उखु किसानले २१ दिनभित्र भुक्तानी पाउने «

उखु किसानले २१ दिनभित्र भुक्तानी पाउने

मन्त्रालयले भुक्तानी गराइदिने सम्झौतापछि आन्दोलन स्थगित

सरकारले २१ दिनभित्रमा चिनी उद्योगबाट उखुको बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपछि उखु किसानको आन्दोलन स्थगन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसानबीच सोमबार भएको वार्ताबाट २१ दिनभित्र मन्त्रालयले उखुको तिर्न बाँकी रकम भुक्तानी गर्ने सम्झौतासहित आन्दोलनका कार्यक्रम स्थगन भएको हो । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले यसको पुष्टि गरिन् । उखु खेतीका समस्याबारे १२० दिनभित्र सुझाव पेश गर्ने गरी संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय समेत भएको उनले जानकारी दिइन् ।
संयुक्त प्राविधिक समितिमा उखु किसान संघर्ष समितिबाट दुई जना, चिनी उद्योगीबाट एक जना, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रतिनिधि एक जना, गृह मन्त्रालयको एक जना रहेका छन् । यस्तै, उद्योग, वाणिज्य मन्त्रालयबाट एक जना, उखु किसानको प्रतिनिधि एक जना प्रतिनिधि रहेका छन् । यो समितिले १२० दिनभित्र उखु किसानको समस्याको बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउने कार्यक्रम छ ।
श्रीराम चिनी उद्योगले २७ करोड, अन्नपूर्ण चिनी उद्योगले ५ करोड २६ लाख रकम भुक्तानी गरिसकेकेको मन्त्रालयले जानकारी दिएको छ । चिनी उद्योगले तीन वर्ष अघिदेखिको ९० करोड रकम भुक्तानी नगरेको भन्दै दुई सातादेखि किसान आन्दोलनमा बसेका थिए । सरकारले २१ दिनभित्र रकम भुक्तानीको व्यवस्था गर्ने सर्तसहित आन्दोलन स्थगन गरेको किसानको भनाइ छ । चिनी उद्योगले उखुको रकम भुक्तानी नपाएपछि किसानले आन्दोलन गदै आएका थिए । यो वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्