ओली सरकार असफल भए राष्ट्र नै असफल : रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिकअप’ लिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले अब गति लिनेमा कुनै शंका नरहेको बताए ।
उनले भने, “वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदा पनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन ।” नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पिडमा पुग्ने दाबी गरे ।
उनले थपे, “यो सरकारकाको पूर्ण समीक्षा गर्ने स्थिति अहिले छैन । सरकारको कामको बारेमा आंशिक समीक्षा गर्न सकिन्छ, तर पूर्ण समीक्षा गर्ने अवस्था अहिले होइन । सरकार गठन भएको एक वर्षपनि पुगेको छैन । यो सरकारसामु ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ । र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ ।”
सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे । रायमाझीले भने, “सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन ।”