कोरोनाको अन्त्य भएको छैन, सतर्क रहौं «

कोरोनाको अन्त्य भएको छैन, सतर्क रहौं

Green cartoon coronavirus covid-19 Vectorel image

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनरुत्थान गर्न अझै केही समय लाग्ने देखिन्छ । करिब नौ महिनादेखि अस्तव्यस्त रहेको अर्थतन्त्र हालै आएर केही सामान्य अवस्थाजस्तै भएको छ । राजधानीमा लागू भएका सवारी साधनमा जोरबिजोर प्रणाली पनि गत शुक्रबारबाट पूर्ण रूपमा खोलिएको छ । विभिन्न संघसंस्थाहरू पनि पूर्ण रूपमा खोलिएका छन् । मानिसहरूको अवस्था पनि सामान्य दैनिकीजस्तै भइसकेको छ ।
लामो समयदेखि बन्द रहेका स्कुल, कलेजलगायत अरू जोखिमयुक्त संघसंस्थाहरू पनि स्वास्थ्य मापदण्ड पालना गरेर ठाउँठाउँमा सञ्चालित भएका छन् । अब धेरै मानिसहरूलाई आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पारे पनि यसले धेरै मानिसलाई पाठ सिकाएसँगै कोरोनाको जोखिमसँगै एउटा गतिलो संस्कार पनि सिकाइदिएको छ ।
पहिले–पहिले मानिसहरू हात मिलाएर हिंड्थे, अहिले त्यो पूरै हटेको छ । हात मिलाउने ठाउँमा नमस्कार गरौं भन्ने संस्कारले अहिले जताततै नमस्कारको संस्कारको विकास भएको छ । अरू बेलामा भन्दा यो समयमा धेरैभन्दा धेरै पटक मानिसहरूले साबुनपानीले मिची–मिची हात धुने बानी बसालेका छन् भने महत्वपूर्ण कुरा त भीडभाडमा जाँदा होस् या कुनै जमघटमा बस्दा होस्, मानिसहरूले माक्स र सेनिटाइजरको नियमित प्रयोग गर्न थालेका छन् । तैपनि कोरोनाको जोखिम भने राजधानीलगायत धेरै ठाउँहरूमा बढिरहेको छ । तर, कोरोनाको अन्त्य मुलुकमा भएको छैन । सतर्कता भने अत्यन्तै अपनाउनैपर्छ ।
जुन घरमा बुवाआमा, दीर्घरोगी, ससाना बालबच्चा छन्, यिनीहरू घरभित्रै सुरक्षित रूपमा बसे पनि घरकै सदस्य बाहिरबाट आउजाउ गर्नाले त्यो छिटै सर्न सक्ने भएका कारणले गर्दा विशेष गरी कामविशेषले बाहिर जाने परिवारका सदस्यले अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ । सरकारले सम्पूर्ण खुला गरेसँगै मानिसहरूको चहलपहल र भीडभाड उत्तिकै मात्रामा बढ्न थालेपछि मानिसहरूले सजगता पनि उत्तिकै अपनाउनु जरुरी देखिन्छ ।
तर सरकारले विद्यालय खोल्न हतार नगरौं भन्दा पनि धेरै निजी तथा सरकारी विद्यालयहरूले नै धमाधम खोल्दै गइरहेका छन् । यदि यो संक्रमण ती ससाना भाइबहिनीहरूलाई स-यो भने यसको जिम्मेवारी के विद्यालयले लिन सक्छ ? यतिका लामो समयसम्म त भर्चुअल माध्यमबाट पठनपाठन भएकै थियो । सरकारले केही समय विद्यालयहरू खोल्न हतार नगरौं भनेकै थियो । उदाहरणका लागि युरोपको युकेमा पहिला पनि धेरै लामो समयसम्म स्कुल, कलेज सञ्चालनमा आउँदा धेरै विद्यार्थीको पठनपाठन अन्योल रहेको थियो ।
त्यहाँको सरकारले बिस्तारै सबै क्षेत्र खोलेसँगै विद्यालय क्षेत्र पनि खोलिदियो, तर नभन्दै त्यहाँ केही समयपछि विद्यार्थी भाइबहिनीहरूलाई धेरैभन्दा धेरै कोरोना संक्रमण देखियो र त्यसले बालबालिकाहरूमा धेरै संक्रमण देखा पर्न थालेपछि सरकारले पुनः लकडाउन गरेको यथार्थ रहेको छ । त्यसैले पनि अहिले हाम्रो मुलुकमा पनि ठीक त्यस्तै हुँदै गइरहेको छ । त्यसैले सतर्क बन्नु जरुरी देखिन्छ । त्यसमाथि पनि अहिले मुलुकमा मौसमी परिवर्तन भई अत्यधिक चिसो बढेको अवस्थामा जोकोहीलाई पनि रुघाखोकीले छिटै समातिहाल्छ ।
विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरूलाई चाँडै नै मौसमी प्रकोप रुघाखोकीले समात्छ । त्यतिमात्र नभएर यो जाडो समयमा शरीरका विभिन्न अंगहरूका मांसपेशी दुख्नेदेखि लिएर हड्डीसमेत कमजोर हुने देखिन्छ । त्यसैले मौसममा हुने परिवर्तनसँगै बालबालिका तथा दीर्घरोगीहरूलाई बचाउनु जरुरी देखिन्छ भने यस्तो महामारीको सँघारमा कोरोना भाइरसको अन्त्य भएको छैन । त्यसैले यसको अन्त्य नभएसम्म हरेक परिस्थितिमा सजगता अपनाउनु जरुरी देखिन्छ । त्यसैले यस भाइरसको महामारीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्