व्यापारिक नगरको विषादीमुक्त कृषि अभियान «

व्यापारिक नगरको विषादीमुक्त कृषि अभियान

कारोबार मेरो पालिका
प्रदेश– १
जिल्लाः झापा
नगरपालिकाः बिर्तामोड
वडा संख्याः १०
मेयरः धु्रवकुमार शिवाकोटी
उपमेयरः पवित्रा महतारा प्रसाईं
क्षेत्रफलः ७८.२४ वर्गकिमि
घरधुरी संख्याः २३४७७
जनसंख्याः १ लाख ४६ हजार ७९५
बजेटः १ अर्ब १५ करोड ४ लाख
सिमानाः मेचीनगर, कनकाई, अर्जुनधारा, हल्दिबारी र बाह्रदशी
संस्थागत अस्पतालः ६
सामुदायिक अस्पतालः ९

पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र हो । बिर्तामोडलाई झापाको मुटु पनि भनिन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङका नागरिकको रोजाइमा पर्ने बिर्तामोडमा पछिल्लो समय तिब्र गतिमा सहरीकरणतर्फ उन्मुख हुँदै गइरहेको नगर हो । व्यापारिक केन्द्र भए पनि यहाँका अधिकांश मानिस कृषिमा निर्भर छन् । तीन वर्ष अघि जनप्रतिनिधि निर्वाचित भएर आएसँगै बिर्तामोडलाई विषादीरहित नगर निर्माण गर्ने प्रतिवद्धता गरेका थिए । जनप्रतिनिधिको योजना स्वरुप बिर्तामोड नगरपालिका विषादी रहित नगर निर्माणमा लागि परेको सुनाउँछन्, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी ।
बिर्तामोड नगरपालिकाले ‘कृषकको समृद्धिः व्यावसायीकरण र आधुनिक प्रविधि’ भन्ने नाराका साथ कृषि क्षेत्रको विकासमा लागि परेको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको साना सिँचाइ कार्यक्रममार्फत् हालसम्म १ हजार ४ सय १६ बिघा जमिन सिँचित भएको छ । ७८ कृषकलाई अनुदान उपलब्ध गराएर व्यावसायिक तरकारी उत्पादन सुरु गरिएको छ । यस अन्तर्गत २६ बिघामा कृषकले तरकारी खेती गर्र्दै आइरहेका छन् । नगरले व्यावसायिक आलु उत्पादन कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । जसबाट ८६ बिघामा आलु खेती हुँदै आइरहेको छ । नगरले ३ सय ८ बिघामा व्यावसायिक तोरी उत्पादन, ४२ बिघामा व्यावसायिक फापर उत्पादनमा कृषकलाई अनुदान उपलब्ध गराएको छ । समय–समयमा धान तथा मकै बालीमा हुने प्रकोप न्यूनीकरणका लागि नगरले आकस्मिक बाली उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसबाट हालसम्म ३ हजार ३ सय ३१ जना कृषक लाभान्वित भएका छन् । ३२ वटा समूहलाई पावर टिलर र धान काट्ने मेसिन अनुदानमा उपलब्ध गराइएको र ८७ वटा समूहलाई मकै छोडाउने मेसिन उपलब्ध गराइएको मेयर शिवाकोटी बताउँछन् ।
जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व गरेसँगै छोटो समयमा धेरै विकास गर्न सफल भएको नगरप्रमुख शिवाकोटीको दावी छ । “हालसम्म ६० किलोमिटर सडक कालोपत्रे र पेवर्स भइसकेको छ,” शिवाकोटी भन्छन्, “हाम्रो कार्यकालमा ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेका थियौँ ।” आफ्नो कार्यकालमा लक्ष्यभन्दा दोब्बर सडक कालोपत्रे गर्ने नगरप्रमुख बताउँछन् । बिर्तामोड नगरपालिकामा ८४ वटा कल्भर्ट निर्माण गरिएको नगरप्रमुख शिवाकोटी बताउँछन् । नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा ७६ जना विपन्न नागरिकलाई आवास हस्तान्तरण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा १ सय ९० घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख शिवाकोटीले बताए । त्यसमध्ये बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा १ सय, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २५, विभिन्न वडाको वडागत बजेटबाट ८ र बिर्तामोड नगरपालिकाले १७ वटा घर निर्माण गरी नगरका विपन्न नागरिकलाई हस्तान्तरण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷७८मा नगरका १० वटै वडामा २०÷२० वटा आवास निर्माण प्रक्रिया सुरु भइसकेको नगरपालिकाका सूचना अधिकारी जय तिमिल्सिनाको भनाइ छ । नगरले सबै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सरकारले उपलब्ध गराएका औषधि साथै सुगर प्रेसरको निःशुल्क चाँचको व्यवस्था मिलाएर सेवाप्रवाह गर्दै आइरहेको छ । नगरभित्रका अतिविपन्न १ हजार जना नागरिकको स्वास्थ्य बिमा गरिदिएको नगरप्रमुखले जानकारी दिए ।
“हामीले ‘उपभोक्तको हित संरक्षण, स्वास्थ्य पशुजन्य उत्पादन र वितरण’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका भित्रका साना तथा व्यवसायीलाई लक्षित गरी पशुपंक्षी विकासको क्षेत्रमा काम गर्दै आइरहेका छौं,” उनले भने । आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ मा पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट ६ सय ७९ जना कृषक लालम्भित भएका छन् । जसअन्तर्गत मेयर पकेट बाख्रा साटासाट, बंगुर वितरण, गाई, बंगुर, बाख्राको भकारो सुधार कार्यक्रम, च्याकटर वितरण कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने जनाइएको छ ।
नगरले ‘भान्सा घर नै औषधालय हो’ भन्ने मूल नारासहित १८० कृषकलाई प्रशिक्षण दिइ अर्गानिक तरकारी उत्पादनसम्बन्धी तालिम दिएको छ । बिर्तामोड नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरभित्र विषादी प्रयोग गरेका माछा बिक्री बन्द गरेको छ । साथै नगरपालिकामा अर्गानिक माछा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । नगरले आव २०७६÷७७ मा मासु पसल सुधार कार्यक्रम अन्तर्गत २० वटा मासु पसल सुधार गरेको छ । नगरपालिकाले १ सय ६५ परिवारमा गोबर ग्याँस प्लान्ट जडान गरेको छ । चालू आर्थिक वर्षमा ६१ वटा प्लान्ट जडानको सम्झौता भएको छ ।
समाजलाई स्वस्थ्य र आचरणयुक्त बनाउन गत शैक्षिक शत्रदेखि नगरपालिकाले कक्षा ३ र ४ मा शुरु गरेको आचरण तथा सचेतना शिक्षा यस शैक्षिक शत्रदेखि कक्षा ५ र ६ मा लागु गरेको छ । आगामी वर्ष कक्षा ७ र ८ मा लागू गरिने नगरप्रमुख शिवाकोटीको भनाइ छ । नगरले शहिद लक्ष्मी आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाएको छ । नगरभित्रका १८ वटा सामुदायिक विद्यालयलाई बालमैत्री बनाइएको साथै स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । सामुदायिक विखालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिने छ ।
आगामी २ वर्ष भित्रमा नगरका सम्पूर्ण कृषियोग्य जमिनलाई सिंचित गरिने लक्ष्य रहेको छ । साथै निकट भविष्यमा कृषि उपज केन्द्रको बिक्री वितरण केन्द्र निर्माण गरी कृषकहरूको विषादीरहित उत्पादनलाई बिक्री वितरणको व्यवस्था मिलाइने नगरप्रमुख शिवाकोटी बताउँछन् । चालू आर्थिक वर्षमा नै ५ वटा कृषक समूहको माटो परीक्षण गरी १ सय टन भन्दा बढी कृषि चुन कृषकलाई उपलब्ध गराउने लक्ष्य नगरको छ । बिर्तामोड ३ मा १० करोडको लागतमा २५ वेडको बिर्तामोड अस्पताल निर्माण प्रक्रियामा रहेको छ । ३५ वेडको कोरोना विशेष अस्पताल निर्माण सम्पन्न गरिएको छ । नगरले मेयरसँग जेष्ठ नागरिक कार्यक्रमअन्तर्गत नगर भित्रका निजी तथा सामुदायिक अस्पतालसँग समन्वय गरी १० वटै वडामा दाँत, आँखा, हायजोर्नी तथा नशा रोग लगायतको निःशुल्क विषेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको नगरप्रमुखले सुनाए । कोरोना कहरको त्रास हटेसँगै बिर्तामोडमा अन्तराष्ट्रियस्तरको औद्योगिक तथा व्यापारिक मेला, प्रदर्शनीका लागि निजी क्षेत्रसँग पहल गर्ने लक्ष्य छ । साथै बिर्तामोड–२को दक्षिणी क्षेत्रलाई उद्योगको हब बनाउँदै दाने नीति अनुसार उक्त क्षेत्रको भौतिक पूर्वाधार विकासको प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्