रामेछापमा पर्यटक आगमन बढ्दो «
Logo

रामेछापमा पर्यटक आगमन बढ्दो

रामेछाप-रामेछापबाट सोलुका लागि विभिन्न विमान कम्पनीले नियमित उडान भर्न थालेपछि रामेछापमा पर्यटकहरूको आमगनमा वृद्धि हुदै गएको छ ।
यसअघि यो सिजनमा सुनसान हुने गरेको रामेछाप जिल्लामा तारा एयर, समिट एयरलगाएतका उडान कम्पनीहरूले नियमित उडान भर्न थालेपछि जिल्लामा विदेशी पर्यटकहरूको आमगन वृद्धि हुन थालेको हो । विमान कम्पनीहरूले रामेछापको मन्थलीसम्म गाडीमा ल्याइदिने र मन्थलीबाट जहाजमार्फत सोलुको लुक्ला लगिदिने गरेका कारण पनि रामेछापमा पर्यटकहरूको आगमनमा वृद्धि हुदै गएको हो ।
प्राइभेट विमान कम्पनीले काठमाडांैका विमानस्थलमा भीडभाड बढी हुने र हवाइ ट्राफिक जाम हुने भएपछि काठमाडांैको विकल्पका रूपमा मन्थली विमानस्थललाई प्रयोग गर्न थालेपछि असोज महिनादेखि नै हालसम्म पर्यटकहरूको चाप बाक्लै हुने गरेको हो । दैनिक रूपमा मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि २४ वटा उडानहरू भर्दा दिनमा कम्तीमा पनि ३ सय २९ जना विदेशी पर्यटक उड्ने गरेका छन् । मन्थली विमानस्थलबाट सोलुको लुक्लाका लागि दैनिक रुपमा घटीमा १० वटा उडान र बढीमा २४ वटा उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख केदार सत्यालले बताए ।
असोज महिनाको मध्यदेखि हालसम्म नै पर्यटकहरूको चाप दैनिक हुने गरेको सत्याल बताउछन । सीता र तारा एयरलाइन्सले काठमाडौंदेखि सोलुखुम्बुको उडानका लागि पर्यटकहरू सडक मार्ग हुँदै मन्थली पु¥याएर मन्थली विमानस्थलबाट मात्र सोलुका लागि उडान गर्न थालेपछि मन्थली बजार र विमानस्थल वरपर चहलपहल बढ्नुका साथै होटल व्यवसायीहरूलाई फाइदा पुगेको छ ।
काठमाडौंबाट सोलुखुम्बुका लागि २ वटा फ्लाइट आवातजावत गर्दा त्यही समयमा मन्थली विमानस्थलबाट ५ वटा फ्लाइटले आवतजावत गर्ने मन्थली विमानस्थलका कर्मचारीहरू बताउँछन् ।
यतिबेला आन्तरिक र बाह्य पर्यटकहरू सोलु र कतिपय सोलु हुदै सगरमाथा आधार शिविरसम्म जानका लागि बाक्लै आउन थालेपछि विमान कम्पनीहरूले सुरक्षित र छोटो मानिने मन्थली विमानस्थललाई बढी प्रयोग गर्न थालेका हुन् । मन्थलीबाट यात्रु लिएर उडेको विमान मौसमका कारण सोलुमा अवतरण गर्न नसक्दा फर्किएर बस्न छोटो पर्ने भएपछि पनि विमान कम्पनीले सोलुका अधिकांश उडान मन्थली विमानस्थलबाट नै गराउन थालेका छन् । सोलुखुम्बुमा खराब मौसमका कारण अवतरण गर्न नसक्दा कतिपय अवस्थामा पर्यटकहरूले मन्थलीमा नै रात बिताउनुपर्दा मन्थली बजार र होटलहरूमा समेत पर्यटकको चहलपहल बाक्लै देखिने गरेको हो । हवाई ट्राफिक जामको झन्झटबाट मुक्ति र प्राय चौबीसै घण्टा मौसमले साथ दिने भएपछि सोलुका लागि उडान गर्ने प्राइभेट विमान कम्पनीको उत्कृष्ट रोजाइका रूपमा मन्थली विमानस्थल पर्न थालेको छ ।
मन्थली विमानस्थलमा एकैसाथ ६ वटासम्म साना विमान अवतरण गरेर पार्क गर्न सकिने विमानस्थलका एटीसी केदार सत्याल बताउँछन् । कहिलेकाहीं त सोचेभन्दा बढी बढी यात्रु आउँदा समस्या नै पर्ने गरेको पनि सत्यालले बताए । विमानस्थलमा टर्मिनल भवन सानो भएकाले धेरै यात्रु आउँदा निकै समस्या परेको पनि सत्यालले बताए ।
कतिपय अवस्थामा भने अन्तको उडानसमेत विविध कारणले डाइभर्ट हुँदा पनि मन्थली विमानस्थल अत्यधिक प्रयोग हुने गरेको मन्थली विमानस्थलमा रहेका तारा एयरलाइन्सका कर्मचारी प्रवीण सुवेदीले बताए । उनले पर्यटकका लागि विमानस्थल प्रयोग भएको भए पनि जिल्लावासीको हकमा भने सोचेअनुसारको उडान भने हुन नसकेको बताए । नेपाल आयल निगमले विमानस्थलमै विमानका लागि रिफ्युलिङ सेन्टरको स्थापना गरिदिएको छ ।
अघिपछि छिटफुट रुपमा रिफ्युलिङ हुने गरेको भए पनि यतिबेला भने रिफ्युलिङ सेन्टर समेत राम्रै रुपमा संचालन आएको छ ।
करिब महिना दिनयता निजी विमान कम्पनीले पर्यटक लक्षित गरे विमान उडाएका भए पनि जिल्लाका सर्वसाधारण लागि निजी विमान कम्पनीहरूको सेवा प्रभावकारी बन्न सकेको छैन । विमान कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर भने विमान उडाउन सकेका छैनन् । विमानस्थल सञ्चालनको सुरुवातका दिनमा तत्कालीन शाही नेपाल वायु सेवा निगमको हप्तामा ३ दिन नियमित उडान हुने र त्यसबेला टिकट पाउन समेत मुस्किल हुने गथ्र्यो । पछिल्ला दिनहरूमा जिल्लामा सडक संजाल जोडिएपछि सर्वसाधारण आपत्कालीन अवस्थाबाहेक विमानमा यात्रा गर्न छाडेपछि यात्रु नभएको भन्दै वायु सेवा निगमले उडान बन्द ग¥यो ।
उडान बन्द भएको केही समयपछि मन्थली विमानस्थलबाट आफ्नो कार्यलय समेत उठाएर लगेपछि निकै लामो समय सुनसान बनेको मन्थली विमानस्थलमा जिल्लाका नेता र अगुवाहरूको पहलमा तारा एयरलाइन्सले साप्ताहिक रूपमा सर्वसाधारण बोक्ने गरी काठमाडौं मन्थली उडान हालेको भए पनि उसले समेत उक्त सेवालाई नियमित दिन सकेन । तारा एयरले समेत जिल्लाबासीका लागि दिने सेवा बन्द गरेपछि सेवा ठप्प नै बनेको थियो । तर, पछिल्ला केही दिनयता निजी विमान कम्पनीहरूले काठमाडौं मन्थलीका लागि नियमित उडानका तालिका राखेको भए पनि त्यो उडान भने अझै हुन सकेको छैन । विमान कम्पनीहरूलाई सरकारले दुर्गममा उडान नभरे सुगममा मात्र उडान भर्न नदिने भएकाकारण पनि फर्जी तालिका सार्बजनिक गरेको हुन सक्ने रामेछापका पुराना पत्रकार बद्री नयाँघरे बताउँछन् । काठमाडौं मन्थली उडानका लागि तारा, सीता र समिट एयरलाइन्सले तालिका सार्वजनिक गरेका थिए । विमान कम्पनीहरूले दुर्गम क्षेत्रका विमानस्थलमा उडान तालिका नराखी नेपाल नागरिक उडडयन प्राधिकरणले सुगमका विमानस्थलमा उडान गर्न नदिने भएपछि कागज देखाउनका लागि भए पनि तालिका सार्वजनिक मात्र गरेको प्रस्ट भएको छ ।
काठमाडौंबाट पूर्वी पहाडी क्षेत्रको नजिकको विमानस्थलका रूपमा रहेको मन्थली विमानस्थलमा नियमित यात्रु लक्षित गरेर केही बर्ष देखि उडान भने हुन सकेको छैन । कालोपत्रेसमेत रहेको सो विमानस्थलमा नियमित उडान हुनैपर्ने माग स्थानीयले गरेका छन् । जसकालागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको जिल्लावासीहरूले बताउँदै आएका छन् भने सोही अनुसारको समन्वय समेत पटक–पटक हुँदा पनि उडान भने नियमित हुन सकेको छैन ।
मन्थली विमानस्थल आसपास उडान गर्दा उडानका क्रममा हुने सबै खाले अनुभव गर्न सकिने भएकाले पछिल्लो समय मन्थली विमानस्थललाई सिकारु चालकहरूले प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् ।
रमेश ढुंगेल 

प्रतिक्रिया दिनुहोस्