कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारको २७ करोड ९ लाख खर्च «

कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारको २७ करोड ९ लाख खर्च

पोखरा महानगरपालिकाको ८ करोड
पोखरा-
कोरोना भाइरस उपचार, रोकथाम तथा व्यवस्थापनमा गण्डकी प्रदेश सरकारले हालसम्म २७ करोड ८ लाख ७२ हजार खर्च गरेको छ ।
कोभिड—१९ को उपचार, रोकथाम र व्यवस्थापन कोषमा हालसम्म करिब ३४ करोड संकलन भएमध्ये उक्त रकम खर्च भएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले बताए । उक्त कोषमा हाल करिब ८ करोड रुपैयाँ बचत भएको उनले जनाए । प्रदेशका विभिन्न पालिकामा क्वारेन्टाइन निर्माण गर्न १ करोड ९३ लाख, स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, पीपीईलगायतका सामग्री खरिदमा करिब ३ करोड, प्रदेश सरकारले प्रदेशका पालिकालाई विपन्न तथा गरिब परिवारका लागि राहत सामग्री उपलब्ध गराउन, प्रदेशमा अस्पतालमा आइसुलेसन, भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापनाका लागि आर्थिक सहयोग गरेको डा. केसीले जनाए । संघीय सरकारबाट आफ्नो मन्त्रालयलाई उक्त कोषका लागि करिब ५ करोड २७ लाख प्राप्त भएको उनले जनाए ।
कोरोनाबाट हालसम्म गण्डकी प्रदेशमा १ सय ९१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले बताए । उनका अनुसार प्रदेशमा हालसम्म १ लाख १८ हजार ७ सय ३५ जनाको नमुना संकलन गरिएकोमा १४ हजार २ सय ४२ जनामा कोरोना संक्रमण देखापरेको छ । १ लाख ४ हजार ४ सय ९३ जनामा कोरोना शंक्रमण नदेखिएको बताएका प्रवक्ता काफ्लेले कोरोनाबाट प्रदेशमा १२ हजार २ सय ५६ जनामा निको भएको जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघीय सरकारले कोरोनाको निःशुल्क उपचार र व्यवस्थापन नगर्ने निर्णय गरे पनि आफूहरूले निःशुल्क उपचार गर्ने बताएका थिए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले समेत आफ्ना नगरवासीको कोभिड–१९ को उपचारमा क्षमताले भ्याएसम्म खर्च गर्ने बताएका थिए । चौतर्फी दबाब आएसँंगै संघीय सरकारले पुनः कोरोनाको निःशुल्क उपचार गर्ने जनाएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिकाले कोभिड—१९ को उपचार, रोकथाम र व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त रकम एक करोडसहित ८ करोड खर्च गरेको छ । महानगरका कर्मचारीको तलब भक्ता, केही सांसद, सहयोगी दाताबाट करिब एक करोड ५० लाख संकलन भएको महानगरका अधिकृत किरण कोइरालाले बताए । उनका अनुसार महानगरले आन्तरिक स्रोतबाट कोभिड—१९ को उपचार, रोकथाम र व्यवस्थापनमा ५ करोड ५० लाख खर्च गरेको छ । पोखरा महानगरमा हाल ४ जनामात्र संस्थागत रूपमा आइसुलेसनमा बसेका छन् भने क्वारेन्टाइनमा एकजना पनि नभएको अधिकृत कोइरालाले जनाए । पछिल्लो समयमा कोरोनाका बारेमा बुझाई र यसको प्रभावप्रति मानिसमा चेतना आएसँंगै अधिकांश व्यक्ति क्वारेन्टाइनमा होस् वा आइसुलेसनमा बस्नु पर्ने घरमै बस्ने गरेको उनले जनाए । महानगरले हाल कृषि तालिम केन्द्र मालेपाटन पोखरामा करिब ३० बेडको आइसुलेसन वार्ड तयारी अवस्थामा राखेको छ । महानगरले पदम नर्सिङ होमको पुरानो बुद्ध हस्पिटल र लेकसिटि अस्पतालमा समेत क्वारेन्टाइनको रूपमा भाडामा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्