर्माण र उद्योगको क्षेत्रमा
कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान पछिल्लो पाँच वर्ष वार्षिक औसत ५.५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६-७७ मा यस्तो योगदान ५.१ प्रतिशत हुने अनुमान गरिएको अवस्थामा क्लिनफिड र विज्ञापन बजारको विस्तार साथै मनोरञ्जन र चलचित्र उद्योगको विकासले यसलाई बल थप्ने देखिन्छ ।
विदेशी लगानीको स्वीकृति पाएका कुल उद्योगहरूमा देशगत आधारमा सबैभन्दा बढी चीनबाट ४४ प्रतिशत र भारतबाट ३० प्रतिशत रहेको अवस्थामा अब विज्ञापन बजारका कारण यसमा पनि भारतबाट आउने लगानीमा वृद्धि हुने देखिन्छ भने अमेरिका र चीन बीचको व्यापारयुद्धका कारण चीनमा स्थापित र सञ्चालित अमेरिकी कम्पनीहरू नेपाल भित्रिन सक्ने अनुमान गर्न कुनै गा-हो विषय पनि नहुन सक्छ ।
देशमा कृषि क्षेत्र सबल र मजबुत हुनु भनेको उद्योग र निर्माणको क्षेत्र पनि सक्षम हुनु हो । औद्योगिक वातावरण र उद्योगधन्दाको विकास हुनु, त्यसमा पनि निर्यातमूलक र निर्माणजन्य उद्योगहरूको विकास हुँदा यसले व्यापार घाटा कम गर्ने मात्रै होइन, रोजगारी निर्माण र भुक्तानी सन्तुलनदेखि लिएर देशमा विदेशी मुद्राको सञ्चिति कायम राख्न मद्दत पुग्ने देखिन्छ ।
कुनै पनि देशको कृषि क्षेत्रमा समस्यारहित हुनु र किसानहरूले समयमै मल बीउदेखि लिएर प्रविधियुक्त कृषि उपज र कृषि सामग्रीहरू पाउँदा यसले देशमा राजनीतिक स्थिरता आउने मात्रै होइन, उद्योगधन्दा स्थापना र रोजगारीमा निर्माण हुँदा देशका युवा जनशक्तिहरू विदेश पलायन हुनुपर्ने अवस्था आउन दिँदैन, जसले गर्दा देशका औद्योगिक क्रान्ति हुने र यसले देशको अर्थतन्त्रमा मद्दत पुग्ने देखिन्छ ।
क्लिनफिडसँगै पुँजी र प्रविधि भित्रिँदा यसले देशमा उद्योगमा विदेशी लगानी भित्रिन सक्छ, जसले गर्दा उद्योगहरू ज्वाइन्ट भेन्चर र संयुक्त लगानीमा सञ्चालन हुन सक्छन् । विदेशी मल्टिनेसनल कम्पनीहरूले आफ्ना उत्पादनहरू भारतलगायतका तेस्रो मुलुकमा उत्पादन गरेर महँगो भन्सार शुल्कका साथै ढुवानी र पैठारी शुल्क तिरेर नेपाल ल्याउनु अनि त्यसमा विज्ञापन शुल्क समावेश गर्नुभन्दा किन नेपालमा लगानी गरेर कर छुट, भन्सार छुटलगायतका नेपाल सरकारले दिएका सुविधाहरूको अवसर उपयोग नगर्ने भनेर उनीहरूले नेपालको नै औद्योगिक क्षेत्रमा लगानी भिœयाउन सक्छन् । पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको साथै राजनीतिक र नीतिगत अस्थिरताको अन्त्य भएको साथै नेपाल सरकारले आर्थिक कूटनीतिको प्रवद्र्धन गरी विदेशी लगानी त्यसमा पनि उद्योग र निर्माणका क्षेत्रमा विशेष प्राथमिकता दिएका कारण अब नेपाली टेलिभिजनहरूले पनि उद्योगहरू अनि औद्योगिक घरानाहरूका समाचारहरू बाहिर ल्याई औद्योगिक सुशासन कायम गर्नेतिर लाग्नुपर्ने देखिन्छ । हाल नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान करिब ७ प्रतिशत मात्रै रहेको अवस्थामा अब यो क्रमशः विस्तार हुँदै जाने र यसले रोजगारी सिर्जनादेखि लिएर आर्थिक विकासमा योगदान पु-याउने अपेक्षा गर्न सकिन्छ ।

शैक्षिक र चेतनाको स्तर अभिवृद्धि
क्लिनफिड राष्ट्रवाद र चुनावी एजेन्डा मात्रै पक्कै नभए पनि क्लिनफिडले नेपाली माटो र नेपालमा राष्ट्रवादको प्रवद्र्धन र विकासमा पक्कै सहयोग गर्ने नै छ र गरेको अनुभूति पनि देखिन्छ । क्लिनफिडपश्चात् अधिकांश कार्टुन च्यानलहरू बन्द भएको देखिन्छ, जसले बालबालिकाहरूलाई भाषिक र शैक्षिक अतिक्रमणको सिकार हुनबाट बचाएको छ । यसले नेपाली टेलिभिजन र कार्यक्रम निर्माताहरूलाई देश र माटो सुहाउँदो कार्यक्रमका साथै कार्टुन च्यानलहरू निर्माण र प्रसारण गर्न दबाब दिएको देखिन्छ ।
क्लिनफिडको कार्यान्वयनपश्चात् अब विद्यालयदेखि विश्वविद्यालय तहहरूमा पाठ्यक्रम नै तयार गरी नेपाली टेलिभिजन र सञ्चारको विकासका साथै प्रविधिको प्रयोग र सदुपयोग सम्बन्धमा शिक्षा दिन जरुरी देखिन्छ, जसले गर्दा बालबालिकाहरूमा नेपाली माटो अनि हाम्रो भाषा र संस्कृतिप्रति अपनत्व बढाउन मद्दत पुग्ने देखिन्छ । हाल बालबालिकाहरूमा हिन्दी च्यानलहरू त्यसमा पनि अंग्रेजी च्यानलमा पनि हिन्दीमा डबिङ गरेर प्रसारण हुने गरेका उनीहरूले सानै उमेरदेखि हिन्दी भाषा र संस्कृतिप्रति अपनत्व र लगाव बढ्ने भएका कारण नेपाली र भाषा र संस्कृति लोप हुन सक्ने भएका कारण सरकार र नीति–निर्माताहरूले यसलाई बेलैमा सोच्न सकेमा यसले देशको सामाजिक–सांस्कृतिक क्षेत्र हुँदै देशको अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।
यसरी क्लिनफिड एक साध्य मात्रै साधन पनि हो, जसले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ । अब मात्रै यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्