भारी बोकेर गुजारा चलाउँदै महिला «

भारी बोकेर गुजारा चलाउँदै महिला

कालिकोटको नरहरीनाथ गाउँपालिकाका अधिंकाश महिलाले भारी बोकेरै जीविकोपार्जन गर्ने गरेका छन् । वैकल्पिक पेसा नभएपछि यहाँका अधिकांश महिला भारी बोकेरै जीवन गुजार्न बाध्य भएका हुन् ।
नरहरीनाथ गाउँपालिका–८ खुलालु बजारका पसल–पसलसम्म भारी पु¥याएर भएको कमाइले महिलाले घरमा खाने कुरादेखि छोराछोरीको पढाइ खर्चसमेत जुटाउने गरेका हुन् । खुलालुमा भारी बोकी जीविकोपार्जन गर्ने नरहरीनाथ गाउँपालिका–१ की जैकला विकले खुलालु र जिते बजारमा भारी बोकेरै घर खर्च चलाइरहेको बताइन् । “अरु काम गर्न खोजे पनि पाइँदैन, भारी बोक्नु हाम्रो बाध्यता नै भएको छ,” उनले भनिन् ।
खुलालु बजारमा करिब १५ जना भारी बोक्ने महिलाकी अगुवासमेत रहेकी जैकला विकले भारी बोकेरै मासिक १५ हजार रुपैयाँभन्दा बढी कमाई गर्ने गरेको बताइन् । “घरमा ४ छोरा र २ छोरी छन्, तिनीहरूको लालनपालनका लागि भारी बोकेरै कमाउने गरेकी छु,” उनले भनिन् । श्रीमान बुढो भएका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकाले घरको सबै जिम्मेवारी आफ्नो थाप्लोमा आएको उनको भनाइ छ ।
जैकला मात्र होइन उनीजस्तै भारी बोक्ने अधिकांश महिलाको पीडा उस्तै छ । दैनिक किलोको २ रुपैयाँका दरले व्यपारीले सामान बोकाउने गरेपछि दिनमा १ हजारदेखि १ हजार ५ सयसम्म कमाउने गरेका छन् ।
खुलालु बजारमा भरियाका रुपमा काम गर्दै आएकी विन्दा विकले पनि आफूले वर्षौंदेखि भारी बोकेरै जिविकोपार्जन गर्दै आएको बताइन् । “व्यापारीले काले खोलाबाट आफ्नो पसलसम्म सामान ओसारेबापत प्रतिकिलो किलो २ रुपैयाँ दिन्छन्,” उनले भनिन्, “दिनमा ६ सय किलोभन्दा बढी सामाना बोक्न सकिने भएकाले भारी बोकेर नै आफ्नो जीविकोपार्जन गरेका छौं ।”
त्यस्तै अर्की भरिया २४ वर्षीया पविता विकका श्रीमान्को निधन भएको एक वर्ष पुगेको छ । घरमा कमाउने कोही नभएपछि उनले पनि भारी बोकेरै एक छोरा र एक छोरीको पालनपोषण गर्दै आएको बताइन् ।
भारी बोकेरै जीविकोपार्जन गर्ने महिलाहरूको जग्गा जमिन कम मात्र छ । उत्पादित अन्नले ६ महिना पनि खान नपुग्ने भएपछि उनीहरूले भारी बोक्नुलाई नै मुख्य पेशा बनाएका छन् । दुर्गम क्षेत्रमा रहेका यस्ता महिलाका लागि सरकार वा कुनै गैरसरकारी संघसंस्थाले आत्मनिर्भर बन्ने शीप दिलाउन सके उनीहरूको जिवनस्तर सुधारमा सहयोग पुग्ने सामाजिक अगुवाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्