लगानीकर्ताको लागत घट्ला «

लगानीकर्ताको लागत घट्ला

Nepal Stock Exchange (NEPSE) building onTuesday, 9th January, 2018, showing recovery from the damages of 2015 earthquake. Photo: RSS

ब्रोकर कमिसन घट्यो

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । सेयर बजारको नियामकीय निकाय बोर्डले कमिसनको हालको दर घटाएर सेयर कारोबारमा आइतबारदेखि लागू हुनेगरी विभिन्न मोडलमा कमिसन दर लागू हुने जनाएको छ ।
बोर्डका अनुसार अधिकतम कमिसनमा ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशतमा झरेको छ तर, यसले थोरैमात्र प्रभाव पार्ने लगानीकर्ताले बताएका छन् । किनकि लगानीकर्ताहरूले सेयर कारोबारको लागत घटाउन ब्रोकर कमिसन बढीमा ०.२५ प्रतिशतमा सीमित गर्नुपर्ने माग गर्दै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार सेयर कारोबारमा अधिकतम सीमा ०.४ प्रतिशत र न्यूनमत सीमा ०.२७ प्रतिशत तोकिएको छ । यसअघि ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म ब्रोकर कसिमन रहेको थियो । नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँको सेयर किनबेच गर्दा ३ सय रुपैयाँ कमिसन लाग्थ्यो भने आइतबारदेखि २ सय रुपैयाँ पर्नेछ । यसैगरी, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने बोर्डले जनाएको छ ।
बोर्डले ऋणपत्र र सामूहिक लगानी कोषका योजनाका साथै अन्य धितोपत्रको किनबेचमा ब्रोकरले लिँदै आएको कमिसन पनि घटाएको छ । बोर्डका अनुसार
सरकार, सरकारी निकाय, राष्ट्र बैंक वा अन्य जमानत प्राप्त संस्थाले जारी गर्ने ऋणपत्रको हकमा ब्रोकरले अब न्यूनतम ०.०२ प्रतिशतदेखि अधिकतम ०.१० प्रतिशतसम्म मात्र कमिसन लिनेछन् भने सामूहिक लगानी कोषका एकाई तथा अन्य धितोपत्रको कारोबारमा ०.१० देखि ०.१५ प्रतिशतसम्म मात्र कमिसन लिन पाउनेछन् । साथै, बोर्डले ब्रोकर कमिसन घटाए पनि आफूले लिने ०.०१५ प्रतिशत र नेप्से, सीडीएससीले लिने कमिसनमा भने कुनै हेरफेर गरेको छैन ।
बोर्डले पछिल्लो समय धितोपत्र बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्नुका साथै बजारको आकार पनि फराकिलो भएको र त्यससँगै ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाटै हुने भएकाले ब्रोकरको शुल्कलाई समसामयिक बनाउन पुनरावलोकन गरिएको जनाएको छ ।
बोर्डले विज्ञप्ति जारी गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२ (१) बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराएवापत ग्राहकबाट प्राप्त गर्ने शुल्कसम्बन्धी अनुसूची १४ मा भएको विद्यमान व्यवस्थालाई संशोधन गरेको जनाएको छ ।
संयोगले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल दोस्रो पटक पदमा रहँदा नै ब्रोकर कमिसन घटेको छ । पहिलोपटक पौडेल अर्थमन्त्री हुँदा २०७३ साल साउन ५ गते ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएपछि बोर्डले ब्रोकर कमिसन घटाएको थियो । २०७३ साउनदेखि गत सातासम्म सेयर लगानीकर्ताले ५० हजारसम्मको कारोबार गर्दा ०.६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका थिए । त्यसभन्दा अघि सेयर कारोबारमा ०.७ प्रतिशतदेखि १ प्रतिशतसम्म ब्रोकर कमिसन थियो ।

प्रतिक्रिया दिनुहोस्