तराई–मधेश द्रुत मार्गमा अप्टिकल फाइबर «

तराई–मधेश द्रुत मार्गमा अप्टिकल फाइबर

नेपाल टेलिकम र काठमाडौ­तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको छ । राजधानीलाई मधेशसँग जोड्ने छोटो (७२.५ किलोमिटर)को यो द्रुतमार्ग हाल नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ । सोही मार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरूसहित आयोजना र टेलिकमबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको हो । टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ । विभिन्न प्याकेजमा चरणगत रूपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ । अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । यस कार्यमा लाग्ने आर्थिक व्ययभार टेलिकमले बेहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्