म्युचुअल फन्डको फाइदा जनमानसमा पुर्याउन र बुझाउन नसकेकै हो

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे मर्चेन्ट बैकरहरूमध्ये अध्ययनशील मानिन्छन् । नियमनकारी निकायले सहजीकरणका लागि गरिने बजार हस्तक्षेप तथा सुशासनका लागि कायम गर्नुपर्ने कुरामा प्रतिस्पर्धाका आधार, सेवा तथा शुल्क निर्धारणमा वैज्ञानिक पारदर्शिता, निती निर्माणमा सरोकारवालामाथिको विश्वास र सक्रिय सहभागिताजस्ता मुलभूत कुरा पर्दछन् भन्ने उनै घिमिरेसँंग वर्तमान सेयर बजार, मर्चेन्ट बैंकरहरूको भूमिका, ब्रोकर कमिसन तथा म्युचुअल फन्डको बुझाइबारे कारोबारले गरेको कुराकानीको सार :
पछिल्लो समय सेयर बजारमा उत्साह बढ्दै जाँदा मर्चेन्ट बैंकहरूको भूमिकामा पनि कत्तिको वृद्धि हुने ठान्नुहुन्छ ? सेयर बजार बढ्नुमा मर्चेन्ट बैंकहरूको योगदान कत्तिको छ ?
बजारको आकार हरेक चोटि नेप्से परिसूचक बढ्दा ठूलो हुँदै गएको दृष्टान्त छ । यस्तो हुँदा यसले प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा सेयर कर्जाको माग उच्च गर्ने गरेको छ । आईपीओमा जम्मा १० कित्ता सेयर पाउँदा पनि १० लाखभन्दा बढी आवेदक हुनु आफैंमा उपलब्धिको कुरा हो । मर्चेन्ट बैंकहरूले डिम्याट खाता र मेरो सेयर तथा कर्जाको माग हुँदा रोक्का फुकुवासम्बन्धी कार्यहरूको चापलाई दृढताका साथ नगरे अहिलेको बजार र लगानीकर्ताको आकार यति पुग्थ्यो होला त ? त्यसैले मर्चेन्ट बैंकको भूमिका दिनानुदिन बढेकै छ । सँगसँगै, केही मर्चेन्ट बैंकहरूले सुरुवाती दिनदेखि नै म्युचुअल फन्डको थालनी गरी व्यावसायिक तवरले चलाई राम्रो प्रतिफल दिन सफल हुनु पनि बजारको स्थिरता तथा लगानीको विविधीकरण र ब्याजभन्दा निकै राम्रो प्रतिफल दिएको यथार्थ भनिरहँदा मर्चेन्ट बैंकको भूमिका बजार विकासमा आफैं प्रस्टिन्छ ।
सेयर बजार घटबढ हुनेमा मर्चेन्ट बैंक स्वयंचाहिँ प्रत्यक्ष लाग्नु हुँदैन भन्ने जस्तो मलाई लाग्छ । किनभने त्यो उसको मुख्य कार्य क्षेत्र नै होइन । तर बजारलाई आवश्यक सेवा सुविधा, उपकरण, सहजीकरणमा मर्चेन्ट बैंकरले खेल्ने असीम भूमिका प्रमुख कारकचाहिँ पक्कै हो । यसरी हेर्दा सेयर बजार बढ्नुमा मर्चेन्ट बैंकरको योगदान बजारमा लगानी गरेर भन्दा पनि लगानीकर्ताहरूलाई कारोबारसँग जोडिएका मुख्य आधार तथा संरचनाको उचित व्यवस्थापन मिलाएकैले नै बजारप्रतिको योगदान हो ।
साधारणतया विकसित बजारमा कुनै पनि कम्पनीको सेयरमा भन्दा म्युचुअल फन्डमा लगानीकर्ताहरू बढी लगानी गर्छन् । हामीकहाँ म्युचुअल फन्ड नै कम भएर हो वा के कारणले अझै लगानीकर्तामा कम्पनीहरूकै सेयरमा बढी रुचि छ । मर्चेन्ट बैंकरको नाताले यहाँलाई कस्तो लाग्छ ?
विकसित बजारमा लगानीकर्ताहरू जोखिम कम भएको उपकरणहरूमा बढी आकर्षित हुन्छन् । त्यसैले आफ्नो वित्तीय सल्लाहकार वा म्युचुअल फन्डहरूको विवरण पत्र त्यसले जारी गर्ने सूचना, प्रतिफल, लगानीको क्षेत्र योजना व्यवस्थापकको इतिहासजस्ता आधारभूत कुराहरूको अध्ययन गरेर लगानी गर्छन् । भारतलगायत छिमेकी तथा अन्य मुलुकमा सरकार तथा नियमनकारी निकायहरू नै आमनागरिक अझ साना लगानीकर्तालाई त झनै म्युचुअल फन्डमा लगानी गर्न प्रेरित गर्छन् । लगानीकर्तालाई कर छुट तथा अन्य सुविधा र म्युचुअल फन्ड बजारको विकासका लागि राज्यले प्रस्तुत गर्ने आर्थिक नीतिमा नै विस्तृत योजनाहरू पस्कन्छन् । यसले गर्दा ठूलो पुँजी जम्मा भई व्यावसायिकता तथा राज्यलाई ठूलो कर प्राप्त हुने साथसाथै पुँजी निर्माणले महत्वपूर्ण आयोजनाहरूको विकाससमेत भएको देखिन्छ । व्यवसायीकरण तथा राज्यको सहजीकरण हुने हुँदा विदेशी लगानीकर्ताहरू पनि यसैमा आकर्षित भएको देखिन्छ । यस्ता फाइदाहरू कहिलेकाहीं हामीले पनि नबुझेकैले यसमा ठोस नीति नियम ल्याउन नसकेको हो कि ?
नेपालको सेयर बजार विस्तारै धेरै लगानीकर्ताहरूको पहुँचमा विस्तारित हुँदैछ । धेरैजसो सर्वसाधारणहरूमा सेयरको आधारभूत ज्ञानको कमी छ । यहाँ म्युचुअल फन्डहरू आफैं पनि भर्खरै आएको हो, जम्मा ७–८ वर्ष नै त भयो । यसले गर्दा म्युचुअल फन्डमा लगानी गर्दाको फाइदाहरूमा हामी योजना व्यवस्थापकहरूले बुझाउन अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ ।
अधिकांश आईपीओ अंकित मूल्य १ सयमा नै जारी हुनु र बजारमा सूचीकरण हुनेबित्तिकै ५–६ गुणाले बढ्नु, धेरै कम्पनीको फ्लोट कम भएकाले उच्च बिन्दुमा हुने कारोबारले भाउ अत्यधिक बढ्नु अनि बजार घट्दा सबैलाई गाली गर्दै धर्ना तथा अनशनसम्म नै बस्ने प्रवृत्ति देखिन्छ । नेपाली लगानीकर्ताहरूमा लगानी अनुशासन भन्दा ‘बढ्दा मात्तिने घट्दा आत्तिने’ स्वभावको आभास प्रस्टिन्छ । म्युचुअल फन्डले सधैं अनुशासित लगानी गर्छ र प्रतिफल पनि स्थिर नै होस् भन्ने सोच र सिद्धान्तमा अडिक भई लगानी गर्र्छ । एनएमबी म्युचुअल फन्डले सात वर्षमा जारी गरेको कुनै पनि फन्डको पुँजी क्षण भएको इतिहास छैन र प्रतिफल सधैं बजारभन्दा राम्रो नै दिएको छ । म यो स्वीकार गर्छु कि बजार त सानै छ तर हामी सबैले लगानीको आधारभूत ज्ञान र म्युचुअल फन्डको फाइदा जनमानसमा पु¥याउन र बुझाउन नसकेकै हो । बिमा जस्तै राज्यको ध्यान केन्द्रित भइदिए, यो एउटा विशाल पुँजी निर्माणको साधन र साध्य दुवै हुनसक्छ । भारतमा म्युचुअल फन्डको पुँजीकोष ३० लाख करोड छ र विगत १० वर्षमा मात्र नै यस साधनले २४ लाख करोडको पुँजी निर्माण गरी वृद्धि हासिल गरेको छ ।
बजारमा सेयरको भाउ घट्दा सधैं सुनिने एउटा आवाज हो– म्युचुअल फन्डहरूले मार्केट मेकरको भूमिका खेलेनन् । सिद्धान्ततः के यो सही हो ? म्युचुअल फन्ड भनेको त्यसमा लगानी गर्नेहरूको कोष हो । के अरूको पैसाले बजार स्थायित्व गर्ने नाममा घट्दो बजारमा लगानी गरेनौं भन्नु ठीक हो ? मलाई त यो गलत लाग्छ । सत्यचाहिँ म्युचुअल फन्ड संस्थागत भई निश्चित समय तोकी जारी भएको लगानी गर्ने साधन भएकाले यसको प्रकृति नै बजारलाई स्थायित्व दिने हुँदा स्वाभाविक तवरले मार्केट मेकिङ आफंै हुन्छ, तर बाध्यात्मकचाहिँ हुनै हुँदैन ।
मर्चेन्ट बैंकरकोे नियामक निकायले हामीलाई यसो गरिदिए वा यस्तो गर्न दिए सेयर बजार अझ परिष्कृत हुन्थ्यो भन्ने के छ ? नियामक निकायले यहाँहरूलाई सहजीकरण गरिदिनुपर्ने के–कस्ता विषय छन् ?
- यसमा तीन प्रमुख कुराहरू समय, स्पष्टता र सहजीकरणमा ध्यान दिनु पर्छ जस्तो लाग्छ :
- नियामक निकायहरूले आफैंले जारी गरिसकेको नियमको पूरै पालना गर्दा पनि स्वीकृतिहरूलाई धेरै समय लाग्ने अवस्थालाई कसरी छिटो छरितोसँग स्वीकृती प्रदान गर्न सकिन्छ भन्ने परिकल्पना र सोको नीतिद्वारा नै सरलीकरण गरिदिए हामीजस्तो व्यावसायिक सिद्धान्त र नियममा चल्नुपर्छ भन्ने संस्थाहरू अन्तर्राष्ट्रिय अभ्यास वा साझेदारी गरेर पनि व्यवसाय विस्तार गर्न प्रेरित हुन्छौं । यसले समग्र बजारलाई पारदर्शी र व्यावसायिक बनाउँदै लिएर जान्छ । नियम बनेपछि यो नियमबमोजिम मागिएका स्वीकृतिहरूको समयमा न जवाफ पाउनु, न स्वीकृति र न सो नियमको संशोधन नै हुनुले मर्चेन्ट बैंकहरूको आफ्नो कार्ययोजनाअनुरूप गर्न खोजेको काममा ऊर्जा नै हराउँदै जाने तथा वित्तीय भार पनि थपिँदै जानुचाँहि समस्या हो ।
- अर्को पाटो स्पष्टता हो । नेपालमा अधिकांश नियम लेखिँदा स्पष्टतामा कन्जुस्याइँ गरिने राष्ट्रिय रोग नै हो जस्तो लाग्छ । अनि, नियममा अस्पष्टता वा त्रुटि भए त्यसको संशोधन हुन अझ लामो समय लाग्छ । वर्षौं वर्षसम्म पनि जानेकै कुराहरूमा संशोधन नगरी ‘मानौं न’ भन्ने भावना व्यतीत छ । आजको युगमा उद्यमशीलता र नवीन सोचको आकर्षणका लागि स्पष्ट नियम÷कानुन अनिवार्य छ । संसारभर आफैं जाँदा–घुम्दा सुविधा भोग गरेर तारिफ गरिने उभर, ग्य्राबजस्ता राइड सेयरिङ यातायात सञ्चालकले नेपालमा नियमनको अस्पष्टताले पाएको दुःख टुटल, पठाओ हेर्दा ज्वलन्त देखिन्छ, हाम्रो नियत र नियतिको ।
- नियमनकारी निकायले सहजीकरणका लागि गरिने बजार हस्तक्षेप तथा सुशासनका लागि कायम गर्नु पर्ने कुराहरू यी पनि हुन् : प्रतिस्पर्धाका आधार, सेवा तथा शुल्क निर्धारणमा वैज्ञानिक पारदर्शिता, नीति निर्माणमा सरोकारवालाहरूमाथिको विश्वास र सक्रिय सहभागिता जस्ता मूलभूत बिम्बहरू ।
हाल ब्रोकर कमिसन धेरै भयो भन्ने जोडतोडका साथ आइरहेको छ, मर्चेन्ट बैंकको नाताले यहाँहरूलाई के लाग्छ, ब्रोकर कमिसन धेरै नै भएको हो ? के कमिसन घट्दा सेयर कारोबार बढ्छ ?
धितोपत्र कारोबार अनलाइन प्रणालीमा गएसँगै ब्रोकरहरूले गर्दै आएका कतिपय काम अहिले अभौतिकीकरण र स्वचालित हुन थालिसकेका छन्, जसले गर्दा कारोबारदेखि भुक्तानीसम्मका अधिकांश प्रक्रिया अनलाईन प्रणालीमार्फत भइरहेको छ । यसो हुँदा स्वचालितताको लागत बढेता पनि सञ्चालन खर्च पनि घटेको हुनसक्छ । यद्यपि नेपाल धितोपत्र बोर्डले यही पौस १२ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाइ नै सकेको छ ।
नियमन गरी लागू हुने कुनै पनि शुल्क ती नियममा बाँधिएर सेवा व्यवसाय गर्नेहरूको आय हो । नियमन निकायको भूमिका सबैलाई बराबरमा राखी सोची निर्धारण गर्ने हुन्छ र यो ब्रोकर व्यवसायमा मात्र होइन सबैलाई नै लागू हुन्छ । त्यसैले निश्चित समय राखेर, बजारको आकार तोकी, खर्च तथा यस्ता संस्थाको लागत, पुँजीको प्रतिफल र बजार विकासका लागि चाहिने आवश्यक वित्तीय प्रोत्साहनसमेतलाई मध्यनजर गरी एउटा निश्चित हेरफेर निर्देशिका बनाए यस्तो प्रक्रियाले सबैलाई समेट्ने, वैज्ञानिक हुने र निश्चितताको विश्वासका आधारमा नै व्यवसाय गर्न प्रेरित गर्छ । कारोबार खर्च घट्दा बजारलाई पक्कै मद्दत गर्छ तर खर्च काटिनेको साङ्लो नै चुँडियो भने त्यसले ल्याउने अप्ठ्याराहरू पनि सोच्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ ।
मर्चेन्ट बैंकहरूले सेयर बजारमा खेल्नुपर्ने भूमिका नखेली सहज तरिकाले बैंकमा पैसा राखेर लाभांश बाँडे भन्ने आरोप पनि छ । यसमा कत्तिको सत्यता छ ?
मर्चेन्ट बैंकहरू एक सेवा तथा उपकरण जारी गरी व्यवसाय गर्ने वित्तीय मध्यस्थकर्ता संस्था हुन् । यो आफंैमा लगानीकर्ता हैन । त्यसैले यस्ता संस्थाले नियमकको व्यवस्था र आफ्नो संस्थाको नीतिअनुरूप लगानीहरू गर्ने गर्छन् । जोखिमरहित व्यवसाय गर्ने हुनाले यसको पुँजी आफैंमा जोखिम बहन गर्ने साध्य हो । बैंकको ब्याजदरबाट हुने कमाइमा सम्पूर्ण खर्चहरू घटाई लाभांश नै बाँड्न पुग्ने ब्याजदर त नेपालमा छैन होला ! त्यसैले यस्तो आरोपको सत्यता खोज्ने काम पनि म बजारलाई नै छोड्छ्ु ।
तपाईंको नयाँ योजना कहिले आउँदैछ ? यसका विशेषता के–के हुन् ?
हामी यो वर्ष दुईवटा योजनाहरू ल्याउने विचारमा छौं, जसमध्ये एउटा खुलामुखी योजना निकटतममै धितोपत्र बोर्डमा स्वीकृतिका लागि दर्ता गर्दैछौं । यो योजना इक्विटी केन्द्रित हुनेछ । अर्को योजनाचाहि ब्यालेन्सड प्रकृतिको बन्दमुखी योजना हुनेछ र यो खुलामुखी योजनाको सञ्चालनको पश्चात् मात्र आउनेछ ।